विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट जिल्ला क्षेत्र नम्बर १ बाट बद्रीप्रसाद मैनाली र २ बाट केशवराज पाण्डेको एकल नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सिफारिस गरेको छ ।
एमाले जिल्ला कमिटीको छैटौं पूर्ण बैठकले सोमबार क्षेत्रीय कमिटीको बैठकद्वारा सर्वसम्मत् सिफारिस गरेको उम्मेदवारको नाम अनुमोदन गरेको उपसचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । जिल्ला कमिटीका अध्यक्ष रहेका मैनाली विसं २०७४ को प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेश सभा (ख) बाट उम्मेदवार भई विजयी हुनुभएको थियो । केही समय प्रदेशको मन्त्रीसमेत हुनुभएका मैनाली विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ बाट २३ हजार चार सय ६५ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी बन्नुभएको थियो । उक्त क्षेत्रबाट पाँच दल (नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादीसहित) वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । विसं २०७४ को प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट विजयी बनेका पाण्डे विसं २०७९ को प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश सभा (ख) बाट उम्मेदवार बनेर पराजित हुनुभएको थियो । अघिल्लो २०७४/०७९ को प्रदेश मन्त्रिपरिषद्मा दुई-दुईपटक मन्त्रीसमेत बन्नुभएका पाण्डे गत विसं २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामप्रसाद ढुंगानासँग पराजित हुनुभएको थियो । ढुंगानाले १२ हजार एक सय १० मत प्राप्त गरी विजय हुँदा पाण्डेले प्रतिस्पर्धामा ११ हजार ६ सय ६२ मत प्राप्त गरी पराजित हुनुभएको थियो ।
जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य विन्दा ढुंगानाको नेतृत्वमा चार हजार एक सय ७७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ भने पूर्व जिल्ला कमिटी अध्यक्ष नारायणप्रसाद खतिवडाको नेतृत्वमा उषाकिरण तिम्सिना, ठाकुरप्रसाद गजुरेल, राजेन्द्ररमण खनाल र शिव चित्रकार रहेको पाँच सदस्यीय निर्वाचनका लागि जिल्लामा रहेका राजनीतिक दलसँग सम्पर्क तथा समन्वय गर्न समिति गठन गरेको छ । पार्टी सचिव शिव चित्रकारको नेतृत्वमा निर्वाचन आर्थिक कमिटी गठन गरिएको छ । कमिटीको सदस्यमा जिल्ला आर्थिक विभाग र क्षेत्रीय अध्यक्ष १ नम्बरका सुशील खड्का, २ का सम्मर आलेमगर सदस्य रहेका छन् ।






प्रतिक्रिया