काठमाडौँ । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा रसुवाका इन्द्रप्रसाद गोतामेद्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । जगतजंग उपनामले चिनिने उहाँ प्रदेशसभा निर्वाचन विसं २०७९ मा रसुवा जिल्ला प्रदेशसभा क्षेत्र (ख) बाट विजयी बागमती प्रदेश सदस्य हुनुहुन्छ । उहाँ तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट उक्त चुनावमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएको थियो ।
प्रतियोगितामा सहभागी कथामध्ये २५ वटा छनौटमा परेका थिए । शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका शाहीले नगद रू.दुई लाख पुरस्कार प्राप्त गरेका छन् । गत बिहीबार काठमाडौँमा बाह्रखरी मिडियाद्वारा आयोजित बाह्रखरी कथा विजेता घोषणा र कथाकृति विमोचन कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गर्नुभएको थियो । प्रतियोगितामा ऋतेश गुरूङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक गुरूङलाई रू.एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको थियो । गोतामेद्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई रू.६० हजारसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।






प्रतिक्रिया