विदुर । विदुर-६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा देशका विभिन्न स्थानका बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट स्थानान्तरणको तयारी भइरहेको छ ।
गत पुसमा मन्त्रिपरिषद्ले नुवाकोट जिल्लास्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार उक्त स्थानमा बाल अधिकारका तोकिएका मापदण्डअनुसार भक्तपुरको सानोठिमी र देशका अन्य स्थानका बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट ल्याउने तयारी भइरहेको कारागार विभागका महानिर्देशक शशिधर घिमिरेले जानकारी दिनुभयो । बाल सुधार केन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्ले खाली रहेको नुवाकोट जिल्ला कारागार भवनमा निर्णय गरेको थियो । उक्त भवन मर्मतमा ढिलाइ भएपछि निर्णय कार्यान्वयनमा समस्या भएसँगै स्थान परिवर्तन गरी केन्द्रीय कारागारको खाली ब्लकमा बालबिज्याइँकर्ता स्थानान्तरण गर्न लागिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट स्थानान्तरण गर्न निर्देशन दिनुभएको थियो ।
सानोठिमीस्थित बाल सुधारगृहमा माघ ८ गते भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न गृह मन्त्रालयले सानोठिमीस्थित बाल सुधारगृहका ७१ सहित देशका अन्य स्थानका गृहका ८० जना पहिलो चरणमा स्थानान्तरण गर्न तयारी गरिएको छ । बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटक-पटक समस्या देखिएको भन्दै गृहमन्त्री अर्यालले मानव अधिकारको पूर्णपालना हुनुपर्ने, तर दण्डहीनता भने स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । उहाँले यस्ता घटना भविष्यमा दोहोरिन नदिन र सुधारगृहको व्यवस्थापन चुस्त बनाउन मातहतका सुरक्षा निकाय तथा पदाधिकारीलाई कडा निर्देशन दिनुभएको छ । समस्याको दिगो समाधानका लागि मन्त्रिपरिषद्को निर्णयबमोजिम नुवाकोट कारागारको खाली ब्लकलाई बाल सुधारगृहमा परिणत गरी १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई त्यहाँ सार्न लागिएको हो ।






प्रतिक्रिया