बट्टार । विदुर नगरपालिका-४, हावाघर, बट्टारमा रहेको साथी उपभोक्ता सहकारी संस्था लिमिटेडले आव २०८१/०८२ मा रू. चार लाख ६२ हजार पाँच सय ५२ नाफा कमाउन सफल भएको छ । शनिबार सहकारीको १६औँ वार्षिक साधारणसभामा रू. चार लाख ६२ हजार पाँच सय ५२ नाफा कमाउन सफल भएको कोषाध्यक्ष रेशमराज अमात्यले सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका निवर्तमान अध्यक्ष राजनमान श्रेष्ठले उद्घाटन गर्नुभएको सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै २०८२/०८३ को अनुमानित बजेट र कार्यक्रम पारित गरेको छ । सहकारीले विगतमा प्रवाह गरेको ऋण असुलीमा समस्या देखिएकाले सहकारीलाई जीवन्त बनाउन ऋण असुलीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रमुख अथिति रहनुभएका निवर्तमान अध्यक्ष श्रेष्ठले सुझाव दिनुभयो । पछिल्लो समय देशमा आर्थिक मन्दी बढिरहेकाले ऋण प्रवाह गर्दा सहकारीले धितो र जमानी हेर्नेभन्दा पनि ऋण लिनेको कारोबारलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शैलेन्द्र बज्राचार्यले सहकारीले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बट्टार टोल सुधार संस्थालाई रु. दुई हजार, पञ्चकन्या मन्दिर निर्माणका लागि रु.पाँच हजार पाँच सय ५५ र अनाथ आश्रमलाई सहयोग गर्दै आएको बताउनुभयो । सहकारीले आउँदो दिनमा उपभोक्तामुखीकरण कार्यका लागि सही वस्तुको चयन गरी वितरण गर्ने लक्ष्य लिएको बताउनुभयो । साधारणसभामा कोषाध्यक्ष अमात्यले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दै सहकारीले रु.चार लाख ६२ हजार पाँच सय ५२ नाफा कमाउन सफल भएको बताउनुभयो ।
सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा रु.६ करोड ८३ लाख ४० हजार पाँच सय ५७ निक्षेप सङ्कलन गरी रु. पाँच करोड १४ लाख दुई हजार नौ सय ३२ ऋण लगानी गरेको छ । आगामी दिनमा चुक्ता पुँजी वृद्धि गर्दै रु.एक करोड एक लाख पुर्याउने लक्ष्य सभाले पारित गरेको छ । सभामा सेयर सदस्यमा प्रवाह भएको ऋण उठाउन विशेष अभियान थालनी गर्न सहभागीले जोड दिएका छन् । प्रवाह भएको ऋण उठाउन नसके संस्थामा समस्या देखिन सक्ने भन्दै ऋणीलाई समयकै कर्जा तिर्न आह्वान गर्ने निर्णयसमेत साधारणसभाले गरेको छ । सभामा गत वर्षको एसइई परीक्षामा सेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण गर्ने सेयरधनीका छोराछोरी अर्नप राजभण्डारी, संयम बज्राचार्य र अमृता श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा सहकारीमा गत आवमा उत्कृष्ट कारोबार गर्ने राजकुमार थापामगर र उत्कृष्ट ऋणको कारोबार गर्ने अनिता तामाङलाई समेत सम्मान गरेको थियो । विसं २०६४ मा स्थापना भएको सहकारीमा आर्थिक वर्ष २०८१/०८२ सम्ममा पाँच सय ८६ जना पुरुष र तीन सय ७६ गरी सदस्य सङ्ख्या नौ सय ६२ रहेको बताइएको छ ।






प्रतिक्रिया