+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला कारागारमा बाल सुधार केन्द्र स्थानान्तरणको तयारी

जिल्ला कारागारमा बाल सुधार केन्द्र स्थानान्तरणको तयारी
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्ला, विदुर नगरपालिका-६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने मन्त्रिपरिषरद् निर्णय कार्यान्वयनमा समस्या भएसँगै स्थान परिवर्तन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसहित नुवाकोटका जिल्ला सुरक्षा समितिका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारवालाको गत महिना भएको संयुक्त अनुगमनपश्चात् बाल सुधार केन्द्र केन्द्रीय कारागारबाट स्थानान्तरण सुरु गरिएको हो ।

गत पुस ३ गते मन्त्रिपरिषद्ले केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरे पनि उक्त स्थानमा बाल अधिकारका तोकिएका मापदण्ड पूरा गर्न सक्ने अवस्था नभएसँगै जिल्ला कारागारको खाली भएको विदुर-१, ढुङ्गेको भवनमा केन्द्र स्थापनाका लागि तयारी गरिएको छ । केन्द्रीय कारागारमा ब्लक प्रवेशको एकमात्र द्वार भएको, कैदीबन्दीका लागि खटिएका सुरक्षाकर्मीको घेराभित्र नै उक्त ब्लक कायम रहेको, ब्लकभित्रको संरचना कैदीबन्दी प्रयोजनका लागि निर्माण गरिएको हुँदा बालबिज्याइँकर्ता राख्न उक्त स्थान उपयुक्त नभएको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भक्तपुरलगायतका जिल्लाका बालबिज्याइँकर्ता राख्न स्थान अभाव भएकाले तत्कालै नुवाकोट जिल्ला कारागारको खाली भएको भवनलाई स्तरोन्नति गरेर केन्द्र सञ्चालन गर्न लागिएको छ । त्यसका लागि आवश्यक संरचना निर्माण कार्य माघ एकभित्र पूरा गर्न मातहतका सम्बन्धित निकाय उहाँले निर्देशन दिनुभयो ।

‘बाल सुधार केन्द्रको सुरक्षामा हातहतियारविनाका सादा पोसाकका सुरक्षाकर्मी खटिनुपर्ने हुन्छ, केन्द्रीय कारागारमा त्यो कार्यान्वयन गर्न सम्भव हुने देखिएन,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘बालबालिकाको मानव अधिकारअन्तर्गतका शिक्षा, स्वास्थ्य उपचारलगायतका मापदण्ड पूरा गर्न केन्द्रीय कारागारमा तत्कालै उपलब्ध गराउन सक्ने अवस्था नभएकाले स्थान्तरण आवश्यक भएको हो ।’ मन्त्रीसहित निरीक्षण टोलीमा विदुरको नगरप्रमुख राजन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईं, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, केन्द्रीय कारागार कार्यालय र सघन सहरी तथा भवन निर्माण योजना कार्यालय धादिङका प्रमुखलगायत सरोकारवाला सहभागी थिए ।

नुवाकोट कारागारमा रहेका कैदीबन्दी विसं २०८१ भदौ १५ मा केन्द्रीय कारागार सञ्चालनमा आएसँगै स्थानान्तरण गरिएकाले उक्त स्थानमा खाली भएका ब्लकलाई बालबिज्याइँकर्ता राख्न बाल सुधार केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । यससम्बन्धी आवश्यक निर्णय सम्बन्धित निकायबाट गराउने मन्त्रीबाट प्रतिबद्धता आएसँगै कार्य प्रारम्भ सुरु भएको छ । आवश्यक संरचना अबको एक महिनाभित्र सम्पन्न गर्दै करिब एक सय ६० बालबिज्याइँकर्ता नुवाकोट ल्याउने योजना रहेको छ । ढुङ्गेस्थित जिल्ला कागागारमा रहेका संरचनाको मर्मतसम्भार एवम् रङरोगन सुरु गर्न मन्त्री श्रेष्ठले सघन सहरी तथा भवन निर्माण योजना कार्यालय धादिङका प्रमुखलाई निर्देशन दिनुभएको छ । त्यसका लागि दिइएको एक महिनामा काम सम्पन्न हुने गरेर अघि बढ्न भन्नुभयो । हाल देशका विभिन्न नौ स्थानमा बालसुधार केन्द्र सञ्चालनमा रहेकाले त्यसमध्ये बालक रहँदा गरेका गल्तीबाट बालबिज्याइँकर्ता ठहरिएर १८ वर्ष उमेर पूरा भएका पुरुष (बालक) लाई नुवाकोटस्थित केन्द्रमा ल्याउन लागिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह