+
Search

ताजा अपडेट +

पपुलर +

साँघु सहकारीको अध्यक्षमा अमात्य चयन

साँघु सहकारीको अध्यक्षमा अमात्य चयन
त्रिशूली प्रवाह
१ महिना अगाडी

त्रिशूलीबजार । विसं २०६६ असोजमा दर्ता भई स्थापना भएको साँघु बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा अजर अमात्यलाई सर्वसम्मत चयन गरेको छ । अमात्य यसभन्दा अगाडि संस्थाका उपाध्यक्ष हुनुहुन्थ्यो । चारवर्षे कार्यकालका लागि अमात्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सभाबाट सञ्चालक समितिको उपाध्यक्षमा गोपालकृष्ण घले, सचिवमा सुजनरत्न बज्राचार्य, कोषाध्यक्षमा सरिता जोशी, सदस्यमा सीता तामाङ, विजय श्रेष्ठ, प्रितम शाक्य, राधिका नापित, मिनु चित्रकार, प्रकाश बोगटी, रमिता बज्राचार्य चयन हुनुभएको छ । एक पदमा एकजनाको मात्र उम्मेदवारी परेकाले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सात सदस्य सर्वसम्मत भएको जानकारी निर्वाचन समितिले दिएको छ । लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिलीप शाक्य र सदस्यमा अञ्जली राजभण्डारी, मोहम्मद आलम निर्वाचित हुनुभएको छ ।

निर्वाचनअघि साधारणसभाको उद्घाटन अध्यक्ष कुमारलाल मलेकु श्रेष्ठको सभापतित्वमा जिल्ला सहकारी सङ्घका अध्यक्ष शिवप्रसाद अधिकारीले गर्नुभएको थियो । सो सभामा सेयर सदस्य तथा किस्पाङ गाउँपालिका उपाध्यक्ष सीता तामाङ, नुवाकोट जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घका अध्यक्ष इन्द्रमणि गैरेलगायतको उपस्थिति रहेको थियो । सभामा एसइईमा उत्तीर्ण सेयर सदस्य जितेन्द्र राजभण्डारी तथा अञ्जली राजभण्डारीका सुपुत्र अनेककुमार राजभण्डारी, प्रकाश बोगटीकी सुपुत्री प्रशंसा बोगटी, प्रवीणराज श्रेष्ठका सुपुत्र पुनीतराज श्रेष्ठ, सुजनरत्न बज्राचार्यकी सुपुत्री सुलेखा बज्राचार्य, राजनलाल श्रेष्ठ र सविना राजभण्डारीकी सुपुत्री अमृता श्रेष्ठलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा कर्मचारी अस्मिता तामाङलाई सम्मान गरिएको बताइएको छ । सहकारीले आव २०८१/०८२ मा रु.आठ करोड २५ लाख २० हजार दुई सय चार निक्षेप सङ्कलन गरी रु.सात करोड ८७ लाख ५० हजार नौ सय १६ बचत फिर्ता गरेको थियो । सोही आवमा रु.दुई करोड १७ लाख ४८ हजार पाँच सय कुल कर्जा लगानी गरी रु.एक करोड ९८ लाख २४ हजार पाँच सय ९० असुली गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । अघिल्लो सहकारी रु.६५ लाख ८० हजार एक सय ५५ आम्दानी गरेकोमा गत वर्ष आम्दानी घटेको छ । गत वर्ष सहकारीले रु.७० लाख ४० हजार चार सय ६७ कुल आम्दानी गर्दा मुनाफा सबै खर्च कटाएर रु.७५ हजार ३७ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह