विदुर । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती प्रथम एकीकरण भूमि नुवाकोटमा विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । विसं १७७९ पुस २७ गते जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटसहित उक्त दिन देशभर राष्ट्रिय उत्सवका रूपमा मनाइयो । सो दिन सरकारले सार्वजनिक बिदासमेत दिएको थियो ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियान नुवाकोटबाट विसं १८०१ असोज १५ गते विजयपश्चात् सुरु गर्नुभएको चियो । पृथ्वीनारायणले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै विदुर-२ नुवाकोट भैरवी मन्दिरपरिसर शीतलपाटीमा रहेको उहाँको सालिकमा माल्यार्पण गरी विदुर-५, देवीघाटस्थित उहाँको समाधिस्थलमा कार्यक्रम भएको थियो । दुवै कार्यक्रम वरिष्ठ संस्कृतविद् डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, विदुर-२, ४ र ५ का वडाध्यक्ष, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा संस्कृतविद् डा. गुरुङले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार पृथ्वीनारायणले तयार पारेकाले विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक हुन पुगेको बताउँदै देशको रक्षाका लागि कुनै पनि हालतमा राष्ट्रिय एकतालाई बिर्सनु नहुनेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल एकीकरणका क्रममा प्रयोग भएको गोरखा-काठमाडौँ एकीकरणमार्ग पदयात्रा टोलीलाई गत बुधबार, बिहीबार नुवाकोटमा स्वागत गरी शुक्रबार ककनीबाट काठमाडौँका लागि बिदाइसमेत गरिएको थियो । नेपाली सेनाको अगुवाइ र व्यवस्थापनमा गोरखाबाट सुरु भएको पदयात्रा आइतबार काठमाडौँमा भएको कार्यक्रममा समापन गरिएको थियो । पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिला खडा भएको पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, पुरानो गोरखा तथा सबुज) को झन्डा र ज्योतिसहित ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहित सेना र स्थानीयवासीको टोलीलाई नुवाकोटमा स्वागत र सम्मान गरिएको नुवाकोटमा तैनाथ नेपाली सेना, शेर गणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले बताउनुभयो ।
पृथ्वीजयन्ती राष्ट्रिय दिवसका रूपमा धेरैको प्रयासपछि फर्किएको हो । विसं २०६२/०६३ को जनआन्दोलनपछि एउटा समय राजाको नाम सुन्नै नचाहने अवस्था थियो । आन्दोलनकै क्रममा राजाहरूका सालिक ढालिए । त्यही क्रममा देशका धेरै पृथ्वीचोकमा पृथ्वीनारायणका सालिक ढालियो । कतिसम्म भने राजमार्गका नाम फेरेर लोकमार्ग भन्न थालियो । सरकारले वर्षाैँदेखि मनाउँदै आएको पृथ्वीजयन्ती अनायसै मनाउन छाडियो । त्यसपछि पृथ्वीजयन्ती मनाउने एक्लो जिम्मेवारी राजसंस्था पुनस्र्थापनाको मुद्दा लिएको राप्रपाको काँधमा पुगेको थियो । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पनि पृथ्वीजयन्ती मनाउन खासै मन गर्नुभएन । विसं २०६३ मा कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउने निर्णय गरेको थियो । राप्रपाले सुरुदेखि नै सो निर्णयको विरोध गर्दै आएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरङ्कुशताको विरोधमा पूर्वराजाका सालिक निसानामा परेका थिए । दशक लामो सशस्त्र विद्रोहबाट आएको नेकपा (माओवादी)को चाहना पनि पृथ्वीनारायणलाई महत्त्व नदिने थियो । तर, सोही दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री भएका वेला वि.सं. २०७९ देखि पृथ्वीजयन्तीमा पुनः सार्वजनिक बिदा दिन थालियो ।
बडामहाराजाका रूपमा पृथ्वीनारायणलाई एकीकरणयताका पौने तीन सय वर्षसम्म स्मरण गरिँदै आएको छ । तर, पञ्चायतकालसम्म पनि औपचारिक दिवस थिएन । विसं २०४६ को राजनीतिक परिवर्तनपछि बल्ल पृथ्वीजयन्ती राष्ट्रिय दिवसकै रूपमा मनाउन लागिएको हो । शाह वंशको शासनकालमै दरबार, सेना र राज्यस्तरमा पृथ्वीजयन्ती मनाउने चलन सुरु भएको हो । तर, त्यसवेला सार्वजनिक बिदाभन्दा बढी राजकीय/औपचारिक कार्यक्रम केन्द्रित थियो । विसं २०६२/०६३ मा जनआन्दोलन र माओवादी ‘जनयुद्ध’ को रापतापमा झन्डै एक दशक पृथ्वीजयन्ती मनाउन छाडियो । विसं २०७२ को भूकम्पपछि निर्माण गरिएको मुख्यालय भवनमा पृथ्वीनारायणको सालिक राखेर नेपाली सेनाले देशैभर सालिक खडा गर्ने अभियान चलायो । पृतना र ठुला ब्यारेकमा बर्सेनि सालिक राख्न थालियो । विसं २०७२ मै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका वेला तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको पहलमा औपचारिक रूपमा पृथ्वीजयन्ती मनाउन सुरु गरियो । अर्को वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुना साथ सो निर्णय खारेज भयो ।
राष्ट्रनिर्मातालाई सम्मान गर्ने सवालमा भएको यस उतार-चढावलाई राजनीतिशास्त्रका प्रा.डा. जनार्दन आचार्य राजनीतिक अपरिपक्वता बताउनुहुन्छ । ‘गणतन्त्र नेपाल भएपछि सरकारको मान्यताअनुरूप पृथ्वीजयन्ती मनाउन छोडिएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यस समयमा शाहको योगदानबारे राजनीतिक नेतृत्वले बुझेन ।’ अन्य देशका राजाजस्तो नेपालका राजा क्रूर शासक नभएको आचार्यको टिप्पणी छ । ‘अन्य देशका राजाका गतिविधि पनि देखे होलान्, बुझे होलान्,’ उहाँ भन्नुहुन्छ, ‘हाम्रा देशका राजा सम्मान गर्नलायकका छन्, उनीहरूको योगदान बुझेर शाहप्रति सम्मान गर्न फर्के होलान् जस्तो लाग्छ ।’ पछिल्लो समय सबै नेपालीमा राष्ट्रप्रेमको भाव बढेको इतिहासकार महेशराज पन्त बताउनुहुन्छ । ‘हामी नेपाली हुनका लागि पनि त केही आधार चाहिएको छ, त्यो आधार भनेकै राष्ट्रनिर्माता शाह हुन्,’ उहाँले भन्नुभयो, ‘नत्र नेपाल भारत वा कसैको भूमिमा हुन्थ्यो, त्यो बल्ल बुझे नेपाली जनताले ।’ इतिहास कहिल्यै भुल्न नहुने उल्लेख गर्दै उहाँ थप्नुहुन्छ, ‘राजतन्त्रबाट खोसेर गणतन्त्र ल्याइएको हो । गणतन्त्र आउँदैमा नेताहरूले इतिहास मेट्नसमेत लागे । इतिहास कसैले मेट्न सक्दैन, फरक यत्ति हो, ढिलै भए पनि महत्त्व बुझे ।’






प्रतिक्रिया