समुन्द्रटार । राजनीतिकर्मी, शिक्षाविद्, समाजसेवी एवं धार्मिक तथा संस्कृतिक सम्पदा संरक्षणको अगुवाइ गर्नुभएका गणेश पण्डितका नाममा निर्मित गणेश पण्डित स्मृति उद्यान उद्घाटन भएको छ । दुप्चेश्वर मन्दिर परिसरमा पण्डितको पूर्ण कदको सालिक पनि निर्माण भएको छ । उहाँले दुुग्धेश्वरलाई वातावरणीय दृष्टिले समेत स्वच्छ एवं मन्दिर परिसरलाई सफा राख्न तथा दर्शनार्थीलाई स्नान गर्नसमेत सहज होस् भन्ने हेतुले सूर्यमती नदीको संरक्षणका लागि भएको सङ्घर्षको पनि नेतृत्व गर्नुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आव.२०८१/०८२ को कार्यक्रमबाट रू.९० लाख विनियोजन भई बनेको उद्यान उद्घाटन तथा सालिकको शनिबार अनावरण गर्दै पूर्वमन्त्री हितबहादुर तामाङले पण्डितले दुप्चेश्वरको संस्थागत विकास र संरक्षणका लागि महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वासु तामाङले पत्ता लगाउनुभएको दुप्चेश्वर महादेवलाई राष्ट्रिय आकारमा ल्याउन सम्पूर्ण रूपले नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएका पण्डितको योगदानबाट भावी पुस्ताले प्रेरणा लिऊन् भन्ने उद्देश्यकासाथ निर्माण गरिएको पार्क र सालिक अनावरणपछि दुप्चेश्वर पत्ता लगाउने वासुका बारेमा थप खोज, अध्ययन र अनुसन्धान एवं उहाँको सम्मानका लागि विशेष ढङ्गले सोच्नुपर्ने दायित्वबोध भएको छ ।’’
सो अवसरमा दुप्चेश्वर पालिकाका अध्यक्ष शङ्करबहादुर थापाले पूर्वसांसद पण्डितले सिङ्गो जिल्लालाई शिक्षाका माध्यमबाट प्रगतिशील रूपान्तरण गर्न र यस क्षेत्रको सामाजिक जागरण र राजनीतिक परिवर्तनका साथै भौतिक पूर्वाधार निर्माण तथा विकासमा समेत नेतृत्वदायी भूमिका खेलेको जानकारी दिनुभयो । कार्यक्रममा पण्डितका छोरा राजकुमार पण्डित, उहाँको श्रीमती, संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, पूर्व प्रतिनिधिसभा तथा संविधानसभा सदस्य बिमला सुबेदी, बागमती प्रदेशसभा सदस्यद्वय राधिका तामाङ र रामप्रसाद ढुंगाना, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीलगायतको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया