विसं २०६२/०६३ को जनआन्दोलनपछि एउटा समय राजाको नाम सुन्नै नचाहने अवस्था थियो । आन्दोलनकै क्रममा राजाहरूका सालिक ढालिए । त्यही क्रममा देशका धेरै पृथ्वीचोकमा पृथ्वीनारायणका सालिक ढालियो । कतिसम्म भने राजमार्गका नाम फेरेर लोकमार्ग भन्न थालियो । सरकारले वर्षाैँदेखि मनाउँदै आएको पृथ्वीजयन्ती अनायसै मनाउन छाडियो । त्यसपछि पृथ्वीजयन्ती मनाउने एक्लो जिम्मेवारी राजसंस्था पुनस्र्थापनाको मुद्दा लिएको राप्रपाको काँधमा पुगेको थियो । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पनि पृथ्वीजयन्ती मनाउन खासै मन गर्नुभएन । विसं २०६३ मा कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउने निर्णय गरेको थियो । राप्रपाले सुरुदेखि नै सो निर्णयको विरोध गर्दै आएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरङ्कुशताको विरोधमा पूर्वराजाका सालिक निसानामा परेका थिए । दशक लामो सशस्त्र विद्रोहबाट आएको नेकपा (माओवादी)को चाहना पनि पृथ्वीनारायणलाई महत्त्व नदिने थियो । तर, सोही दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री भएका वेला विसं २०७९ देखि उनको जन्मदिन पुस २७ गते पृथ्वीजयन्तीका लागि पुनः सार्वजनिक बिदा दिन थालियो ।
बडामहाराजाका रूपमा पृथ्वीनारायणलाई एकीकरणयताका पौने तीन सय वर्षसम्म स्मरण गरिँदै आएको छ । तर, पञ्चायतकालसम्म पनि औपचारिक दिवस थिएन । विसं २०४६ को राजनीतिक परिवर्तनपछि बल्ल पृथ्वीजयन्ती राष्ट्रिय दिवसकै रूपमा मनाउन लागिएको हो । शाह वंशको शासनकालमै दरबार, सेना र राज्यस्तरमा पृथ्वीजयन्ती मनाउने चलन सुरु भएको हो । तर, त्यसवेला सार्वजनिक बिदाभन्दा बढी राजकीय/औपचारिक कार्यक्रम केन्द्रित थियो । विसं २०६२/०६३ मा जनआन्दोलन र माओवादी ‘जनयुद्ध’ को रापतापमा झन्डै एक दशक पृथ्वीजयन्ती मनाउन छाडियो । विसं २०७२ को भूकम्पपछि निर्माण गरिएको मुख्यालय भवनमा पृथ्वीनारायणको सालिक राखेर नेपाली सेनाले देशैभर सालिक खडा गर्ने अभियान चलायो । पृतना र ठुला ब्यारेकमा बर्सेनि सालिक राख्न थालियो । विसं २०७२ मै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका वेला तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको पहलमा औपचारिक रूपमा पृथ्वीजयन्ती मनाउन सुरु गरियो । अर्को वर्ष तत्कालीन माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुनासाथ सो निर्णय खारेज भयो ।
राष्ट्रनिर्मातालाई सम्मान गर्ने सवालमा उतार-चढावलाई राजनीतिशास्त्रका विद्वान्हरू देशको नेतृत्व गर्नेहरूको राजनीतिक अपरिपक्वता भएको बताउँछन् । गणतन्त्र नेपाल भएपछि सरकारको मान्यताअनुरूप पृथ्वीजयन्ती मनाउन छोडिएको थियो । त्यस समयमा शाहको योगदानबारे राजनीतिक नेतृत्वले बुझेनन् । पछिल्लो समय सबै नेपालीमा राष्ट्रप्रेमको भाव बढेको छ । नेपाली हुनका लागि पनि त केही आधार चाहिएको छ, त्यो आधार भनेकै राष्ट्रनिर्माता शाह हुन् । नत्र नेपाल भारत वा कसैको भूमिमा हुन्थ्यो, त्यो बल्ल बुझे नेपाली जनताले ।
आज दार्चुलाको लिम्पियाधुरादेखि झापाको केचनासम्म र कञ्चनपुरको चाँदनी-दोधारादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्मको भू-भागलाई नेपाल भनेर चिनिन्छ, तर गोरखाका राजकुमारको रूपमा पृथ्वीनारायण शाहको जन्म हुँदै गर्दा यस भूगोलमा विभिन्न नामका ६५ भन्दा बढी राज्य थिए । त्यतिवेला नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्रै चिनिन्थ्यो, तर नेपाल उपत्यकाभित्र पनि कान्तिपुर, ललितपुर र भक्तपुर नाम गरेका तीनवटा राज्य थिए । यसको अर्थ हो – त्यतिवेलासम्म नेपाल भन्ने देशको अलग पहिचान समाप्त भइसकेको थियो । छिमेकी मुलुक भारतलाई अङ्ग्रेजले निलिसकेका थिए, एकीकरण गर्न केही वर्ष मात्रै ढिलाइ भएको भए वर्तमान नेपालको सबै भूखण्ड अङ्ग्रेजले भारतमा विलय गर्ने निश्चित थियो । त्यसैले, पृथ्वीनारायण शाहकै कारण आज नेपाल छ, हामी जनताले नेपालीका रूपमा विश्वभर गौरव गर्न पाएका छौँ । हामी आफैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति, सेनापति, मुख्यमन्त्री, पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष आदि विभिन्न पदमा पृथ्वीनारायणले नेपाल एकीकरण गरेर नेपाल बचाएका कारण पुग्न पाएका छौँ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि भव्य रूपमा पुस २७ गते मनाइयो । उनको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस, सरकारी, गैरसरकारी, राजनीतिक दल तथा विभिन्न सङ्घ-संस्था र समूहले विविध कार्यक्रमसहित देशभर मनाए । केही वर्ष बिर्सिएजस्तो भए पनि अहिले उनले नेपाल एकीकरणमा गरेको योगदानको सबैले प्रशंसा गर्न थालेका छन् । नेपालको इतिहासमा महापुरुष भनेर चिनिने आधुनिक नेपाल राज्य निर्माण गर्न आजभन्दा दुई सय ५० वर्षअघि राज्य एकीकरणमा उनले निर्वाह गरेको भूमिका अतुलनीय छ । बहुपहिचान, ठुलो र फराकिलो विशिष्ट अतुलनीय योद्धाका रूपमा अहिले उनलाई सबैले पुज्न थालेका छन् ।
बाबु नरभूपाल शाहको देहान्तपछि २० वर्षको उमेरमा राजा भएपश्चात् उनले गोरखाको सानो राज्यबाट सुरु गरी विभिन्न भुरे-टाकुरे, बाइसे-चौबिसे राज्य-रजौटालाई एक बनाए । छरिएर रहेका तराई, पहाड र हिमाली राज्यलाई फराकिलो भूभागको परिकल्पना गर्दै जनता र राजा एकतामा मिलेपछि अरू हैकमवादीले चियाउनैपर्दैन भन्ने सन्देश प्रवाह गरे, सफल पनि भए । छरिएका राज्यलाई एकीकरणको सूत्रमा बाँधेर एक बलियो आधारका रूपमा हिमाली काखको आधुनिक नेपाल राज्य खडा गर्ने अभियन्ताका रूपमा उनको पहिचान कायम छ । नेपालमा विसं २०६५ देखि गणतन्त्र राज्य घोषणा भएपछि विसं २०७२ असोज ३ गते सात प्रदेशसहितको केन्द्रीय तह, प्रदेश तह र स्थानीय तह गरी तीन तहमा सङ्घीय राज्य स्थापना गरियो । सात प्रदेश पुनर्संरचनासहित सञ्चालनमा आएपछि एकीकरण गर्नेको नाम बिर्सन थालियो ।
केही समय पृथ्वीनारायणको योगदानलाई पनि भुल्ने काम भयो । पछिल्लो समय इतिहास भुल्न हुने रहेनछ भन्ने जिम्मेवारीबोध भयो सबै राजनीतिक दललाई । शासन-सत्ता सुधार्दै जातीय, वर्गीयलगायत कुनै पनि भेदभाव नराखी मानवताका रूपमा जनतालाई सुखसयल सुविधा दिने उद्देश्य राखेर नेपाल एकीकरण गरेको स्वीकार ढिलै भए पनि गर्नु उपयुक्त कदम हो । राजनीतिक दलले गरेको यो निर्णयको सबैले प्रशंसा गरेका छन् । भाइ, भारदार, सेना, प्रहरीलगायत सबै जनताको सहयोग लिएर आधुनिक विशाल नेपाल निर्माण गरेकै कारणले जन्मजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भयो । हिजो पृथ्वीनारायणको भूमिकालाई बेवास्ता गर्नु गलत थियो । उनले नेपाल एकीकरण नगरिदिएको भए आज हामी नेपाली भएर रहने थिएनौँ । सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको संरक्षण र नेपाली जनताको सम्मानमा उनले गरेको योगदान नेपालमा आजसम्म कसैबाट हुन सकेको छैन । पृथ्वीनारायणको योगदानलाई हामीले भुल्नु भनेको इतिहासलाई बिर्सनु हो । सबैमा चेतना भया !






प्रतिक्रिया