बट्टार । विदुर-२, बट्टार नुवाकोटमा रहेको गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्षमा पुनः इन्द्रबहादुर पण्डित चयन हुनुभएको छ । शनिबार सहकारीको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्षमा पण्डित सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचनमण्डलका संयोजक अधिवक्ता नवदीप श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनबाट उपाध्यक्षमा राजेन्द्रबहादुर प्याकुरेल, सचिवमा सन्तोष उप्रेती, कोषाध्यक्षमा लक्ष्मी प्रधान र सदस्यमा गरिमा पाण्डे, मीनबहादुर श्रेष्ठ, राजेन्द्र पाण्डे, गंगालाल श्रेष्ठ, श्याम अमात्य निर्वाचित हुनुभएको छ । त्यसैगरी, लेखा समिति संयोजक दीपेश श्रेष्ठ र सदस्यमा ऋषि रिजाल, विश्वरूप श्रेष्ठ चयन हुनुभएको छ । सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यमा एक-एकजनाको मात्र उम्मेदवारी परेकोले कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक श्रेष्ठले बताउनुभयो । निर्वाचनअघि भएको सभामा प्रस्तुत गत आवको आय-व्यय र चालू आव २०८२/०८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत भएको थियो । प्रस्तुत प्रस्ताव सभाको हलबाट पारित भएको व्यवस्थापक हरिवंश ढकालले जानकारी दिनुभयो । सहकारी एकीकरण र सहकारीले जग्गा खरिद-बिक्री गर्ने प्रस्ताव सभाबाट पारित भएको छ । सचिव सुकुमान डङ्गोलले सञ्चालन गर्नुभएको कार्यक्रममा असल बचतकर्ता विदुर-४, बट्टारका देवराज सिलवाल, असल ऋणी विदुर-९, कोलनीका सन्तमाया सुनुवारलाई नगद रु.दुई-दुई हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, सहकारीले कार्यक्षेत्रभित्रका महिलालाई समेटी समूह बनाई बचत तथा ऋण परिचालन कार्यक्रम सञ्चालन गरिरहेको छ । ती समूहमध्ये आव २०८१/०८२ मा उत्कृष्ट कारोबार गर्नेमा पहिलो सरस्वती निर्धन उत्थान समूह, दोस्रो शिवशक्ति निर्धन उत्थान समूह र तेस्रो कालिका निर्धन उत्थान समूह भएका छन् । ती समूहमध्ये पहिलोलाई रु.पाँच हजार, दोस्रोलाई रु.चार हजार, तेस्रोलाई रु. तीन हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । विसं २०५८ मङ्सिर ११ गते स्थापना भएको ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टार र विसं २०६६ असार ३ गते स्थापना भएको चौतारी बचत तथा ऋण सहकारी संस्था लि. विदुरबिच विसं २०७७ फागुनमा एकीकरण भएपछि यो दोस्रो निर्वाचनबाट सञ्चालक समिति चयन भएको छ । सहकारीमा गत आव २०८१/०८२ असार मसान्तसम्म तीन हजार सात सय ५० सेयर सदस्य, रु.तीन करोड ५० लाख ६४ हजार चार सय सेयर पुँजी रहेको जानकारी गराइएको थियो । गत आवमा सहकारीले सदस्यबाट रु.३३ करोड ९८ लाख १८ हजार सात सय चार बचत सङ्कलन गरी रु.११ करोड ८१ लाख ७२ हजार चार सय ४६ बचत फिर्ता गरी रु.१३ करोड २२ लाख २५ हजार तीन सय कर्जा लगानी रु.आठ करोड ९० लाख १७ हजार नौ सय ६६ कर्जा असुल गर्न सफल भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।






प्रतिक्रिया