काठमाडौँ । त्रिशूली-काठमाडौँ समाजको अग्रसरतामा काठमाडौँको नयाँबजारमा १८ वर्षदेखि सञ्चालित त्रिकास बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक साधारणसभामा आर्थिक तरलताबारे छलफल भएको छ । सोह्रखुट्टे, नयाँबजार, लिङ्करोड, काठमाडौँस्थित रोडियो रेस्टुरेन्टमा शनिबार सम्पन्न सभाको उद्घाटन सल्लाहकार नारायणमान मानन्धरले गर्नुहुँदै सहकारीमा देखिएको आर्थिक तरलतालाई समयमै ध्यान दिन सुझाव दिनुभयो । सेयर सदस्यले पनि सभामा आर्थिक तरलतालाई व्यवस्थापन गर्नुपर्नेमा सुझावसहित जोड दिएका थिए ।
सभामा सहकारीका अध्यक्ष अनिलकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन र भावी निजी तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा रु.१६ करोड ९६ लाख २४ हजार चार सय नौको कारोबार गरेको छ । अघिल्लो आवमा सहकारीको रु.१५ करोड ५२ लाख ९५ हजारको कारोबार गरेको थियो । यस्तै सहकारीको अघिल्लो आवमा रु.दुई करोड १७ लाख सेयर पुँजी रहेकोमा गत आव २०८१/०८२ मा रु.दुई करोड १७ लाख ९६ हजार कायम भएको छ । चार सय ४३ जना सेयर सदस्य र सहकारीको कार्यक्षेत्र काठमाडौँ महानगरपालिका वडा नं.१६, १९, १५, २६ र २ मा रहेको छ । गत आर्थिक वर्षमा रु.४१ करोड ९१ लाख ३६ हजार निक्षेप सङ्कलन गरेकोमा रु.४० करोड ४७ लाख ७८ हजार भुक्तानी गरेको छ । सहकारीमा आव २०८१/०८२ मा रु.१३ करोड ४२ लाख ९७ हजार आठ सय ४२ बचत हुँदा गत वर्षको तुलनामा १०.६९ प्रतिशतले वृद्धि भएको छ । यस्तै, सहकारीले २०८०/०८१ मा रु.नौ करोड ३३ लाख २९ हजार ऋण लगानी गरेकोमा आव २०८१/०८२ मा रु.नौ करोड १७ लाख ९८ हजार ऋण लगानी गरेको छ ।
सहकारीको आम्दानी अघिल्लो आवमा भन्दा गत आवमा घटेको छ । रु.एक करोड ६६ लाख ५७ हजार अघिल्लो आवमा आम्दानी गरेको सहकारीले गत आवमा रु. एक करोड ५८ लाख ४४ हजार आम्दानी गरेको छ । संस्थाले आगामी दिनमा सेयर पुँजीलाई निरन्तर वृद्धि गर्दै लैजाने, संस्थाको आवश्यकताअनुसारको कोष व्यवस्था गर्ने, संस्थाका सदस्यहरूलाई सहकारीसम्बन्धी विस्तृत जानकारीका लागि सहकारीसम्बन्धी सहकारी शिक्षा तालिम आयोजना गर्नेलगायतका अध्यक्ष श्रेष्ठले सभामा प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएको छ । सो सभाले सेयर सदस्यका छोराछोरीमध्ये गत वर्षको एसइईमा उत्कृष्ट हुने दुईजनालाई गर्दै आएको सम्मानलाई निरन्तरता दिने निर्णय गरेको छ ।
कार्यक्रमका विशेष अतिथि त्रिशूली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल श्रेष्ठले सहकारीमा आर्थिक तरलता देखिनु राम्रो सङ्केत नभएको भन्दै लगानीका लागि समयमा नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले ठुला भनिएका सहकारीको बदमासीका कारण साना खालका सहकारी मारमा परेको भन्दै यस्तो कठिन अवस्थामा पनि सहकारीले आफूलाई दुरुस्त र चुस्त राख्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यसलाई अझ स्तरीय, पारदर्शीका साथ सेयर सदस्यको हितमा लाग्न सुझाव दिनुभयो । कार्यक्रममा नुवाकोट पुकारका प्रधान सम्पादक सुकदेव दाहालले सहकारी संस्था समाजको एक ऐना भएकाले यसलाई स्वैच्छिक र स्वायत्त रूपमा अघि बढाउन सके यसले समाज विकासमा ठुलो योगदान पुग्ने बताउनुभयो । व्यवस्थापक विमलचन्द्र प्रधानले सञ्चालन गर्नुभएको सभामा विसं २०८१ को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्य लिनु अमात्य श्रेष्ठका छोरा श्रेयस श्रेष्ठ र छोरी श्रीतिका श्रेष्ठलाई नगदसहित सम्मान गरिएको उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।






प्रतिक्रिया