विदुर । विदुर-७ तुप्चेबाट काठमाडौँमा शिक्षादीक्षा र विभिन्न पेसाव्यवसायका सिलसिलामा स्थायीअस्थायी रूपमा बसोबास गरिरहेकाको संस्था तुप्चे-काठमाडौँ एकता समाजको २१औँ वार्षिक साधारणसभा गत हप्ता विदुर-७ का बासिन्दाका लागि उत्सव बन्यो ।
चण्डेश्वरी माविको प्राङ्गणमा पुस १०, ११ र १२ गते अतिरिक्त क्रियाकलापअन्तर्गत उक्त वडाका विद्यालयबिच भलिबल, डोरी तान्ने, दौड, सामूहिक नृत्य, कवितावाचन, एभरेस्ट मेमोरी क्विज प्रतियोगितालगायत कार्यक्रम गरेर विद्यार्थीका लागि प्रतिभा देखाउने अवसर बन्यो । तुप्चे र काठमाडौँमा बसोबास गरिरहेका दाजुभाइ, दिदीबहिनीलाई एकता गराउने उद्देश्यले स्थापित समाजको सभाको उद्घाटन गत बिहीबार विदुरका नगर प्रमुख राजनलाल श्रेष्ठले गर्नुभएको थियो । दोस्रो दिनको अतिरिक्त क्रियाकलाप कार्यक्रमका प्रमुख अतिथि विदुरका उपप्रमुख प्रभा बोगटी र तेस्रो दिनको समापन समारोहका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसी रहनुभएको थियो । तिन दिनको कार्यक्रममा उक्त वडाभित्रका सबै विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र प्रायः सबै गाउँबासीको सहभागिता थियो । ‘आमा समान सबै मिली गराँै न तुप्चेको उत्थान’ भन्ने नाराका साथ विभिन्न खेलकुद, साहित्य तथा नृत्य प्रतियोगिता सञ्चालन गरी साधारणसभा सम्पन्न भएको सोही वडाका अध्यक्ष रवीन्द्र नेपालले बताउनुभयो ।

गाउँबासीका लागि उत्सव बनेको उक्त समारोहको अध्यक्षता संस्थाका अध्यक्ष सीताराम थापा, कार्यक्रम सञ्चालन एवं संयोजन संस्थाका कोषाध्यक्ष राजनप्रसाद अधिकारी र सम्पूर्ण व्यवस्थापन उपाध्यक्ष कृष्णबहादुर केसीले गर्नुभएको थियो । पहिलो दिन पाँच किलोमिटर पुरूष म्याराथन तथा तिन किमी महिला म्याराथनमा क्रमशः ४२ र १९ जना सहभागी थिए । दुई विधामा भएको म्याराथन खेलको पुरस्कार राशि र सम्मानपत्रसहित प्रथमलाई रू.पाँच हजार, द्वितीयलाई रू.तिन हजार, तृतीयलाई रू.दुई हजार, चौथालाई रू.एक हजार र पाँचौँलाई रू.पाँच सय वितरण गरिएको थियो । त्यसैगरी चार समूह सहभागी भलिबलमा प्रथमलाई रू.१० हजार, द्वितीयलाई रू.आठ हजार, तृतीयलाई रू.छ हजार, चौथालाई.चार हजार, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । त्यस्तै ६ समूह सहभागी नृत्य प्रतियोगितामा प्रथमलाई रू.१० हजार, द्वितीयलाई रू.आठ हजार, तृतीयलाई रू.छ हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । त्यसैगरी दोस्रो दिन शीत कवितावाचनसहित नगर उपप्रमुख बोगटी सहभागी भई विभिन्न साहित्यिक कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । सो दिन ‘जन्मथलो तुप्चे’ शीर्षकमा कवितावाचन प्रतियोगिता, एभरेस्ट मेमोरी क्विस्ट प्रतियोगिता र भलिब सञ्चालन भएको थियो । कवितावाचनमा १३ र मेमोरी क्विस्ट प्रतियोगितामा २९ जना सहभागी भएका थिए । कवितावाचनमा प्रथमलाई रू.तिन हजार, द्वितीयलाई रू.दुई हजार, तृतीयलाई रू.एक हजार तथा दुई विद्यार्थीलाई रू.एक÷एक हजार सान्त्वना र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । एभरेस्ट मेमोरी क्विष्टको पुरस्कार राशि संस्थाका उपाध्यक्ष केसीले उपलब्ध गराउनुभएको थियो । डोरी तान्ने खेलमा सबैभन्दा धेरै पुरस्कार रू.३६ हजार खर्च भएको र सहभागी सङ्ख्या पनि अधिकतम ७२ जना थिए ।
समापन कार्यक्रमको दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा.केसीलाई अभिनन्दन गरिएको थियो । सोही अवसरमा विभिन्न प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र, पदक, विद्यालयलाई पुस्तक हस्तान्तरण, कर्णशिवकुमारी छात्रवृत्ति वितरण तथा विदुर-७ का पूर्व भलिबल तथा फुटबल खेलाडी, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तित्व र विभिन्न सहयोगी व्यक्ति र संस्थालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । सो समारोहमा कर्णशिवकुमारी छात्रवृत्ति वडाभरिका विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट छात्रा किन्जल खड्का र छात्र शिशिर खतिवडालाई रू.१०/१० हजार प्रदान गरिएको थियो । समापनको दिन वरिष्ठ लोकदोहोरी गायकगायिका सञ्जय गुरूङ्ग, शिला आले, सरोज लामिछाने र शर्मिला गुरूङ्गको लोकगीत तथा लोकदोहोरीले थप मनोरञ्जन प्रदान गरेको थियो । सभामा अध्यक्ष सिताराम थापा, कोषाध्यक्ष राजनप्रसाद अधिकारी, सचिव गोकर्णप्रसाद लामिछानेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको कार्यसमितिका सदस्य रामहरी अधिकारीले बताउनुभयो ।






प्रतिक्रिया