विदुर । बागमती प्रदेश सरकारको लगानीमा विसं २०७६ देखि निर्माण सुरु गरेका ११ भ्युटावरमध्ये नुवाकोटको दुईसहित पाँचवटा हस्तान्तरण भएको छ । प्रदेशका आठ जिल्लामा निर्माण गरिएका ११ वटा भ्युटावरमध्ये अझै ६ वटा हस्तान्तण गर्न बाँकी छ । निर्माण भइसकेका ६ वटा भ्युटावर सञ्चालनमै नआई मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेकाले भ्युटावर मर्मतसम्भार गरेर मात्र हस्तान्तरण गर्ने तयारी प्रदेश सरकारको छ ।
विसं २०७६ र २०७८ मा सम्झौता भई दुई चरणमा गरेर रु.पाँच करोड ८८ लाख ८६ हजार ८५ मा बनेको नुवाकोटको ककनी गाउँपालिकामा निर्माण भएको हिल स्टेसन ककनीलाई जिम्मा लगाइएको संस्कृति तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन पूर्वाधार हस्तान्तरण तथा सञ्चालन कार्यविधि २०८१ अनुसार स्थानीय तहलाई वा स्थानीय तहले सिफारिस गरेका निकायलाई हस्तान्तरण गर्न सक्ने व्यवस्थालाई टेकेर मन्त्रालयले हस्तान्तरण गरेको हो । नुवाकोटकै चिम्टेश्वरमा निर्मित भ्युटावर बेलकोटगढी नगरपालिकाको जिम्मा लगाइएको मन्त्रालयले जनाएको छ । रु.दुई करोड ७४ लाख ३८ हजार सात सय ६८ लागतमा निर्मित यो भ्युटावर विसं २०७७ बाट निर्माण सुरु गरिएको थियो । मकवानपुर, नुवाकोट, दोलखा र सिन्धुपाल्चोकमा निर्माण भएका चारवटा भ्युटावर सम्बन्धित स्थानीय तह र एउटा सामुदायिक वन समितिलाई सञ्चालनको जिम्मा लगाइएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
मकवानपुरको चित्लाङ हिल स्टेसन, नुवाकोटको ककनी र चिम्टेश्वरस्थित भ्युटावरसहित वन बगैँचा पार्क, दोलखाको शैलुङमा निर्मित गोलघरसहितको बगैँचा, मनोरञ्जन पार्क र सिन्धुपाल्चोकको मुडे हिल स्टेसन सञ्चालन गर्न हस्तान्तरण गरिसकिएको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । मन्त्रालयका सचिव सुवेदीका अनुसार सम्बन्धित पालिकाले भ्युटावर सञ्चालनको ठेक्का लगाउनेछन् । कार्यविधिले व्यवस्था गरेअनुसार पर्यटकबाट प्राप्त राजस्व ७० प्रतिशत सम्बन्धित पालिकालाई र ३० प्रतिशत प्रदेश सरकारलाई बाँडफाँट हुने उहाँले बताउनुभयो । मन्त्रालयले निर्माण भइसकेको भ्युटावर विगत लामो समयदेखि सञ्चालनमा ल्याउन नसक्दा राजस्व गुमिरहेको थियो ।
विसं २०७६ बाट भ्युटावरको योजना अघि बढाएको बागमती सरकारले वि.सं. २०८२ लाग्दा बल्ल आधा सञ्चालनमा ल्याउन सफल भएको छ । विसं २०७६/०७७ र ०७८ भित्र योजना सम्झौता भएका भ्युटावर कतिपय विसं २०७७ सालमै र केही विसं २०७९ र २०८० सम्ममा निर्माण भएका थिए । सञ्चालन कार्यविधि नबनाई हचुवामै अग्ला डाँडामा बनाइएका संरचनाले राज्यको लगानी ‘बालुवामा पानी’ हालेजस्तै बनेको थियो । सुरुमा निर्माण कम्पनीले अनेक बहानामा बनाउन ढिलाइ गरे पनि बनिसकेकालाई सञ्चालनमा ल्याउन सरकारले उदासीनता देखाएको थियो । सञ्चालन कार्यविधि बनाउनै दुई वर्षभन्दा बढी समय खर्चिएको पर्यटन मन्त्रालयले विसं २०८१ मा नयाँ कार्यविधि बनाएर भ्युटावर सञ्चालनको बाटो खोलेको हो । विसं २०८० मा पनि मन्त्रालयले कार्यविधि बनाएको थियो । तर, त्यो कार्यविधिको कुनै पनि रेकर्ड नभेटिएपछि मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिव सुवेदीले नयाँ कार्यविधि बनाउनुभएको हो । ऐन, कार्यविधि नै नबनाई भ्युटावर बनाउन सुरु गरिएको थियो । प्रदेश पर्यटन ऐन, २०७८ निर्माण भएपछि ऐनको दफा ११७ (२) अनुसार मन्त्रालयले कार्यविधि बनाएको हो । तत्कालीन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले वि.सं. २०८० मङ्सिर १३ मा पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८० बनाएको थियो । त्यो कार्यविधि कार्यान्वयनमै नगई नयाँ कार्यविधि बनाइएको सचिव सुवेदी बताउनुभयो ।
काभ्रे, रामेछाप, सिन्धुली र धादिङमा निर्माण गरिएका ६ वटा भ्युटावर सञ्चालनमा आउन सकेको छैन । रु.३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ बजेटबाट ११ वटा भ्युटावर बनाइएको थियो । काभ्रेको रोशी गाउँपालिकास्थित रोशी भूमिचुलीमा रू.दुई करोड ६१ लाख २३ हजार चार सय ६५ को लागतमा भ्युटावर र पदमार्ग निर्माण गरिएको छ । धादिङको धुनीबेँसी नगरपालिकाको तोप्लाङमा रु.दुई करोड १८ लाख ८९ हजार ६ सय ६९ मा भ्युटावर र शौचालय तथा दोलखाको जिरी नगरपालिकामा रु.दुई करोड ६४ लाख ३४ हजार नौ सय ९६ को लागतमा भ्युटावर र सभाहल निर्माण भएका छन् । रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी गाउँपालिका-५ मा दुई चरणमा गरी रू.तीन करोड २० लाख ६० हजार आठ सय ५१ मा र सिन्धुलीको कमलामाई नगरपालिकाको सिद्धबाबा चुचुरोमा पनि दुई चरणमै गरेर रू.दुई करोड ६० लाख आठ हजार तीन सय १० मा भ्युटावरसहित पदमार्ग, शौचालयलगायतका संरचना निर्माण भएको मन्त्रालयले जनाएको छ । सिन्धुलीकै सिन्धुलीगढी हिल स्टेसन (बहुउद्देश्यीय भवन र बगैँचा) रू.दुई करोड ४७ लाख ६७ हजार चार सय ६१ मा निर्माण भएको हो ।






प्रतिक्रिया