धुन्चे । झन्डै ६ महिनापछि गत पौष १७ गतेबाट रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । सीमा सुरक्षा पोस्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिरहेका छन् ।
चालू आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएको हो । स्याउ, तयारी कपडा, लसुन, सवारीसाधनका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री, मेडिकल सामग्री बोकेका एक सय भन्दा बढी मालवाहक कन्टेनर नेपाल भित्र्सिकेका छन् । अघिल्लो बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै डेढ सय भन्दा बढी कन्टेनर मालसामान नेपाल भित्रिएको र तयारी सामग्री जाँचपास प्रक्रिया पूरा गरी पठाउने गरेको भन्सार कार्यालयका प्रवक्ता ठाकुर गौतमले जानकारी दिनुभयो । बिग्रने वस्तुमा पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपछि लाखौँ राजस्व दाखिला भएकोसमेत उहाँले बताउनुभयो ।
चीन-नेपाल जोड्ने ल्हेन्दे खोलाको पक्की पुल गत असारको बाढीले बगाएसँगै करिब ६ महिनादेखि रसुवागढी नाका ठप्प हुँदा व्यापार-व्यवसाय, सरकारी राजस्व र स्थानीयवासीको रोजीरोटी गुमिरहेको थियो । बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका गत असार २४ गतेदेखि ठप्प थियो । गत भदौ २७ देखि सुरू भएको पुलको लम्बाइ ९१ मिटर र भारबहन क्षमता ५५ टनबराबर रहेको छ । रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षमा रू. ४० अर्ब १६ करोड राजस्व सङ्कलनको लक्ष्य राखे पनि नाका ठप्प रहेकाले उक्त लक्ष्य भेट्न नसक्ने भएको छ । बाढीअघि रसुवागढीबाट दिनको सय हाराहारी कन्टेनर पारि जाने र त्यति नै सङ्ख्यामा सामान लिएर वारि आउने गर्थे । लामै समय नाका बन्द हुँदा स्थानीयवासीको रोजीरोटीसमेत गुमेको गोसाइँकुण्ड-२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताउनुभयो । धेरैजसो विद्युतीय सवारीसाधन यही नाका हुँदै भित्रिन्थे । नाका बन्द भएपछि अहिलेसम्म (पुससहित) करिब रू. २१ अर्ब राजस्व गुमेको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले जनाउनुभयो । नाका बन्द भएपछि अन्य नाकाबाट थोरै मालवाहक सवारी नेपाल भित्रिए पनि रसुवा नाकाको राजस्व सङ्कलनमा ठुलो प्रभाव नपारेको उहाँको भनाइ छ ।






प्रतिक्रिया