रियाद, साउदी अरब । बैदेशिक रोजगारीका क्रममा साउदी अरबमा कार्यरत नुवाकोट जिल्ला बिदुर नगरपालिका-१३, डेउडीका अन्जान गुभाजु नेपाली साझा मञ्च, साउदीको अध्यक्षमा पुनः चयन हुनुभएको छ । सञ्चार क्षेत्रमा समेत सक्रिय गुभाजुको नेतृत्वमा नेपाली साझा मञ्च, साउदीले आफ्नो १०औँ वार्षिकोत्सव तथा चौथों अधिवेशन गत हप्ता भव्यताका साथ सम्पन्न गरेको छ ।

‘देशको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ अरबमा क्रियाशील सामाजिक संस्था नेपाली साझा मञ्चले आयोजना गरेको उक्त कार्यक्रम रियादस्थित नेपाली दूताबासका श्रम काउन्सिलर कविराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाली साझा मञ्चले श्रमिक हितमा खेलेको भूमिकाको प्रशंसा गर्दै साउदी अरबको कानुनी संवेदनशीलताप्रति सचेत रहन आग्रह गर्नुभयो । साथै, दूताबास सधैँ नेपाली श्रमिकको हक-हित र संरक्षणका पक्षमा रहेको स्पष्ट पार्नुभयो । वार्षिकोत्सव कार्यक्रममा मञ्चका महासचिव राजु केसीले सङ्गठनको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म मञ्चका गतिविधिबाट करिब १५ हजार भन्दा बढी नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी दिनुभयो । अधिवेशनले सन् २०२६-२०२८ कार्यकालका लागि गुभाजुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । श्रमिकका लागि बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण, अनलाइन सेवा तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा मञ्चले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता अध्यक्ष गुभाजुले गर्नुभएको छ ।

बिदुर-१३ का गुभाजु वैदेशिक रोजगारीसँगै सञ्चार तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन् । उहाँले साउदी अरबमा रहेका नेपाली श्रमिकको समस्या, उद्धार, राहत तथा सामाजिक सचेतनाका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका तुलसी क्षत्रीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । स्थानीय कलाकार रोम लामा, दिव्या, दीक्षा थापालगायतको प्रस्तुतीले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो । कार्यक्रमकै अवसरमा नेपाली राजदूताबास, रियाद, जेद्दास्थित महावाणिज्य दूताबास, नेपाल वायु सेवा निगमकी कन्ट्री हेड श्रीमती अन्जु शर्मा, एनआरएनए एनसिसी साउदीका निर्वतमान अध्यक्ष तथा संरक्षक श्रीमती रबिना अर्याल, ग्लोबल आईएमई रेमिटका गल्फ हेड रामबहादुर क्षत्री, कास्की सेवा समाज, मोरङ-सुनसरी समाज, झापाली समाज, स्याङ्जा सहयोग समाज, हेल्प मधेसी साउदीका अध्यक्ष श्यामकुमार महतो, तथा प्रवासी मिलन एकता समाजका अध्यक्ष काजी गुरूङलगायतलाई नेपाली समुदायप्रति पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
मञ्चको नवगठित कार्यसमितिमा प्रमुख संस्थागत संरक्षक कृष्ण पुरी, संरक्षक विष्णु घिमिरे र प्रमुख सल्लाहकार अकल प्रधान रहनुभएको छ । उपाध्यक्षमा राजु केसी र भरत पौडेल, महासचिवमा तेजबहादुर सिलवाल (सिन्धुली), सचिवमा विपुल ढुङ्गाना र कोषाध्यक्षमा डिबी बलामी मगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यमा प्रनिशा रिमाल, राज जैरू, पुन्यप्रसाद घिमिरे, टी.बी. कुबर, गंगाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहोरा, जगदिश खनाल, खड्ग तामाङ र सोमबहादुर बिके रहनुभएको छ भने सल्लाहकारमा टिकाराम पाण्डे र नागेश तामाङ नियुक्त हुनुभएको छ ।






प्रतिक्रिया