+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दै

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दै
त्रिशूली प्रवाह
२ दिन अगाडी

विदुर । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति नुवाकोटका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्योपचारमा सहज पहुँच स्थापित गर्नका लागि सुरु गरिएको कार्यक्रमबाट जिल्लाका कुल जनसङ्ख्याका ३५ प्रतिशत नागरिकले सेवा लिइरहेका छन् ।

स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय नुवाकोटका संयोजक रोशन बरालले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ विसं २०७७ जेठदेखि बिमा दर्ता कार्य प्रारम्भ भई मङ्सिरदेखि सेवा सुरुवात गरिएको जानकारी दिनुभयो । जिल्लाको १२ वटै पालिकाको हरेक वडाका वर्षभरि दर्ता सहकारीमार्फत स्वास्थ्य बिमा सदस्यता दर्ता/नवीकरण सेवा ८८ वडामध्ये ८१ मा दर्ता सहयोगी सक्रिय रहेको जनाइएको छ । नुवाकोटका ३१ हजार एक सय ३० परिवारका ९१ हजार नौ सय ९२ व्यक्ति बिमामा आबद्ध भइसकेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १२ पालिकामध्ये ककनीमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्धता सर्वाधिक र दुप्चेश्वरमा कम देखिएको छ । ककनीको ७३.९ प्रतिशत परिवार, ६७.९ प्रतिशत जनसङ्ख्या जोडिएका छन् भने दुप्चेश्वरमा १३ प्रतिशत परिवार र ६.३ प्रतिशत जनसङ्ख्या मात्र आबद्ध भएका छन् । ककनीको दुई वडामा काठमाडौँ महानगरपालिकाले फोहोर मैलाको डम्पिङ साइड रहेकोले पूरै वडावासीको बिमा गरिदिएकाले सर्वाधिक बिमा भएको पालिका प्रमुख सुमन तामाङले बताउनुभयो । जिल्लाको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई लाख ६३ हजार तीन सय ९१ मध्ये आव २०८१/०८२ को असार मसान्तसम्म ९१ हजार नौ सय ९२ बिमामा आबद्ध हुँदा ३४.९२ प्रतिशत पुगेको छ । ६८ हजार ६ सय ७९ परिवारको सङ्ख्या रहेको नुवाकोटमा गत आवको अन्त्यसम्म ३२ हजार पाँच सय आठ आबद्ध हुँदा जनगणनाअनुसार परिवार सङ्ख्याको ४७.३३ प्रतिशतसम्म आबद्धता भएको छ । त्रिशूली अस्पताल, देउराली प्राथमिक स्वास्थ्य केन्द्र, खरानीटार अस्पताल र ककनी स्वास्थ्य केन्द्र सेवा प्रदायक संस्था रहेका छन् । जिल्लाको दुप्चेश्वरको १, २, ४ र ७ वडा, म्यागङको १, तादीको १ र ६ वडामा दर्ता सहयोगी नियुक्त हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य बिमाका अन्य व्यवस्थाअन्तर्गत रु.एक लाखसम्मको आठ प्रकारको जटिल रोगमा चालू आवदेखि उपलब्ध गराइएको छ । बिमाले क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेडइन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोगमा उपचारका लागि थप रु.एक लाखको सुविधाको व्यवस्था गरेको छ । सीमित सूचीकृत सेवा प्रदायक स्वास्थ्य सङ्ख्या र बहुसाङ्ख्यिक स्थानीय तहमा प्रथम सेवाविन्दु नभएकाले बिमाप्रति नागरिकको रुचि कम भएको विदुर-७ का वडाध्यक्ष रवीन्द्र नेपालले बताउनुभयो । स्वास्थ्य बिमा ऐनको मर्मअनुसार स्थानीय स्वास्थ्य बिमा संयोजन समिति सक्रिय भई कार्य नगरेकाले पनि सबै नागरिकको पहुँच पुग्न सकेको छैन । त्यसैगरी, सेवाग्राहीले अनावश्यक रूपमा स्वास्थ्य सेवाको प्रयोग र रोग निदान उपचार र पे्रषण सेवामा दबाब दिने प्रकृति र नागरिकलाई स्वास्थ्य बिमाको महत्त्व बुझाउन नसकेको कारण आबद्ध हुने बिमितको सङ्ख्या जुन रूपमा बढ्नुपर्दथ्र्यो, त्यो बढ्न नसकेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह