+
Search

ताजा अपडेट +

पपुलर +

ऐतिहासिकताको कसीमा एकीकरण पदमार्ग

ऐतिहासिकताको कसीमा एकीकरण पदमार्ग
त्रिशूली प्रवाह
१ दिन अगाडी

विगत ६ वर्षदेखि नेपाल राष्ट्रका प्रणेता पृथ्वीनारायण शाह र उहाँले नेपाल विजय गर्न प्रयोग गरेको बाटोलाई स्मरणस्वरूप पहिचान गराउन एकीकरण पदमार्गमा नेपाली सेनाद्वारा पदयात्रा गर्न सुरु गरिएको छ । गोरखादेखि नेपाल खाल्डासम्मको क्षेत्रभित्र पर्ने ऐतिहासिक तथ्यको उत्खनन गर्नाका साथै ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्धन गर्ने, गढी-किल्लाको संरक्षण, पाटीपौवा, सत्तलको खोज तथा जीर्णोद्धार एवम् संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले सो अभियान चलाइरहेको छ ।

गोरखा-काठमाडौँ पदमार्ग २६ कोसको दूरी छ, कतिपय ठाउँमा कोसअङ्कित शिलास्तम्भ रहेको र सो स्थानमा रहेका इतिहासजनित वस्तुलाई नेपाली सेनाले जगेर्ना गर्दै आइरहेको छ । यसपटकको पदयात्रा टोली ऐतिहासिक राजधानी गोरखाबाट पुस २१ गते शुभारम्भ गरी राष्ट्रनिर्माताको जन्मदिन पुस २७ गते काठमाडौँ सैनिक मञ्च टुँडीखेलमा पदार्पण गर्नेछ । गोरखाका जोरचौतारा, ताप्ले, आस्राङ, बोर्लाङ हुँदै भर्याङभुरुङ, सामरी भन्ज्याङबाट नुवाकोट प्रवेश गरेर साततले दरबार, सेरा दरबार हुँदै ढाँडेफेदी, ककनी, ओखरपौवाबाट काठमाडौँ प्रवेश गर्नेछ । हरेक वर्ष सेनाको नेतृत्वको टोलीले गोरखा, नुवाकोट, धादिङ र काठमाडौँ जिल्लाको पदयात्रा गरिरहेको छ । टोलीमा पृथ्वीनारायणका पालामा स्थापना भएको सबुज, बर्दवाणी (बहादुर), श्रीनाथ र कालीबक्स कम्पनी (गण) का सैनिकले भाग लिन्छन् । सर्वप्रथम गोरखाबाट प्रज्वलित दीप धादिङ, नुवाकोट हुँदै काठमाडौँको हनुमानढोकामा पुर्याइन्छ र एकता दिवसका दिन सिंहदरबारअगाडि पृथ्वीनारायणको सालिक रहेको स्थानमा पृथ्वीजयन्तीको कार्यक्रम सम्पन्न गरिन्छ ।

नेपाल राष्ट्रको एकीकरण अभियानमा नुवाकोट विजय गर्नु अपरिहार्य भएकाले पृथ्वीनारायणले त्यसतर्फ ध्यान दिएको देखिन्छ । तत्कालीन समयमा गोरखा र नुवाकोटको सीमा त्रिशूली नदी थियो र पारिपट्टि गोरखा र वारिपट्टि नुवाकोट (काठमाडौँ) थियो । दुईपटकसम्म नुवाकोटको आक्रमण विफल भइसकेकाले तेस्रोपटक सफलता हासिल गर्न पृथ्वीनारायणले विशेष रणनीति अपनाई नुवाकोट कब्जा गर्न सफल भएको तथ्य इतिहासमा वर्णित छ । नौ कोट मिलेर नुवाकोट बनेको भन्ने भनाइअनुसार हाल धादिङमा तीन, रसुवामा दुई र नुवाकोटमा चार कोट विद्यमान छन् । ती नौकोट तत्कालीन समयमा निकै रणनीतिक महत्त्वका थिए । कालिकाकोट, धैबुङकोट, धुवाँकोट, मालाकोट, सल्यानकोट, बेलकोट, सिमलकोट, भैरुमकोट र प्यासकोट मिलेर नवक्वाथ वा नौकोटबाट नुवाकोट नाम रहन गएको कुरा हाल ती कोट तथा स्थानमा रहेकाले पुष्टि हुन आउँछ ।

गोरखाबाट हिँडेको पृथ्वीनारायण शाहकालीन सेना गुरुज्यूको पल्टनको पोसाक (कालो लबेदा सुरुवाल र गोलो टोपी) सज्जित सेना र अन्य सैनिक रहेको टोलीले धादिङमा रहेको गणलाई दीप र झन्डा हस्तान्तरण गर्छ भने नुवाकोटमा रहेको गणलाई हस्तान्तरण गर्ने प्रचलन छ । त्यसरी नै नुवाकोटमा रहेको गणले हनुमानढोकामा रहेको गणलाई झन्डा र दीप बुझाउनेछ । नुवाकोटमा पृथ्वीनारायणले नेपाल एकीकरणमा पहिलो पाइला राखेको शुभघाट भन्ने स्थानमा गत वर्ष वडाध्यक्षसहित गेर्खुटारवासीले स्वागत र आतिथ्य प्रदान गरेका थिए । बेलुकी कालिका मन्दिर परिसरमा पदयात्रा टोली र गेर्खुटारका बासिन्दाले नाचगान गरी विजय अभियानको झझल्को आउने गरी रमाइलो गरेका थिए र यस वर्ष पनि गेर्खुटारमा सोहीअनुसार कार्यक्रम रहेको वडाले जनाएको छ । सो कार्यक्रममा शेर गण बट्टार, त्रिशूली तालिम केन्द्रका सेनाका गणका अधिकृतलगायत सैनिकले आवश्यक व्यवस्था मिलाउँछन् । ऐतिहासिक महत्त्वको शुभघाटमा नुवाकोटमा अघिल्लो वर्ष तैनाथ नेपाली सेनाको जबरजंग गणले प्रतीक्षालय र सार्वजनिक शौचालय निर्माण गरेर त्यस स्थानमा पुग्ने आगन्तुकलाई सुविधा प्रदान भएको छ ।

नेपाल एकीकरण अभियानमा पृथ्वीनारायणले गरेका महत्त्वपूर्ण कार्य र ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्धनमा कोसेढुङ्गा स्थापना र गढी पहिचान तथा संरक्षण नेपाली सेनाले विसं २०७६ देखि सुरु गरेको हो । इतिहास नै भविष्यका लागि मार्गदर्शक बन्न सक्छ र ऐतिहासिक तथ्य स्थापना गर्न सकिएमा भविष्यका पुस्तालाई पुर्खाको योगदानको तत्त्वबोध गराउन सकिन्छ भन्ने उद्देश्यले नेपाली सेनाले गरेको यो पुनीत कार्य निकै सराहनीय छ । गणतन्त्रकाल सुरु भएपछि राष्ट्रनिर्माता पृथ्वीनारायणलाई विस्मृतिमा लैजाने कार्य सुरु भएकामा हाल नेपाली सेना र राज्यले प्राथमिकतामा दिएर सार्वजनिक बिदा दिनेलगायत पृथ्वीजयन्ती भव्य रूपले मनाउने परम्पराको सुरुवात गरिसकेका छन् । स्थानीय नगरपालिकाले पनि पृथ्वीजयन्तीका दिन बिदा दिने गरेको छ ।

नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राले गोरखादेखि काठमाडौँसम्मका जनतामा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको नेपाल राष्ट्र निर्माणको योगदान र उनको रणनीतिक क्रियाकलापप्रति निकै चासो बढ्दै गइरहेको पाइन्छ । पदयात्रा मार्गका जनतालाई एक किसिमको चाड आएको अनुभूति भइराखेको छ र जिज्ञासा राख्दै त्यस अभियानलाई सार्थक बनाउन सहयोग गर्दै गरेको पनि देखिन्छ । नेपाली सेनाले पनि तत्कालीन समयमा पृथ्वीनारायण हिँडेको बाटो जीर्णोद्धार गर्ने र गढी, किल्ला, सत्तलको मर्मत र संरक्षणमा सहयोग गर्दै आइरहेको छ । करिब २५ वर्षसम्म गोरखाको तत्कालीन राजधानी रहेको नुवाकोट क्षेत्रमा हालसम्म प्रशस्त मात्रामा हालसम्म विद्यमान रहेका ऐतिहासिक अभिलेख, शिलालेख तथा भवन र सम्पदाको मर्मत, जीर्णोद्धार र संरक्षण हुन सकेमा नयाँ तथ्य पत्ता लाग्न सक्ने विश्वास गर्न सकिन्छ । विसं २०७२ को भूकम्पले विनाश गरेको ऐतिहासिक भवन निर्माण भएमा नुवाकोट बजारले कायापलट फेर्न सक्ने हुन्छ । नुवाकोटका नौ कोट र गढीको आफ्नै इतिहास भएको यथार्थलाई मनन गर्दा नुवाकोटको विशेष खालको इतिहास रहेको अनुभूति हुन्छ । यसका लागि विशेष अनुसन्धान र अन्वेषण हुन जरुरी भइसकेको छ । सो कार्यका लागि सरकारका तीनै तह सङ्घीय, प्रादेशिक एवम् स्थानीय तहले तदारुकताका साथ काम गर्नुपर्ने देखिन्छ ।

विगत वर्षदेखि पदयात्रा गरिँदै आएको मार्गमा पर्या-पर्यटन विकासको प्रचुर सम्भावना देखिन्छ । हुन त केही निजी क्षेत्रका पर्यटकीय संस्थाले नयाँका स्थानको पदयात्रा गर्ने मार्ग पत्ता लगाएको सुन्नमा आएको छ । तर, बाटो बनाउने र भौतिक पूर्वाधार निर्माण गर्न सरकारी पक्षले नै तदारुकता देखाउनुपर्छ । पर्यटकलाई आवश्यक पर्ने भौतिक सुविधा सरकारले नै निर्माण गरिदिनुपर्ने हुन्छ । नुवाकोटमा पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक हरियाली, भौगोलिक बनावट, धार्मिक क्षेत्र र ऐतिहासिक सम्पदा प्रशस्त मात्रामा छन्, त्यसको महत्त्वको पहिचान गराउने काममा सक्रियता नदेखिएकै कारणबाट समग्र पक्षको विकास नभएको हो । अब धेरै ढिलो भइसकेको छ र सबैले विकासका लागि इच्छाशक्ति देखाउनु जरुरी छ अनि मात्र ऐतिहासिकताका कसीमा खरो रूपमा उत्रन सम्भव हुन्छ, चेतना भया ! (लेखक पूर्वप्रशासक, लेखक एवम् इतिहासकार हुनुहुन्छ ।)

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह