+
Search

ताजा अपडेट +

पपुलर +

सेनाको एकीकरणमार्ग पदयात्रा टोली प्रथम एकीकरणभूमिमा

सेनाको एकीकरणमार्ग पदयात्रा टोली प्रथम एकीकरणभूमिमा
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । यस वर्ष गोरखाबाट ‘एकीकरण दीपज्योति’सहितको सेनाको अगुवाइ र व्यवस्थापनको टोली बुधबार नुवाकोटको सिमाना भर्याङ-भुरुङबाट प्रथम एकीकरणभूमिमा प्रवेश गरेको छ । पदयात्रामा सहभागी सैनिक पृथ्वीनारायणका समयमा सैनिक फौजले प्रयोग गरेजस्तै पोसाक र हातहतियारमा सजिएका छन् । विसं २०७६ देखि सेनाको अगुवाइ र व्यवस्थापनमा हुँदै आएको पदयात्रा यस वर्ष सातौँ संस्करण हो । नुवाकोटमा रहेको नेपाली सेनाको शेर गणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’मा पृथ्वीनारायण शाहले नै स्थापना गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झन्डा, नेपालको राष्ट्रिय झन्डा र बाजागाजासमेत संलग्न गरिएको बताउनुभयो ।

धादिङको भर्याङ-भुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको पदयात्रा विदुर-१० स्थित शुभघाटमा आएर सोही दिन वास बसेर बिहीबार महामण्डल डाँडा, नुवाकोट दरबारहुँदै लिखु-५ स्थित चतुरालेसम्म दोस्रो दिनको पदयात्रा सञ्चालन हुनेछ । उक्त टोलीलाई सोही दिन बिहान नुवाकोट दरबारमा जिल्ला समन्वय समिति, विदुर नगरपालिका र अन्य पालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, समाजसेवी, एनसिसी पूर्वविद्यार्थीका प्रतिनिधि, भूपू सैनिक, स्थानीय इतिहासविद्, पदमार्ग अभियानकर्मी, स्थानीयवासीलगायतको सहभागितामा स्वागतसभा हुनेछ ।

नुवाकोटमा शेर गणले भर्याङ-भुरुङदेखि पदयात्राको नेतृत्व गर्दै तेस्रो दिन शुक्रबार लिखु-५, चतुरालेबाट ककनी-५, रानीपौवासम्म पदयात्रा सञ्चालन हुने र सोही दिनको वास रानीपौवामा हुनेछ । पदयात्राको अन्तिम दिन रानीपौवाबाट पदयात्रा सुरु भई नुवाकोट र काठमाडौँको सिमाना ककनीबाट नेपाली सेनाको शेर गणको टोलीले स्थानीय तहका प्रतिनिधि, भूपू सैनिक तथा स्थानीय बासिन्दाको उपस्थितिमा पन्चैबाजा, कवाज र समारोहसहित पदयात्राको ज्योति तथा झन्डा भैरवदल गण (काठमाडौँ) लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विदुर नगरप्रमुख राजनलाल श्रेष्ठले नेपाली सेनामार्फत सञ्चालित पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्याएको योगदानको संरक्षण र मेटिँदै गएका तत्कालीन पुरातात्त्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको संरक्षण गर्दै पर्यटन प्रवद्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । जिसस नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले पैदल यात्राले जिल्लावासीसँग सेनाको सम्बन्ध विस्तार, सद्भाव आदान-प्रदान र पर्यटन प्रवद्धनमा मद्दत पुर्याउने अपेक्षा गर्नुभयो ।

एकीकरण हुनुभन्दा अगाडि नुवाकोटको त्रिशूली नदीलाई सिमाना बनाएर त्रिशूलीबाट धादिङतर्फ गोरखा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य रहेका थिए । आफ्ना बुबा नरभूपालले पहिलोपटक नुवाकोटमाथि गरेको आक्रमण विफल भएपछि पृथ्वीनारायणले दोस्रोपटकको प्रयासमा नुवाकोटबाट विजय हासिल गरेर सुरु भएको नेपाल एकीकरण अभियानले विशाल नेपालको निर्माण सम्भव भएकाले एकीकरण यात्रालाई नुवाकोटका लागि सबैभन्दा महत्त्वका रूपमा लिने गरिएको छ ।

कान्तिपुर राज्यका अधीनमा रहेको नुवाकोटमाथि विजयपश्चात् नुवाकोटवासीका साथमा पृथ्वीनारायणले काठमाडौँ उपत्यकासहित अन्य राज्यमाथि विजय हासिल गरेका थिए । सोही क्रममा उनले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रवद्धन र वीर पुर्खाले  पुर्याएको योगदानको सम्मानस्वरूप युवापुस्तामा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ सञ्चालनमा ल्याइएको शेर गणका गणपति प्रमुख सेनानी मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस क्रममा पदमार्गमा पर्ने कोतघर, गढी, किल्लालगायत ऐतिहासिक तथा धार्मिक महत्त्वका संरचनाको संवद्र्धन, संरक्षण, प्रवद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पुर्याउन केन्द्रित गरिएको छ ।’

गोरखाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देश एकीकरण पदयात्रामार्फत दिन खोजिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह