+
Search

ताजा अपडेट +

पपुलर +

रामगीता : मोक्षको उपाय

रामगीता : मोक्षको उपाय
त्रिशूली प्रवाह
१ दिन अगाडी

राजा दशरथकी माहिली महारानी सुमित्राका छोरा लक्ष्मण मृत्युभयबाट त्रसित हुन्छन् । दारूण मृत्यु, त्यसपछि फेरि कर्मअनुसार विभिन्न योनिमा गर्भवास, त्यसपछि कष्टमय जन्म । त्यसैले जन्म र मृत्युको चक्कर र चक्रमा पर्नु नपर्ने उपायका निम्ति आफ्ना परमादरणीय दाजु श्रीरामसँग विनम्र भई भवसागर पार गर्ने, जन्ममृत्युको निरन्तर चलिरहने चक्रबाट मुक्त भई परम् पद अर्थात् मोक्ष प्राप्त गर्ने उपाय सोध्छन् । तिनै आफ्ना प्रिय भाइप्रति कृपा गरी भगवान् रामले बताउनुभएको मोक्षको उपाय नै रामगीताको मुख्य प्रतिपाद्य विषय हो, भावभूमि हो ।

रामगीतामा ६२ श्लोक छन् । मैले ती श्लोकको नेपाली भाषामा भावानुवाद र विशेष वर्णन गरेको छु । यसरी अनुवाद गर्दा मैले मुख्य रूपमा ब्रह्मलीन परमादरणीय स्वामी डा.रामानन्द गिरीले संस्कृत भाषामा गर्नुभएको व्याख्या र नेपाली अनुवाद अनि धर्मशास्त्र र नेपाली भाषाका प्रखर मनीषी मेरा परम् श्रद्धेय गुरू बदरीनाथ भट्टराईको पद्य–गद्यानुवादलाई मुख्य आधार बनाएको छु ।

रामगीताको महिमा अति नै उच्च छ । यदि कसैले बुझेर वा नबुझेर पनि यसको पाठ गर्छ भने उसले परम् पद प्राप्त गर्ने र विभिन्न शुभकर्म एवम् पितृकर्म (श्राद्ध)मा यसको पाठ गर्नाले शुभ हुने, पितृहरू प्रसन्न हुने कुरा बताइएको छ । यसप्रकारको अतिमहिमामय रामगीताको प्रस्तुत अनुवाद मेरा सबैका निम्ति पनि अभिरूचि र कल्याणको विषय बन्न सक्ला भन्ने विश्वास छ ।

प्रथम श्लोक
ततो जगन्मङ्गलमङ्गलात्मना विधाय रामायणकीर्तिमुत्तमाम् ।
चचार पूर्वाचरितं रघुत्तमो राजर्षिवर्यैरभिसेवितं यथा ।।१।।

भावार्थ
जगत्को कल्याणका लागि मङ्गलस्वरूप दिव्यरूपद्वारा अतिउत्तम मोक्षसम्मको फल दिने रामायणरूप कीर्ति गरेर भगवान् रामले आफ्ना पुर्खा दिलीप, रघु आदि राजाले गरेका न्यायपूर्वक प्रजापालन, सत्कथा श्रवण र राजर्षि जनक आदिले गरेका शुभकर्महरूको अक्षरशः पालना गर्दै दिन बिताउनुभयो ।

विशेष वर्णन
यस श्लोकको पहिलो पाउको ‘ककजगन्मङ्गलमङ्गलात्मना’ भन्ने समस्त शब्दमा दुईपटक ‘ककमङ्गल’ शब्द आएको छ । यी दुईमध्ये पहिलो जगत्को मङ्गल अर्थात् कल्याण गर्ने भन्ने अर्थ र पछिल्लो शब्दले ककमङ्मल स्वरूपद्वारा भन्ने अर्थ बुझिन्छ ।

राम आनन्दस्वरूप हुनुहुन्छ । उहाँका दुई रूप छन् : सगुण र निर्गुण । माथिको शब्दमा आएको पहिलो ककमङ्गलको अर्थ सगुण र पछिल्लो ककमङ्मलको अर्थ निर्गुण भन्ने बुझ्नुपर्छ भन्ने पनि कतिपय तत्त्वदर्शी विद्वान्हरूको राय छ । (धारावाहिक रूपमा क्रमशः प्रकाशन हुने)

(लेखक पूर्व प्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हुन् ।)

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह