विदुर । विदुर-२, इन्द्रचोकस्थित शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रलाल श्रेष्ठले देशमा बढ्दै गएको आर्थिक मन्दी र विभिन्न किसिमको आन्दोलनले व्यापार-व्यवसायमा आर्थिक सङ्कट देखिए पनि सहकारीले गत वर्षझैँ मुनाफा वितरणमा निरन्तरता दिन सकेको बताउनुभयो । उहाँले दुई हजार पाँच सयबाट सुरु गरेको संस्थाको सेयर पुँजी विसं २०८२ असार मसान्तसम्म दुई करोड एक लाख ८९ हजार तीन सय पुगेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले सहकारीले गत वर्ष निक्षेप सङ्कलनमा लक्ष्यगत प्रगति हासिल गरेको बताउनुभयो । सभामा २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनका साथै आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय-व्यय र नीति तथा कार्यक्रम कोषाध्यक्ष रामराजा श्रेष्ठले प्रस्तुत गर्दै सहकारीले रु.१३ लाख ४२ हजार नौ सय एक नाफा आर्जन गरेको जानकारी दिनुभयो । त्यसैगरी, सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा रु.२१ करोड ४३ लाख २४ हजार चार सय ९२ निक्षेप सङ्कलन गरी रु.१३ करोड ९० लाख ९४ हजार दुई सय २४ ऋण लगानी गरेको उहाँले बताउनुभयो । सहकारीमा रु.चार करोड ३६ लाख ३७ हजार दुई सय ५५ रहेकोले तरलता रकम पर्याप्त रहेको उहाँले दाबी गर्नुभएको छ । सो सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरिवेक्षण समितिका संयोजक रविन डङ्गोलले ऋण असुलीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साधारणसभामा उत्कृष्ट बचतकर्ता सूर्यगढी-५, गणेशथानकी सुमित्रा गिरी र उत्कृष्ट ऋण कारोबारी तादी-१, उर्लेनीकी सिर्जना तामाङलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।






प्रतिक्रिया