+
Search

ताजा अपडेट +

पपुलर +

सङ्गम सहकारीको निक्षेप १८ र ऋण लगानी ६ प्रतिशतले वृद्धि

सङ्गम सहकारीको निक्षेप १८ र ऋण लगानी ६ प्रतिशतले वृद्धि
त्रिशूली प्रवाह
३ महिना अगाडी

संगम बचत तथा ऋण सहकारी संस्था लि. विदुर-४, बट्टारले गत आव २०८१/०८२ मा विभिन्न बचत कार्यक्रमको कुल निक्षेप र ऋण लगानी वृद्धि गरेको छ । सहकारीले सो वर्ष १८.३३ प्रतिशत निक्षेप सङ्कलन र ५.८० प्रतिशत कर्जा लगानी गरेको जानकारी गत हप्ता सम्पन्न साधारणसभामा गराइएको थियो ।

विसं २०५३ पुस १५ गते स्थापना भएको संगम सहकारीले नयाँ व्यवस्थापनसहित विसं २०६४ देखि कार्यालय सञ्चालन गरी कारोबार सुरु गरेको थियो । संस्था दर्ता गरेको १२ वर्षपछि सहकारीले कारोबार सुरु गरे पनि जिल्लामा रहेका सहकारीमध्ये संगमको कारोबार उत्कृष्ट रहेको छ । सहकारीले यही पुस १५ गते २९औँ वार्षिक साधारणसभा गरेर गत आवको आय-व्ययको प्रस्तुत गरी अनुमोदन र चालू आव २०८२/०८३ को अनुमानित बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरेको व्यवस्थापक अजयकुमार थापाले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष केशव मिश्रले सभामा रु.३४ करोड ३९ लाख १५ हजार दुई सय ७३ निक्षेप, रु.३२ करोड ३२ लाख तीन हजार दुई सय सात ऋण लगानी रहेको जानकारी गराउनुभएको थियो । आव २०८१/०८२ मा सहकारीले आयकर व्यवस्थापछिको खुद नाफा रु.पाँच लाख ४७ हजार तीन सय ७२ गरेको कोषाध्यक्ष सनि चित्रकारले बजेट कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्दै सोको जानकारी दिनुभएको थियो । उहाँले आव २०८०/०८१ मा सेयर पुँजी रु.दुई करोड ७३ लाख तीन हजार चार सय रहेकोमा आव २०८१/०८२ मा वृद्धि भई रु. दुई करोड ७३ लाख ६२ हजार ६ सय पुगेको बताउनुभयो । त्यसैगरी, सहकारीले अघिल्लो आवभन्दा गत आवमा रु.६ लाख १७ हजार नौ सय ३५ कम मुनाफा आर्जन गरेको छ । अघिल्लो आव २०८०/०८१ मा रु. ११ लाख ६५ हजार तीन सय सात मुनाफा कमाएको सहकारीले गत आव २०८१/०८२ मा अघिल्लो वर्षको भन्दा कम रु.पाँच लाख ४७ हजार तीन सय ७२ मात्र नाफा आर्जन गरेको छ । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक जोनी जेकेले प्रतिवेदन प्रस्तुत गर्दै आवको बचतको तुलनामा ऋण लगानी कमी देखिए पनि तुलनात्मक रूपमा ब्याज आम्दानी वृद्धि देखिनुले ऋण असुलीतर्फ संस्थाले उचित कदम चाल्न सुझाव दिनुभएको छ । सभामा उत्कृष्ट कारोबार गर्ने बचतततर्फ शान्ति अमात्य विदुर-१, त्रिशूली, ऋण कारोबारततर्फ प्रमोद बोगटी विदुर-४ बट्टार र बाबुनानी बचत कार्यक्रमतर्फ युनिसा केसी विदुर-६ इनारपाटीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, सहकारीले वार्षिकोत्सवको अवसरमा गरेको जिल्लास्तरीय अन्तरविद्यालय संगम एकल लोकनृत्य प्रतियोगिता-२०८२ मा प्रथम हुने त्रिशूली सामुदायिक बोर्डिङ स्कुल त्रिशूलीका कसिस मलेकु श्रेष्ठ, द्वितीय हुने अर्किड एकेडेमी बट्टारका आयुसी श्रेष्ठ, तृतीय हुने सुभेनियर बोर्डिङ स्कुल बट्टारका आस्मा तामाङ र सान्तवना चन्द्रज्योति मावि पिपलटारका सिम्रिना कुमाललाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सहकारीले हरेक वर्ष वितरण गर्दै आइरहेको संगम उच्च शिक्षा छात्रवृत्ति यस वर्षको बिबिएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थी विजय थापामगर, बिएड दोस्रो वर्ष अध्ययनरत विद्यार्थी रजनी गिरी, बिबिएस प्रथम वर्ष अध्ययनरत विद्यार्थी शीतल रिजाल, बिबिएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थी आदेश गुरुङलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह