विदुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले सदस्य संस्थाको समयानुकूल ब्याज निर्धारण र आर्थिक तरलतालाई व्यवस्थापनका लागि पहल गर्ने भएको छ । सङ्घले उक्त निर्णय गत हप्ता सम्पन्न ३३औँ वार्षिक साधारणसभाबाट पारित गरेको छ ।
सङ्घले गत आव २०८१/०८२ मा वार्षिक आम्दानी रु.९४ लाख १४ हजार पाँच सय ८६ गरेको सभामा कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठले प्रस्तुत गर्नुभएको गत आवको कारोबारको विवरणमा उल्लेख छ । जिल्लामा सङ्घले देशको विद्यमान आर्थिक तथा राजनीतिक अस्थिरताबाट प्रभावित सदस्य संस्थाहरूको सुरक्षा, सुशासन, प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ । सङ्घमा तीन सय दुई सदस्य सङ्घसंस्थाले जम्मा गरेको सेयर पुँजी रु.दुई करोड ३३ लाख ६० हजार पाँच सय रहेको प्रतिवेदन कोषाध्यक्ष श्रेष्ठले सभामा प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनअनुसार सङ्घले गत आव रु.२९ लाख ४१ हजार चार सय ८८ प्रशासनिक खर्च गरेको छ । सभामा अध्यक्ष शिवप्रसाद अधिकारीले गतिविधि समेटेको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सङ्घको स्वामित्वमा विदुर-२ राजमार्गसँग जोडिएको कित्ता नं. ४३१ क्षेत्रफल ४-७-१-२ को जग्गा र कित्ता नं.४८९ क्षेत्रफल ३-१५-३-२ जग्गा रहेको छ । सो जग्गामध्ये तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गामा सदस्य सङ्घसंस्थाको लगानी र सरकारी अनुदान सहयोगमा निर्माण गरिएको दुईवटा सुविधासम्पन्न सहकारी भवन रहेका छन् । सदस्य सङ्घसंस्थासँग सङ्घले वार्षिक कारोबार रकमको आधारमा वार्षिक सेवा शुल्क लिने गरेको छ । रु.एक करोड कारोबार हुने सदस्य सङ्घसंस्थाले वार्षिक रु.एक हजार, रु.तीन करोडसम्म हुनेले रु.दुई हजार पाँच सय, रु.पाँच करोडसम्मले रु.पाँच हजार, रु.१० करोडसम्मले रु.आठ हजार, रु. २० करोड कारोबार हुनेले रु.१० हजार, रु.४० करोड कारोबार हुनेले रु.१५ हजार र रु.४० करोडभन्दा बढी कारोबार गर्नेले वार्षिक सेवा शुल्क रु.२० हजार शुल्क दर निर्धारण गरी लिने गरेको छ । सङ्घले विदुरमा रहेको सहकारी भवनमा वि.सं. २०६९ चैतदेखि छापाखाना सञ्चालन गरी सदस्य संस्थाको स्टेसनरी तथा मसलन्द छपाइको सहजता प्रदान गर्दै आइरहेको उपाध्यक्ष अरुणकुमार श्रेष्ठले बताउनुभयो । सङ्घको नेतृत्व हालसम्म प्रेमदीप थपलिया, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ मिश्र, राजेश श्रेष्ठ र गोकर्णनाथ न्यौपानेले गरिसक्नुभएको छ । सङ्घले सदस्य संस्थामा हाल देखिएको तरलतालाई व्यवस्थापन गर्न सम्भावित क्षेत्रको अध्ययन गरिरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । व्यावसायिक क्षेत्रमा लगानी गर्नका लागि सङ्घले आवश्यक पहल र सहयोगका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरिरहेको छ । राष्ट्रिय सहकारी बैंकमार्फत लिँदै आएको कर्जा भुक्तानी गर्न बचत/सेयरमार्फत प्रारम्भिक संस्थाको तरलता रकम जम्मा गरी समयानुकूल ब्याजदर प्रदान गर्ने प्रक्रियासमेत अगाडि बढाइने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
सङ्घले आफ्ना सदस्य संस्थालाई व्यावसायिक बनाउन र सदस्य संस्थामा आबद्ध सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउन नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विकास महाशाखा, प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी महाशाखा, सहकारी प्रशिक्षण केन्द्र, राष्ट्रिय सहकारी सङ्घ लि. नेपाल, राष्ट्रिय सहकारी बैंक लि. नेपाल, युवा तथा साना व्यावसायिक स्वरोजगार कोष, ग्रामीण स्वावलम्बन कोष, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, कृषि ज्ञान केन्द्र, पशु सेवाविज्ञ कार्यालय, कृषि सामग्री कम्पनी लि., साल्ट ट्रेडिङ कम्पनी लि., आन्तरिक राजस्व कार्यालय, करदाता परामर्श सेवा केन्द्र, मालपोत कार्यालय, शिक्षा कार्यालय, महिला विकास कार्यालय, जिल्ला वन कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्था, नुवाकोट उद्योग वाणिज्य सङ्घ, नुवाकोट गैसस महासङ्घ, नेपाल पत्रकार महासङ्घ नुवाकोट, जिल्ला बार एसोसिएसनजस्ता विभिन्न निकायसँग समन्वय गरी व्यावसायिक प्रवद्र्धनका लागि पुलको भूमिका निर्वाह गर्दै आइरहेको छ । सदस्य संस्थाको नीतिगत समस्या समाधानका लागि सम्बन्धित निकायमा समन्वय गर्ने र स्थानीय जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग समेत समन्वय गरी संस्थागत विकासमा सरकारको सहयोग प्राप्त गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेका सचिव प्रदीप अधिकारीले बताउनुभयो ।






प्रतिक्रिया