विदुर । श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गत हप्ता सार्वजनिक भएको छ । सङ्गीतकार ओमप्रकाश राईको सङ्गीत र गायिका पेमा शेर्पा राईको स्वरले गीत थप ओजिलो बनेको छ ।
गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ । सार्वजनिक भएलगत्तै गीत श्रोतामाझ चर्चामा आएको छ । गीतमा सन्तोष प्रगाढ राईको सङ्गीत संयोजन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ-मास्टरिङ रहेको छ । यसअघि पनि गीतकार श्रीराम राईका आधा दर्जन गीत रेकर्ड भइसकेका छन् । विसं २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् । त्यस्तै, विसं २०७९ मा मनमा बी राई र २०८१ मा नवराज पराजुलीले राईकै ‘सन्चो छौ कि बिसन्चो’ गीत गाएका थिए । गीतकार राई खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन् । दसवर्षे शिक्षण पेसा छोडेर काठमाडौँ आउनुभएका उहाँ साहित्य र पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बाल कथासङ्ग्रह प्रकाशित छन् । राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुनुहुन्छ । ‘लघुकथा सौन्दर्य’मार्फत उहाँ लघुकथाको उन्नयनमा सक्रिय रहनुभएको छ । उहाँका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथा सङ्ग्रह प्रकाशित छन् ।
गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथा सङ्ग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ । यसअघि उहाँले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’मार्फत सम्पादन अनुभव बटुल्नुभएको छ । नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप उहाँले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), शशांक भवानीशङ्कर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार सङ्घ, स्वर्ण महोत्सव सम्मान (२०८०) र ‘गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गर्नुभएको छ ।






प्रतिक्रिया