कविलास । पञ्चकन्या गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ मा नवसञ्जीवनी माध्यमिक विद्यालय विजेता बनेको छ । पञ्चकन्या-२ रहेको कालिका माध्यमिक विद्यालयको खेलमैदानमा पुस १८ गते गत शुक्रबारदेखि सोमबारसम्म सञ्चालित प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको थियो । सहभागी विद्यालयमध्ये नवसञ्जीवनी माविले १० स्वर्ण, चार रजत र दुई कांस्य पदक प्राप्त गरी यस वर्षको रनिङ सिल्डको उपाधि जितेको हो ।

पालिकाले दिएको जानकारीअनुसार नौ स्वर्ण, चार रजत र सात कांस्यसहित इन्द्रायणी माध्यमिक विद्यालय द्वितीय, पञ्चकन्या माध्यमिक विद्यालयले दुई स्वर्ण, तीन रजत र पाँच कांस्य प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ । प्रतियोगिता समापन समारोह गाउँपालिका सामाजिक विकास समितिका संयोजक रामबाबु पराजुलीको सभाध्यक्षता र पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यमा विधागत रूपमा विजेता विद्यार्थी र विद्यालयलाई गाउँपालिकाबाट प्रमाणपत्र, मेडल, ट्रफी र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लिने गरिएको छ । स्थानीय तहस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडी विद्यार्थी जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये किस्पाङ, लिखु, तादी, दुप्चेश्वरले यसअघि नै प्रतियोगिता सम्पन्न गरिसकेका छन् । सबै पालिकास्तरीय प्रतियोगिता सम्पन्न भइसकेपश्चात् जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्ने बताएको छ । जिल्लास्तरीय प्रतियोगिताको मिति तोक्नै बाँकी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरूङले बताउनुभयो ।






प्रतिक्रिया