+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती प्रदेशमा धान उत्पादन वृद्धि
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष समयमा वर्षा र रोग किराको प्रकोप कम भएकाले धान उत्पादन दर बढेको छ । सबैभन्दा बढी यस वर्ष धान उत्पादन चितवनमा भयो भनि सबैभन्दा कम रसुवामा भएको छ ।

प्रदेशभरीको यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढीपहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो । सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/०८३ मा कूल एक लाख आठ हजार आठ सय २० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो आव २०८१/०८२ मा कूल एक लाख पाँच हजार चार सय १५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तिन सय १६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव.२०८०/०८१ मा एक लाख नौ हजार हेक्टर, एक सय ५१ क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन धान उत्पादन भएको थियो । सूचना अधिकारी कुँवरका अनुसार प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २७ हजार तिन सय २५ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ३५ हजार पाँच सय ३२ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसपछि उत्पादनको हिसाबले दोश्रो जिल्ला नुवाकोटमा ११ हजार छ सय १५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ प्रतिशतका दरले ४७ हजार नौ सय ७८ मेट्रिक टन र धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव २३ प्रतिशतका दरले ४७ हजार दुई सय तिन मेट्रिक टन धान यस वर्ष उत्पादन भएको उहाँले बताउनुभयो । उपत्यकाको काठमाडौँमा यस वर्ष तीन हजार छ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ प्रतिशतका दरले १७ हजार नौ सय २८ मेट्रिक टन, ललितपुरमा चार हजार एक सय २८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ प्रतिशतका दरले १९ हजार सात सय ३२ मेट्रिक टन र भक्तपुरमा दुई हजार छ सय ९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ प्रतिशतका दरले १४ हजार नौ सय १४ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी कुँवरले बताउनुभयो ।

यस वर्ष मकवानपुरमा आठ हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८८ प्रतिशतका दरले ३२ हजार नौ सय ५१ मेट्रिक टन, सिन्धुलीमा १२ हजार तिन सय ८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ७६ प्रतिशतका दरले ४६ हजार पाँच सय ६८ मेट्रिक टन, काभ्रेमा आठ हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २१ प्रतिशतका दरले ३४ हजार पाँच सय १४ मेट्रिक टन, रामेछापमा सात हजार चार सय ६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६९ प्रतिशतका दरले २० हजार ८४ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार नौ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव शुन्य तिन प्रतिशतका दरले २३ हजार नौ सय ३७ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । यस्तै बागमती प्रदेशको दोलखामा दुई हजार सात सय ५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६५ प्रतिशतका दरले सात हजार तिन सय आठ मेट्रिक टन र रसुवा जिल्लामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव २२ प्रतिशतका दरले दुई हजार चार सय ३१ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष २०८१ असोज ११ र १२ को वर्षा र बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेकाले अघिल्लो वर्ष धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले कमी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह