कोलनी । विसं २०५८ मा स्थापना भई विदुर नगरपालिकाभित्र कार्यक्षेत्र रहेको शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर-९ बागबगैँचा नुवाकोटको सेयर पुँजी निक्षेपको तुलनामा न्यून रहेको छ । सहकारीको आव २०८१/०८२ को असार मसान्तसम्ममा सेयर पुँजी रू.७५ लाख ९६ हजार ६ सय र निक्षेप सङ्कलन रू.सात करोड ३२ लाख ४९ हजार चार सय ३० रहेको छ । बचत र सेयर पुँजीको अनुपात सहकारी ऐन र नियमावलीले निर्धारण गरेभन्दा कम रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले शनिबार २३औँ वार्षिक साधारणसभा गरेर गत आव २०८१/०८२ को आय-व्यय पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शिवप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सुवर्णमान श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा परीक्षण प्रतिवेदन र अन्य समसामयिक प्रस्ताव पारित भएको व्यवस्थापक सुनील बज्राचार्यले जानकारी दिनुभयो । सभाको सञ्चालन सचिव हरिप्रसाद अधिकारीले गर्नुभएको थियो भने उद्घाटन संस्थापक अध्यक्ष तथा ज्येष्ठ सेयर सदस्य मोहनबहादुर श्रेष्ठले र स्वागत मन्तव्य उपाध्यक्ष पूर्णलाल श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये उच्च शिक्षा अध्ययनमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका दुईजनालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सम्मान हुनेमा सेयर सदस्य केशवबहादुर श्रेष्ठकी सुपुत्री यशु श्रेष्ठले द युनिभर्सिटी अफ टेक्सास (युएसए) बाट हालै नर्सिङ इन्फरमेटिक, क्वालिटी एन्ड सेफ्टीमा मास्टर अफ साइन्स इन नर्सिङ उपाधि प्राप्त गर्न सफल हुनुभएकोमा र सेयर सदस्य सुरेशबहादुर श्रेष्ठका सुपुत्र रजत श्रेष्ठले युनिभर्सिटी हार्डफोर्ड सायर (युके) बाट हालै मास्टर अफ साइन्स साइबर सेक्युरिटी उपाधि प्राप्त गर्न सफल हुनुभएकोले सम्मान गरिएको सभामा जानकारी गराइएको थियो ।






प्रतिक्रिया