+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सव सुरु

नुवाकोट महोत्सव सुरु
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा विदुर-४, बिन्द्रलादेवी मार्ग, विदुरमा नवौँ महोत्सव सुरु भएको छ । यही माघ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि ढकालले नुवाकोटका प्रख्यात उद्योगी, व्यवसायी, समाजसेवी तथा बुद्धिजीवी, सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारद्वारा लिखित ‘बट्टारको बखान : नुवाकोटको नालीबेली’ शीर्षक कृति लोकार्पण गर्नुभएको थियो ।

महोत्सवमा स्थानीय, घरेलु तथा हस्तकलाका सामग्रीसहित राष्ट्रियस्तर र बहुराष्ट्रिय कम्पनीको उत्पादनका दुई सय ५० स्टल रहेको नुवाकोट महोत्सव सचिवालयले जानकारी दिएको छ । सङ्घले विसं २०६३ देखि सुरु गरेको महोत्सव यसपटक नवौँ संस्करण रहेको सङ्घका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विगतमा विसं २०६३, २०६६ मा पहिलो र दोस्रो शरणउत्सुक सापकोटाको नेतृत्वमा, विसं २०७० मा तेस्रो राजन श्रेष्ठ, विसं २०७३, २०७४, २०७६ मा ताराबहादुर कार्कीको र विसं २०८० मा आठौँ महोत्सव राजेन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भइसकेको प्रचार-प्रसार समितिका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो ।

सङ्घको महासचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै विसं २०४५-०६९ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यसमेत रहनुभएका चित्रकारको संस्मरणात्मक तथा विचारमूलक सो पुस्तकमा नुवाकोटको वर्णन गरिएको छ । नुउवा सङ्घका पूर्वाध्यक्ष चित्रकारको बाल्यकाल, जागिरे जीवन, बट्टार र नुवाकोटका लुकेका इतिहास, खनायोबास र खम्पाकाण्ड तथा सदरमुकाम परिवर्तनका घटना, आफ्नो नेतृत्वमा भएको केरुङ नाका खोल्ने पहललगायत विषय समावेश छन् ।

अंशु बर्माको कैलाशकुट भवन नुवाकोट, कविलासमै हुन सक्ने, साततले दरबार पृथ्वीनारायण शाहले बनाएको नभई मर्मत मात्र गरेको, ‘दिव्योपदेश’ सेरा माडी दरबारबाट दिइएको, बट्टारमा अढाइ वर्ष पुराना ढुङ्गेधारा र पाटीपौवा अझै अस्तित्वमा रहेकोजस्ता रहस्य पनि यसमा खुलाइएको छ ।

चिनियाँ ढाँचाको नमुना पसल ‘नुवाकोट आदर्श विकास केन्द्र, बट्टार, २०२७ स्थापना, बट्टार सिँचाइ आयोजनालगायत अन्य विलुप्त ऐतिहासिक धरोहरको वर्णन पनि ‘त्रिशूली प्रवाह साप्ताहिक’ पत्रिकाबाट प्रकाशित तथा पत्रकार एवम् साहित्यकार श्याम रिमालबाट सम्पादित सो कृतिमा गरिएको छ । कृतिमा लेखकका व्यक्तिगत, पारिवारिक, सामाजिक, वैदेशिक भ्रमणलगायतसँग सम्बन्धित तस्बिर गरी कुल १६८ पेज छन् । नेपाल प्राध्यापक सङ्घका पूर्वाध्यक्ष तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्रा. रामेश्वर उपाध्याय, लंगट सिंह महाविद्यालय, बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालय, मुजफ्फरपुर, बिहार, भारतका सहप्राध्यापक तथा नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारका पूर्वउपप्राध्यापक डा. रविभूषण सिंह, नुउवा सङ्घका संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य र ओलम्पियन खेलाडी सङ्गीना वैद्यको भूमिका पनि कृतिमा समाविष्ट छन् ।

बुधबार आयोजित समारोहमा नेउवा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठ, आधा दर्जन केन्द्रीय कार्यकारिणीका सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, नुउवा सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षद्वय शरणउत्सुक सापकोटा र ताराबहादुर कार्कीलगायतले संयुक्त रूपमा सो कृतिको सामूहिक विमोचन गर्नुभएको थियो । कृतिले लेखक चित्रकारको जीवनी पक्ष मात्र नभई बट्टारलगायत समग्र नुवाकोटको विगत समेटेकाले सबैलाई उपयोगी हुने त्रिशूली प्रवाहका प्रकाशक एवम् सम्पादक शरण उत्सुकले बताउनुभयो । कृतिको मूल्य रू.१५० रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह