+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ प्रशासकीय भवनबाट सूर्यगढीको कार्यालय सञ्चालन

नयाँ प्रशासकीय भवनबाट सूर्यगढीको कार्यालय सञ्चालन
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । नुवाकोट जिल्लाका १२ पालिकामध्ये सूर्यगढी गाउँपालिकाले स्थापना भएको नौ वर्ष पूरा भएपछि आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेको छ । जग्गा प्राप्त गर्न लामै रस्साकस्सीपछि अघिल्लो वर्ष जग्गा उपलब्ध भएपछि भवन निर्माण थालेको हो । झन्डै रु.१२ करोडको लागतमा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवनबाट शुक्रबारदेखि कार्यालय सञ्चालन गरिरहेको पालिकाका प्रमुख सन्तबहादुर घले तामाङले जानकारी दिनुभयो ।

नयाँ निर्माण भएको पालिका भवन शुक्रबार पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पूर्वसङ्घीय सांसद विमला सुवेदी र पूर्वप्रदेश सभा सांसद एवम् नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको पालिका प्रमुख घले तामाङले जानकारी दिनुभयो । भवन उद्घाटन समारोहमा विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै, सो अवसरमा पालिका प्रमुख घले तामाङको शब्द रहेको ‘पानी ड्वाँचेको’ नामक काँठे लोकगीतको विमोचनसमेत गरिएको थियो । सोही कार्यक्रममा पालिका भवनका लागि योगदान गर्नुहुने विभिन्न व्यक्ति, खेलाडी, एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी र विषयगत शिक्षकलाई सम्मान गरिएको उपप्रमुख मञ्जु बुढाथोकी ढकालले बताउनुभयो । सोही अवसरमा पालिकाभित्रका सामुदायिक विद्यालयलाई सहयोग गर्ने तथा शिक्षा क्षेत्र र नागरिकको सेवाका लागि गरेको योगदानको उच्च कदर गरी पत्रकार तथा सामाजिक अभियन्ता सुशान्त न्यौपानेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा पूर्वअर्थमन्त्री डा. महत, पूर्वसङ्घीय सांसद सुवेदी र एमाले जिल्ला अध्यक्ष मैनालीले नुवाकोटको विकासका लागि आ-आफ्नो पार्टीले गरेको दाबी गर्दा सहभागी अलमलमा परेका थिए । पूर्वअर्थमन्त्री डा.महतले नुवाकोटमा सबैभन्दा धेरै बजेट विगतका अर्थमन्त्री डा.रामशरण महतदेखि पछिल्लो समय आफू अर्थमन्त्री हुँदा छुट्याएको बजेटबाट पूर्वाधार विकास र ककनीको सडक निर्माण भइरहेको दाबी गर्नुभएको थियो । उहाँको त्यस भनाइलाई खण्डन गर्दै अर्का अतिथि महिला नेतृ तथा पूर्वसांसद सुवेदीले ककनीको सडक बनाउन आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको काम भएकाले अरूले आफूले मात्र गरेको भनेर जस लिन नहुने बताउनुभयो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई दिएको निर्देशनअनुसार काम भएको सुवेदीले कार्यक्रममा दाबी प्रस्तुत गर्नुभयो । त्यसैगरी, सो कार्यक्रमका अतिथि रहनुभएका एमाले युवा नेता तथा पूर्वप्रदेश सरकारका मन्त्री मैनालीले सङ्घीय सरकारबाट विनियोजित भएको बजेटलाई आफूले गरेको भनेर एक पक्षीय रूपमा प्रचार गर्न खोजेकोमा पूर्वअर्थमन्त्रीप्रति आपत्ति जनाउनुभएको थियो । नेता मैनालीले आपूm प्रदेश सांसद हुँदा गरेको नुवाकोटको विकास अहिलेसम्म कसैले गर्न नसकेको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, तादीका अध्यक्ष सन्तमान तामाङ, नेपाली कम्युनिस्ट पार्टी, जिल्ला प्रमुख पुष्प लामिछाने, स्थानीय समाजसेवी अणबहादुर प्याकुरेललगायतले समेत सम्बोधन गर्नुभएको थियो । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नौवटा पालिकाका प्रमुख प्रशासकीय भवन निर्माण गरेर सुविधासम्पन्न भवनबाट कार्य सञ्चालन भइरहेको छ । दुई नगरपालिकामध्ये विदुरको भवन निर्माण भई नयाँ भवनबाट कार्यालय सञ्चालन भइरहेको छ भने बेलकोटगढीको भवन निर्माणाधीन अवस्थामा रहेको छ । १० गाउँपालिकामध्ये तादी, शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, किस्पाङ, म्यागङ, ककनीले नयाँ भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन् भने तारकेश्वरको भवन निर्माणाधीन अवस्थामा र लिखुले जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया सुरु गरेको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह