+
Search

ताजा अपडेट +

पपुलर +

आफ्नै सरकारबाट पनि जेन-जी सहिद परिवारले पाएन क्षतिपूर्ति

आफ्नै सरकारबाट पनि जेन-जी सहिद परिवारले पाएन क्षतिपूर्ति
त्रिशूली प्रवाह
९ महिना अगाडी
  • परिवारले अहिलेसम्म सहिद परिवारका सदस्य भएको अनुभूति गर्न पाएको छैन ।
  • परिवारलाई रु.१५ लाख क्षतिपूर्ति दिने निर्णय भएको तीन महिना बित्यो ।
  • प्रशासन कार्यालय नुवाकोटको बैंक खातामा आइसके पनि अझै भुक्तानी भएको छैन ।
  • सहिदकी छोरीको खोजी, उहाँको परिवारलाई दिनुपर्ने सेवा र सुविधामा प्रशासनले प्राथमिकता दिएन ।
  • अब हुने निर्वाचनका उम्मेदवारले आफ्ना कुरा बुझ्छन् कि भन्ने आशामा त्यो परिवार पर्खिरहेको छ ।

विदुर । जेन-जीको रगत र भावनाले बनेको सरकारले गत कात्तिकमै घोषणा गरेअनुसार आन्दोलनका सहिदलाई क्षतिपूर्तिबापत दिइने रकम अझैसम्म पञ्चकन्या-२ का सहिद लच्छुमान राईको परिवारले पाएको छैन । नवपुस्ताको आह्वानमा काठमाडौँमा भएको भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा नुवाकोटका ३९ वर्षीय राई सहिद हुनुुभएको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

छोराको योगदानमा गर्व गर्नुभएका आमा मानकुमारीसहित दाजुभाउजू, दिदीभिनाजुलगायत उहाँसँग रक्तसम्बन्ध रहेका परिवारका सदस्यको पीडा अहिले पनि उस्तै छ । आन्दोलनमा सहादत प्राप्त गर्नेलाई सरकारले कात्तिक १७ मा सहिद घोषणा गर्दै परिवारलाई रु.१५ लाख क्षतिपूर्ति दिने निर्णय भएको तीन महिना बित्यो । लच्छुमानको परिवारले अहिलेसम्म सहिद परिवारका सदस्य भएको अनुभूति गर्न पाएको छैन । उहाँका नाममा परिवारले पाउने क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैंक खातामा आइसके पनि अझै भुक्तानी भएको छैन । सो रकम निकाल्न श्रीमती र छोरी पहिलो हकदार हुने कानुन छ । श्रीमती अरूसँग गए पनि क्षतिपूर्ति रकमसहित पाउने अन्य सेवासुविधामा छोरीको हक हुने कानुनी व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिनुभयो । उक्त सुविधाका लागि परिवारले छोरीको खोजीका लागि प्रहरीको सहयोग माग्दा लच्छुमानकी श्रीमती अर्कैसँग गएको बुझिएको, तर छोरीका बारेमा यथार्थ प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । स्थानीयवासीको भनाइअनुसार अर्कै व्यक्ति बाबु बनेर छोरीको जन्मदर्ता गराइसकेको छ । उक्त कार्य कानुनले दण्डनीय माने पनि सबै सूचना पाएको जिप्रकाले छोरी झिकाउन वा विकल्पमा सहिदकी आमाका नाममा क्षतिपूर्ति दिन सक्रियता नदेखाउँदा जेन-जी अगुवाले साथ र सहयोग नदिएको पीडित परिवारको गुनासो छ । जेन-जी युवाको बलिदानी र भावनाले गठन वर्तमान सरकारले समुदायमा पछि परेका तथा प्रतिस्पर्धामा आउन नसक्नेलाई खोजी-खोजी राज्यको सेवा दिलाउनुपर्ने हो । सहिदकी छोरीको खोजी, उहाँको परिवारलाई दिनुपर्ने सेवा र सुविधामा प्रशासनले प्राथमिकता दिनुपर्ने हो । सहायक प्रजिअ हुमागाईं भन्नुहुन्छ, ‘प्रमाण पुर्याएर आएकालाई फर्काएका छैनौँ । सेवा दिन घरघरमा खोज्दै जाने पनि कुरा भएन ।’

Suzuki New Bike & Scooter

सहादत प्राप्त गर्नुअघि झन्डै १९ दिनसम्म लच्छुमानको ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भयो, जसको मुख्य खर्च सरकारले व्यहोरेको थियो । तर, अस्पतालबाहिरबाट खरिद गरिएका औषधि, परीक्षणलगायत अन्य व्यवस्थापनको खर्च जुटाउने क्रममा ऋणमाथि ऋण थपिँदै गयो । लच्छुमानका दाजु राजुले दुःख पोख्दै भन्नुभयो, ‘सरकारी उपचारबाहेकका खर्च आफैँ जुटाउनुप¥यो, भाइको उपचारका क्रममा लागेको ऋण अझै तिर्न बाँकी छ ।’ अस्पतालमा रहँदा ‘के सहयोग चाहिन्छ ?’ भनेर पटक-पटक साथ दिनुभएका सामाजिक अभियानकर्मी आशिका तामाङले अन्त्येष्टिका लागि अभाव भएको खर्च टार्न थप दिनुभएको रु. एक लाखले उहाँहरूलाई सबैभन्दा ठुलो गुन लगाएको छ । उहाँले भावुक हुँदै भन्नुभयो, ‘आशिका दिदीबाट पाएको त्यो सहयोग हामीलाई भगवान्ले दिनुभएको बरदानसरह भयो । यति ठुलो सहयोग अहिलेसम्म कहीँकतैबाट पाइएको छैन ।’

देशमा जेन-जी युवाको बलिदानीबाट सुरु भएको परिवर्तनका थुप्रै आयाममध्ये फागुन २१ को आमनिर्वाचन पनि एक महत्त्वपूर्ण हो । तर, चुनावी माहोलले नुवाकोटको पञ्चकन्या-२, कठेरीस्थित सहिद लच्छुमानको परिवारलाई भने खासै अर्थ राखेको छैन । उहाँका वृद्धा आमा, दाजुभाइ अहिले पनि कमजोर आर्थिक अवस्थाबिच जीवन गुजारिरहनुभएको छ । साहुबाट लिएको ऋण र त्यसको ब्याजको भारी बोकेर बस्नुपरेको छ । खानेपानीको चरम अभाव छ । सडक सुविधा छैन । बालबच्चालाई विद्यालय पठाउनु त परै जाओस्, जीविकोपार्जनका लागि उनीहरूलाई समेत ज्यालामजदुरीमा लगाउनुपर्ने बाध्यता रहेको लच्छुमानका दाजु चन्द्रबहादुर राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो जग्गाको खेतीको आम्दानीले तीन महिना पनि पुग्दैन । बाँकी समय ज्यालामजदुरी गरेर बाँच्नुपरेको छ ।’ परिवर्तनको मूल्य चुकाउने यो परिवार अझै पनि आधारभूत सेवा-सुविधा र सम्मानको पर्खाइमा छन् । अब हुने निर्वाचनका उम्मेदवारले आफ्ना कुरा बुझ्छन् कि भन्ने आशामा त्यो परिवार पर्खिरहेको छ ।

लच्छुमानले सहादत प्राप्त गरेसँगै परिवारमा आठ दाजुभाइमध्ये पाँचजनाको निधन भइसक्यो । अब तीन दाजुभाई बाँकी छन् । सातमध्ये ६ जना दिदीबहिनी हुनुहुन्छ । उहाँहरू सबैको विवाह भइसक्यो । लच्छुमानकी आमा मानकुमारी नातिनातिनासहित ४१ जनाको अभिभावक हुनुहुन्छ । यति ठुलो परिवारमा कक्षा १२ उत्तीर्ण एकजना पनि छैन । शिक्षा र स्वास्थ्य अवस्था निकै कमजोर छ । सरकारी र निजीतर्फको स्थायी रोजगारीमा कोही पनि हुनुहुन्न । ‘सहिद परिवारको एकजना सदस्यले रोजगारी पाउने भन्ने सुनेका छौँ,’ लच्छुमानका दाइ चन्द्रबहादुर भन्नुहुन्छ, ‘हाम्रा परिवारका केहीले गाडी चलाएर खर्च पुयाउँदै आएका छौँ । बाँकी खेती–किसानी र ज्याला–मजदुरी गर्छौँ । जानेको सिप केही छैन । पढाइ कसैको छैन । राज्यले केही गरिदिए हाम्रा लागि राम्रो हुनेछ ।’

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन-जेड (जेन-जी) युवाको आह्वानमा काठमाडौँमा भएको भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा लच्छुमान सहिद हुनुुभयो । आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिएको बलिदानलाई पत्याउन नसक्नुभएकी आमाको मनमा अझै पनि छोरा घर फर्कने आशा बाँकी छ । घरमा पुग्ने जो-कोहीलाई ‘लच्छु बोल्न थाल्यो’ भन्ने आशामा मन तानिन्छ । अनि टक्क रोकिएर सम्हाल्न पुग्नुहुन्छ, ‘बाबु त देशका लागि बोल्दाबोल्दै कहिल्यै नबोल्ने भइसक्यो ।’

जेन-जी सहिदको सूचीमा रहेका लच्छुमान नुवाकोट जिल्ला, पञ्चकन्या-२, कविलास, कठेरीका हुन् । उनकी ९० वर्षीया आमा मानकुमारीको अन्तिम आशा छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैका लागि राम्रो होस् ।’ कठेरीस्थित आफ्नै परिवारका आठ-दश घरले भरिएको बस्तीको बिचमा, भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति-नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने साहरा भने उहाँ अर्थात् कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो ।

पहिलो दिनको काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा राज्यबाट गरिएको बर्बर दमनको भोलिपल्ट भदौ २४ को विरोधमा लच्छुमान गम्भीर घाइते हुनुभयो । टाउकोमा गोली लागेर ढल्नुभएका उहाँलाई कसले ट्रमा सेन्टर पु¥यायो थाहा छैन । अस्पताल पुग्दा उहाँको होस नै थिएन । अन्तिम बोली कति वेला अवरुद्ध भयो थाहै भएन । त्यहीकारण घरपरिवारमा खबर आउन चार दिन लाग्यो । उहाँ घाइते भएको अपुष्ट खबर घरमा भदौ २७ गते साँझ आयो । भोलिपल्टै अस्पताल पुग्नुभएकी आमाले क्षतविक्षत बनेको छोराको अनुहार हेर्न सक्ने अवस्था थिएन । च्याप्प खुट्टा समातेर भन्नुभयो, ‘यो त लच्छु हो ।’ सुमसुम्याउँदै छोरालाई अङ्गाल्न खोज्नुभएकी मानकुमारीलाई रोक्दै चिकित्सकले आश्वस्त पार्दै भन्नुभयो, ‘आमा, तपाईंको छोरालाई केही दिनमा ठिक हुन्छ, अनि मात्र…।’ यही आश्वासनका कारण उहाँले आजसम्म छोराको बलिदानलाई पत्याउन सक्नुभएको छैन । उहाँलाई छोरा ठिक हुने त्यो ‘केही दिन’ कहिल्यै आएन । अन्ततः असोज १३ गते फूलपातीका दिन लच्छुमानले यो संसार सधैँका लागि छाड्नुभयो । साधारण लेखपढ मात्रै गर्नुभएका लच्छुमान सानै उमेरदेखि अन्याय र अत्याचारका विरुद्ध असाधारण साहसका साथ उभिनुहुन्थ्यो । न्याय, समानता र परिवर्तनप्रतिको उहाँको चेतना गहिरो थियो । घरको कमजोर आर्थिक अवस्था, आम्दानीको स्थायी स्रोतको अभावपछि उहाँ आठ वर्षअघि राजधानी काठमाडौँ छिर्नुभयो । उमेरले ९० पार, तर नागरिकतामा ८२ वर्ष उल्लेख गरिएकी आमा मानकुमारीलाई छोराले काठमाडौँ किन गएको भन्ने प्रश्नको उत्तर कहिल्यै दिनुभएन । उहाँले सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, ‘पछि राम्रो हुन्छ है, आमा ।’ छोराको यही वाक्यमा भरोसामा जीवन कटाइरहनुभएकी उहाँले अहिले सोध्नुहुन्छ, ‘अब राम्रो कहिले हुन्छ होला ।’

सात-सातजना छोराछोरीपछि अर्थात् १५औँ सन्तानको रूपमा जन्मेका लच्छुमान परिवारको कान्छा सदस्य थिए । मेलापर्म र ज्याला-मजदुरी गरेर घर चलाउँदै आउनुभएका उहाँ विसं २०७२ को भूकम्पको पुनर्निर्माण कार्य सम्पन्नपछि गाउँघरमा गुम्दै गएको रोजगारी र विवाहपश्चात् थपिएको आर्थिक जिम्मेवारीले विदेशको यात्राको तयारीमा हुनुहुन्थ्यो । बाध्यताले विदेशको बाटो देखाए पनि मन भने मानिरहेको थिएन । दाजुभाइसँगको सल्लाहमा उहाँले परिवारको उज्ज्वल भविष्य र रोजगारीको खोजीमा श्रीमती र छोरीसहित काठमाडौँमै ज्याला-मजदुरीमा रमाउनुभयो । निर्माण क्षेत्रमा ज्याला-मजदुरी गरेर पाउने आम्दानीले घर खर्च चलाउनु उहाँको बाध्यता थियो । बुबाआमाको दुःखमा हुर्कनुभएका उहाँले जति गर्नुपर्ने दुःख आफू गरेर हुर्कँदै गरेकी आफ्नी छोरी र अनि यो देशका सन्ततीले भने त्यस्तो दुःख कहिल्यै पाउन नपरोस् भन्ने चाहनुहुन्थ्यो । यही सपना पूरा गर्न पारिवारिक जिम्मेवारीको आर्थिक भारले थिचिए पनि अन्यायको विरुद्ध आवाज उठाउन समय मिल्नासाथ उहाँ यस्तै अवसरको खोजीमा लाग्नुहुन्थ्यो । इन्द्रायणी मावि पञ्चकन्या-१, बानियाँटारका प्रधानाध्यापक कुमार पाठकले भन्नुभयो, ‘गत भदौको जेन-जी आन्दोलन उहाँको ती लक्ष्य र सपनाका लागि योगदान गर्ने अवसर बन्यो, परिवर्तनका लागि उहाँको बलिदानीमा राष्ट्रले गर्व गरेको छ ।’

जसको सुख र भविष्यका लागि उहाँ कठोर परिश्रम गर्नुहुन्थ्यो त्यसैले नै बिचबाटोमै छाडेर गयो, उहाँको मनमा त्यही गहिरो चोट परेको थियो । उहाँका आँखामा सपना धेरै थिए । त्यसमध्ये ती सपनाको मूल केन्द्रमा श्रीमतीको साथ र छोरीको उज्ज्वल भविष्य थियो । दुर्भाग्यवश, काठमाडौँ पसेको दुई वर्ष नपुग्दै श्रीमती छोरीसहित अर्कैसँग विवाह गरेर गइन् । त्यसपछिका दिनमा पनि लच्छुमानमा छोरीप्रतिको माया भने कहिल्यै कम भएन । वृद्ध आमाको सेवा र पालनपोषणको जिम्मेवारी पूरा गर्दै, जीवनलाई नयाँ आशा र परिकल्पनामा अघि बढाउँदै, आफ्ना सम्पूर्ण दुःख मौन रूपमा दैनिक ज्याला-मजदुरीमा पोखिरहनुभएको थियो । पीडामाथि संयम र सपनामाथि विश्वास राख्दै जीवन बाँच्नुभएका लच्छुमानको जीवन, आज परिवर्तनको आन्दोलनमा समर्पित एउटा बलिदान बनेको छ । बाँच्ने दिन गनेर बस्नुभएकी वृद्ध आमा र साथीभाइले लच्छुमानलाई अर्को विवाहका लागि बारम्बार आग्रह दिइरहन्थे । तर, उहाँले ती सबै प्रस्ताव अस्वीकार गर्दै आफू, परिवार र देशमा न्याय र परिवर्तनको पक्षमा अडिग रहने निर्णय लिनुभयो । ‘श्रीमती त गइन्, तर छोरी त मेरो रगत हो’ भन्ने भावनाले भरिएको उहाँको मनमा छोरीलाई आफैँ हुर्काएर असल मान्छे बनाउने दृढ चाहना थियो । त्यसै अठोटमा उहाँले आफ्नो बैँसलाई थाती राख्दै उज्ज्वल भविष्यको सपना बुन्दै, व्यक्तिगतभन्दा सामूहिक भलोमा समर्पित गर्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह