धुन्चे । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा रसुवा जिल्ला कार्यसम्पादनमा देशभरकै दोस्रो उत्कृष्ट भएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला देशभरिमै पहिलो उत्कृष्ट बनेको छ भने जिल्ला प्रशासन कार्यालय रसुवाले देशभरमै दोस्रो स्थान हासिल गरेको छ ।
मन्त्रालयले हालै सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार कुल २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो । ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा ‘ग’ वर्गकै जिल्ला प्रशासन कार्यालय रसुवाले २८.६८ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ । यसैगरी, ‘ख’ वर्गका जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय धनकुटाले २८.५ अङ्क प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ भने ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २८.३७५ अङ्कसहित चौथो स्थान प्राप्त गरेको छ । यस्तै, ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय पर्वतले २८.३१२५ अङ्क प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको र ‘क’ वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय ललितपुरले २८.२५ अङ्कसहित छैटौँ स्थान प्राप्त गरेको जनाइएको छ । हाल जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरिरहनुभएको छ । गृह मन्त्रालयमा कार्यरत उपसचिव पन्थीले गत भदौ महिनादेखि रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्दै आउनुभएको छ । हिमाली तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने रसुवाले दोस्रो स्थान हासिल गर्नु उल्लेखनीय उपलब्धि भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सन्तुष्टि र आत्मसम्मानका आधारमा काम गर्ने हो, सोहीअनुसार नतिजा प्राप्त हुँदा खुसी लाग्छ ।’ रसुवा जिल्ला मूल्याङ्कनमा दोस्रो सर्वोत्कृष्ट हुनुका आधार प्रस्तुत गर्दै प्रजिअ पन्थीले जिल्ला प्रशासन कार्यालयमा आउने गुनासालाई समयमै फस्र्योट गरिएको बताउनुभयो । यसैगरी, अर्को मूल्याङ्कनको आधार जिल्लामा पर्ने उजुरी एक वर्षभित्र फस्र्याेट गर्नुपर्ने प्रावधानलाई एक महिनामै टुङ्ग्याउने काम गरेको प्रजिअ पन्थीले जानकारी दिनुभयो । ‘यसका साथै नेपाल-चीन आयात-निर्यात हुने रसुवागढी नाका सञ्चालनमा निरन्तर पहल गरिएको थियो ।
नागरिकलाई प्रत्यक्ष असर पार्ने सडक पूर्वाधारलाई नियमित र व्यवस्थित गरिएको छ । जसले गर्दा सडकमार्फत सदरमुकामसम्म पुग्ने समय किफायत भएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा भएका यस्ता कार्यले जनता र सरकारबिचको सामीप्यता गहिरो बनाएको छ । जनताले सरकारको अपनत्व महसुस गरेका छन् । त्यसपछि गृहसचिवसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न आफूले सबै कर्मचारीको साथ लिएर काम गरेको र त्यसकै आधारमा मन्त्रालयले मूल्याङ्कन गरेको उहाँले सुनाउनुभयो । प्रजिअ पन्थीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित जिल्लास्थित सबै कार्यालयको सामूहिक प्रयासको नतिजा प्राप्त भएको बताउनुभयो । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।






प्रतिक्रिया