त्रिशूली । विदुर-१ त्रिशूलीबजारमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले चालु आव.२०८२/०८३ मा शेयरपुँजी वृद्धि गर्ने प्रस्ताव मंगलबार सम्पन्न १६औँ वार्षिक साधारणसभामा पारित भएको छ । आव.२०८१/०८२ को आषाढ मसान्तसम्ममा चार सय २५ शेयर सदस्य, शेयरपुँजी रू.एक करोड २७ लाख ७० हजार दुई सय रहेको सहकारीले चालु वर्षमा रू.एक करोड ५० लाख शेयरपुँजी बढाउने लक्ष्य लिएको सहकारीका अध्यक्ष नवराज ढुंगानाले बताउनुभयो ।
विदुर-१ का अध्यक्ष एवं शेयर सदस्य लेनिन रञ्जितले उद्घाटन गनुृभएको सभामा अध्यक्ष ढुंगाना, कोषाध्यक्ष राजु श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक सुब्बाबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ । सहकारीले आव.२०८१/०८२ मा विभिन्न बचत सङ्कलन योजनामार्फत रू.नौ करोड २२ लाख ७८ हजार ७७, सोही वर्ष रू.आठ करोड ६० लाख २५ हजार चार सय ११ बचत फिर्ता भई बाँकी रू.तिन करोड ३५ लाख १२ हजार एक सय ५८ बचत रहेको जानकारी गराइएको थियो । गत वर्ष कर्जा योजनामा रू.एक करोड २९ लाख ७० हजार सात सय ४९ ऋण लगानी गरेको सहकारीले सोही वर्ष रू.एक करोड १७ लाख ७३ हजार आठ सय ६२ असुली गर्न सफल रहेको छ । सहकारीको रू.तिन करोड ६४ लाख ८४ हजार एक सय ५८ शेयर सदस्यमा कर्जा लगानी रहेको प्रतिवेदन कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत वर्ष रू.१९ लाख १५ हजार आठ सय शेयर रकम फिर्ता गरेको थियो भने गत वर्ष ऋण ब्याज आम्दानी, अन्य आम्दानी र बैंकबाट ब्याज प्राप्तसहित कूल रू.५३ लाख ६१ हजार आठ सय ३७ आम्दानी गरेको छ । सामाजिक पहुँच तथा प्रतिष्ठाको दम्भमा केही शेयर सदस्यले लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न अटेर गरेको कारण ऋणी असुलीमा समस्या भइरहेको अध्यक्ष ढुंगानाले सभामा बताउनुभयो । नियमक निकायले समयमै सहकारीको अनुगमन गरी राम्रालाई प्रोत्साहन र नियम विपरीत गर्ने सहकारीलाई तत्काल दण्डित गर्नुपर्ने समेत उहाँले माग गर्नुभयो । सभामा असल ऋण कारोबार गर्ने सरस्वती श्रेष्ठ र असल बचतकर्ता प्रमोद बोगटीलाई सम्मान गरिएको थियो ।






प्रतिक्रिया