विदुर । नुवाकोट जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार सात सय ३८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । प्रतिनिधि सदस्य निर्वाचनमा सहजताका लागि यहाँ जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक सय ७९ र सशस्त्र प्रहरी बल कार्यालय नुवाकोटले एक हजार नौ सय १७ जना गरेर एक हजार सात सय ३८ जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । माघ १ गतेसम्म तोकेको म्यादभित्र आवश्यक सङ्ख्यामा निवेदन नआएपछि तिन दिन म्याद थप गरिएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि-२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिन सक्नेछन् । दरखास्त जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको कार्यालयमा दिन सकिनेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक उम्मेदवार हुन सक्नेछन् । निर्वाचन प्रहरीका लागि प्रतिदिन रु.आठ सय ६९ पैसा ४० दिनको एकमुस्ट रु.३४ हजार सात सय ७६ पाउनेसमेत बताइएको छ ।






प्रतिक्रिया