+
Search

ताजा अपडेट +

पपुलर +

सग्लो काङ्ग्रेस लोकतन्त्रलाई अपरिहार्य

सग्लो काङ्ग्रेस लोकतन्त्रलाई अपरिहार्य
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

सबैभन्दा ठुलो तथा पुरानो इतिहास बोकेको देशको राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपाली काङ्ग्रेस अहिले विभाजन भएको छ । एक सय चार वर्ष एकतन्त्रीय राणाशासन फाल्न गठित पहिलो राजनीतिक दल काङ्ग्रेस गत पुस मसान्तमा सम्पन्न विशेष महाधिवेशन विभाजनको कारक बन्यो । महाधिवेशनले काङ्ग्रेसको ८० वर्षको इतिहासमा गम्भीर मोडमा पुर्यायो। संस्थापन पक्षसँग असहमति राख्दै आएका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा पल्ला भारी बनाएर सभापति पद हत्याए ।

निर्वाचन आयोगले काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिता दिने निर्णय शुक्रबार गरेसँगै संस्थापन पक्ष भनिएको शेरबहादुर देउवा नेतृत्वलाई झट्का लागेको छ । जेन-जी आन्दोलनपछि काङ्ग्रेसका नयाँ पुस्तालाई दलभित्र विद्रोह र हस्तक्षेप गर्न बल पु¥यायो र तिनको कदमले अब संवैधानिक वैधानिकता पाएको छ । महाधिवेशनबाट सभापति बनेका थापालाई निर्वाचन आयोगले वैधता दिएपछि काङ्ग्रेसको पुराना अर्थात् संस्थापन पक्ष आन्दोलन र अदालतको सहारा लिन पुगेको छ । मुलुकमा प्रजातन्त्र स्थापना र एकतन्त्रीय राणाशासनबाट उन्मुक्तिका लागि गठित काङ्ग्रेसले मुलुकका सबै परिवर्तनकारी आन्दोलनको नेतृत्व गरे पनि विधि र पद्धतिमा पार्टी सञ्चालन गर्न नसक्दा देश र दल दुवै सङ्कटमा परे । विसं २००७, २०४६, २०६२/२०६३ को जनआन्दोलनको नेतृत्व गरेको काङ्ग्रेस पछिल्लो समय गठबन्धनमा चुनाव लड्नुपर्ने र देशको नेतृत्व गर्न नसक्ने अवस्थामा पुग्यो ।

राणातन्त्रको अन्त्य, प्रजातन्त्रको स्थापना र पुनस्र्थापना, लोकतन्त्र बहाली, गणतन्त्र स्थापना तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको काङ्ग्रेसका नेताहरूको प्राथमिकता सम्पत्ति आर्जनमा केन्द्रित रहँदा दल ठुलो क्षति व्यहोर्दै फुटको अवस्थामा आइपुग्यो । विसं २००३ मा स्थापना भएदेखि टंकप्रसाद आचार्य र बिपी कोइरालाको टकरावले आचार्यलाई सभापति र कोइरालालाई कार्यवाहक सभापति बनाउनुपर्ने अवस्था आएको थियो । विसं २००६ मा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस एकीकृत भई बनेको नेपाली काङ्ग्रेस सभापतिमा मातृकाप्रसाद कोइरालालाई बनाइए पनि बिपी र एमपीबिचको टकरावले विसं २०१२ मा महाधिवेशन गराएर सभापतिमा सुवर्णशमशेर राणा चुनिए पनि सुवर्ण र बिपीबिच विवादले विसं २०१४ जेठमा विशेष महाधिवेशन गरायो र बिपीलाई सभापति बनायो, तैपनि नेताहरूबिच द्वन्द्व रहिरह्यो । राष्ट्रिय राजनीतिमा भने उनीहरूबिच मतभेद थिएन र त बिपीले पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाउनुभयो । त्यसपछि बिपीले लामो समय पार्टीको नेतृत्वमा रहनुभयो । बिपीपछि सभापति बन्नुभएका कृष्णप्रसाद भट्टराईको पनि दुई कार्यकाल टकरावमै बित्यो । कहिले भट्टराई र गिरिजाप्रसादका बिचमा त कहिले गिरिजाप्रसाद र गणेशमान सिंहबिचमा विवाद चले पनि सङ्गठन सञ्चालनमा नेताहरू दलको नीति र सिद्धान्तमा अडिग थिए । विसं २०५६ को आमनिर्वाचनपछि काङ्ग्रेसमा व्यक्तिवादी निहित स्वार्थ हाबी भयो । गिरिजाप्रसादसँगको टकरावका कारण शेरबहादुरले पार्टी नै विभाजन गरेर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) गठन गर्नुभयो । पछि फेरि दल एकीकरणपश्चात् दुई कार्यकालपछि देउवाले पार्टीको नेतृत्व गर्ने अवसर पाउनुभयो । उहाँले दलको नेतृत्व गरिरहँदा सबैभन्दा बढी गुटबन्दी मौलायो । देउवाले आफ्ना गुटबाहेकलाई अवसर नदिने गरेको बताउँदै आएकाको नेतृत्व महामन्त्री थापाले गरिरहेका थिए । विचार, कार्यक्रम र सिद्धान्तका आधारमा नभई व्यक्तिगत आग्रह, पूर्वाग्रह र स्वार्थलाई केन्द्रमा राखेर गुट बन्ने र भत्कने क्रमले दललाई कमजोर बनाउँदै अन्ततः फुटाएर नेतृत्वमा थापालाई पु¥याएको छ ।

काङ्ग्रेस यतिखेर ठुलो सङ्कटमा फसेको छ । नागरिक समाज तथा अन्य जिम्मेवार दललाई काङ्ग्रेसको सङ्कटले चिन्तित बनाएको छ । यस सङ्कटको भुमरीमा काङ्ग्रेस धसिएको धसियै भयो भने राजनीतिक सन्तुलन बिग्रिएर मुलुक र लोकतन्त्रले क्षति व्यहोर्नुपर्नेछ । विगतमा भएका विभाजनले यही नजिर स्थापित गरेको छ । विसं २००९ मा काङ्ग्रेस विभाजन हुँदा आमनिर्वाचन टाढियो, जसका कारण विसं २००७ को जनक्रान्तिका उपलब्धि संस्थागत गर्ने काम अधुरै रह्यो । काङ्ग्रेसको कमजोरीको फाइदा उठाउँदै राजा महेन्द्रले विसं २०१७ को कदम चाल्ने अवसर पाए जसका कारण मुलुकमा ३० वर्षसम्म निरङ्कुश शासन व्यवस्था लादियो । विसं २०४६ को जनआन्दोलनमा काङ्ग्रेसले ज्यादै जिम्मेवारीपूर्ण भूमिका निर्वाह ग¥यो । काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले छिन्नभिन्न भएका कम्युनिस्ट दललाई एउटै मोर्चामा सामेल गराएर नेपालमा प्रजातन्त्र पुनर्वहाली गराए । गिरिजाप्रसादको हठका कारण विसं २०५० मा काङ्ग्रेसमा विग्रह हुँदा मुलुकले मध्यावधि निर्वाचनको सामना गर्नुप¥यो । मध्यावधि निर्वाचनमा कुनै पनि दलको बहुमत नभएकाले सांसद खरिद-बिक्री, प्राडो-पजेरो काण्डलगायत राजनीतिमा धेरै विकृति सुरु भयो । सो विकृतिले माओवादीलाई सशस्त्र द्वन्द्व गर्न उक्साएको मात्रै होइन, द्वन्द्वका पक्षमा माहोल बनाउन भूमिका खेल्यो । विसं २०५९ मा काङ्ग्रेस विभाजन भएपछि विसं २०४६ को जनआन्दोलनको उपलब्धिसमेत गुम्यो र राजा ज्ञानेन्द्रले अवसरका रूपमा लिए । यसपटकको काङ्ग्रेस विभाजनलाई पनि कुन-कुन दृश्य तथा अदृश्य शक्तिले अवसरका रूपमा लिए, समयले नै बताउला ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह