+
Search

ताजा अपडेट +

पपुलर +

स्पोर्टस् एकेडेमी र खेलकुद उद्यानका लागि आजदेखि खेलकुद तथा सांस्कृतिक महोत्सव

स्पोर्टस् एकेडेमी र खेलकुद उद्यानका लागि आजदेखि खेलकुद तथा सांस्कृतिक महोत्सव
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा आजदेखि प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सव-२०८२ शुक्रबारदेखि सुरू भएको छ । विदुर-९, कोलनीमा रहेको खेलकुद विकास समितिको खेलमैदान र कभर्ड हलमा हुने उत्सवबाट उठेको रकमबाट स्पोर्टस् एकेडेमी स्थापना र खेलकुद उद्यान बनाउने उद्देश्य राखिएको छ ।

आयोजक समितिका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङका अनुसार उत्सवमा १५ व्यावसायिक कक्ष र १० स्थानीय क्षेत्रमा उत्पादित लघु, घरेलु, वनजन्य र कृषि कक्ष रहनेछन् । सो उत्सव आगामी माघ ५ गते सोनाम ल्होसारको दिन समापन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको अवधिभर कराँते, तेक्वान्दो, फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, दौड खेल विधामा प्रतिस्पर्धा गराइने र दैनिक राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारद्वारा साङ्गीतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम अवधिभर बाल उद्यान र अन्य मनोरञ्जन खेलका सामग्री राखिएको छ । समितिको विदुर-९, कोलनीमा रहेको १० रोपनी जग्गामा स्पोर्टस् एकेडेमी र खेलकुद उद्यान निर्माणमा लागि आर्थिक स्रोत जुटाउने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको संयोजक गुरुङले बताउनुभयो । खेलकुदको गुणस्तर अभिवृद्धि, स्थानीय प्रतिभाको पहिचान, खेल पूर्वाधार विकास तथा स्थानीय कला, संस्कृति एवम् पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवले सामाजिक सद्भाव, एकता तथा स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकले गरेको छ ।

आयोजकले उत्सवको अवधिभर नुवाकोटमा खेलकुद, फिटनेस र प्रतिभा विकासकेन्द्रित विशेष कार्यक्रम गर्ने जानकारी दिएको छ । ११ दिनसम्म सञ्चालन हुने कार्यक्रमले खेलकुदलाई जीवनशैलीसँग जोड्दै युवामा आत्मप्रेरणा, फिटनेस र प्रतिभा पहिचानको संस्कार विकास गर्ने उद्देश्यका साथ हुन लागेको कार्यक्रममा खेलकुदविज्ञ तथा अनुभवी प्रशिक्षकको सहभागिता रहनेछ । कार्यक्रमको पहिलो दिन पुस २६ गते शनिबार, ‘खेलकुद र जीवन’ विषयमा सत्र सञ्चालन हुनेछ । यस सत्रमा खेलकुदले शारीरिक स्वास्थ्य मात्र होइन, अनुशासन, नेतृत्व र जीवनमूल्यमा पुर्याउने प्रभावबारे चर्चा गरिनेछ । ४० मिनेटको सैद्धान्तिक प्रस्तुतिपछि २० मिनेटको सामूहिक व्यावहारिक गतिविधि समावेश गरिएको छ । उक्त सत्रको सहजीकरण खेलकुदविज्ञ सुलोचना सिजाख्वाले गर्नुहुनेछ । दोस्रो दिन माघ ४ गते आइतबार, ‘ग्रासरुट विकास तथा प्रतिभा पहिचान’ विषयमा एक घण्टाको विशेष सत्र आयोजना गरिनेछ । स्थानीय तहबाटै खेलकुद प्रतिभा पहिचान गर्ने तरिका, दीर्घकालीन विकास रणनीति तथा सम्भावनाका विषयमा केन्द्रित यो सत्र पनि सुलोचना सिजाख्वाको नेतृत्वमा सञ्चालन हुनेछ ।

त्यसैगरी, कार्यक्रमको अन्तिम दिन माघ ५ गते सोमबार ‘आत्म-प्रेरणाका लागि फिटनेस’ शीर्षकमा सत्र आयोजना गरिनेछ । सो सत्रमा फिटनेसलाई केवल शारीरिक अभ्यास नभई मानसिक मजबुती र आत्मविश्वासको आधारका रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ । ४० मिनेटको भाषणपछि ४० मिनेटको सामूहिक व्यावहारिक अभ्यास गरिनेछ । उक्त सत्रमा राजेन्द्ररत्न तुलाधर र सुलोचना सिजाख्वा दुवैको सहजीकरण रहनेछ । आयोजकका अनुसार कार्यक्रममा सहभागी वक्ता तथा प्रशिक्षकको यातायात र आवास खर्च आयोजक स्वयम्ले व्यहोर्ने छ भने प्रत्येक सत्रको लागत रु. चार हजार मात्र निर्धारण गरिएको छ । स्थानीय युवालाई खेलकुद, फिटनेस र आत्मविकासतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नुवाकोटमा दीर्घकालीन खेलकुद संस्कार विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह