+
Search

ताजा अपडेट +

पपुलर +

खेलकुद तथा सांस्कृतिक महोत्सव सम्पन्न

खेलकुद तथा सांस्कृतिक महोत्सव सम्पन्न
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । विदुर नगरपालिका संरक्षक र जिल्ला खेलकुद विकास समिति नुवाकोट आयोजक भएर गत पुस २५ देखि सुरू भएको प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सव २०८२ सोमबार सम्पन्न भएको छ । महोत्सव विदुर-९ कोलनीमा रहेको खेलकुद विकास समितिको खेलमैदान र कभर्डहलमा ११ दिनसम्म सञ्चालन भएको थियो ।

 

महोत्सवको उद्घाटन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङले र समापन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गर्नुभएको जानकारी आयोजक संस्थाका अध्यक्ष विजय गुरुङले दिनुभयो । ११ दिनसम्म आयोजना भएको महोत्सवमा विभिन्न खेलकुदका गतिविधि तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । महोत्सवको अवधिमा जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट बनेका विभिन्न विधाका खेलाडी विभिन्न खेल, सङ्घसंस्थालाई सम्मान गरिएको थियो । उत्सवबाट उठेको रकमबाट स्पोर्टस् एकेडेमी स्थापना र खेलकुद उद्यान बनाउने उद्देश्य राखिएको छ । कार्यक्रमको अवधिभर कराँते, तेक्वान्दो, फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, दौडखेल विधामा प्रतिस्पर्धा गराइएको र दैनिक राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारद्वारा साङ्गीतिक कार्यक्रम प्रस्तुति रहेको थियो । समितिको विदुर-९ कोलनीमा रहेको १० रोपनी जग्गामा स्पोर्टस् एकेडेमी र खेलकुद उद्यान निर्माणमा लागि आर्थिक स्रोत जुटाउने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको संयोजक गुरुङले बताउनुभयो । खेलकुदको गुणस्तर अभिवृद्धि, स्थानीय प्रतिभाको पहिचान, खेल पूर्वाधार विकास तथा स्थानीय कला, संस्कृति एवम् पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवले सामाजिक सद्भाव, एकता तथा स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा विदुरका प्रमुख श्रेष्ठले राख्नुभएको छ ।

उद्घाटन मन्तव्यको क्रममा पूर्वमुख्यमन्त्री लामाले भन्नुभयो, ‘कार्यक्रमले खेलकुदलाई जीवनशैलीसँग जोड्दै युवामा आत्मप्रेरणा, फिटनेस र प्रतिभा पहिचानको संस्कार विकास गर्नेछ ।’ स्थानीय युवालाई खेलकुद, फिटनेस र आत्मविकासतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नुवाकोटमा दीर्घकालीन खेलकुद संस्कार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ । उक्त महोत्सवको उद्देश्यअनुसार स्पोर्टस् एकेडेमी स्थापना र खेलकुद उद्यान बनाउने कार्यक्रमका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घले रू.आठ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले सार्वजनिक गरेको छ । सङ्घले प्रतिबद्धताअनुसार रू.तीन लाख समापनको दिन दिइसकेको, बाँकी रू.पाँच लाख नुवाकोट महोत्सवको आम्दानीबाट दिने सहमति भएको संयोजक गुरुङले पत्रकारसँग कुराकानीको क्रममा बताउनुभएको छ । खेलकुद महोत्सवको आय-व्यय एक महिनाभित्र सार्वजनिक गर्नेसमेत उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह