+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा निर्वाचन : चुनावी रौनक बढ्दै

प्रतिनिधिसभा निर्वाचन : चुनावी रौनक बढ्दै
त्रिशूली प्रवाह
६ दिन अगाडी

विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र र दलहरूबाट उम्मेदवारी दर्तापछि नुवाकोटमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । उम्मेदवारी दर्तापछि दलका नेता चुनावी रणनीति निर्माण गरी अभियानको कार्यतालिका बनाउँदै घरदैलामा पुगिरहेका छन् । नेकपा (एमाले) ले गत वि.सं. २०७९ को निर्वाचनमा हार व्यहोरेको पीडालाई बिर्सन यसपटक दुवै क्षेत्रमा जित सुनिश्चित गर्न अन्य दलका उम्मेदवार टुङ्गो नलगाउँदै र उम्मेदवारी दर्ता गर्नु एक हप्ता अगाडिदेखि जनताका घरदैलोमा पुगेर मत माग्ने अभियान सुरु गरेको थियो ।

गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित पाँचदलीय गठबन्धन गरेको नेपाली काङ्ग्रेस यसपटक दुवै क्षेत्रमा एक्लै निर्वाचनमा सहभागी भएको छ । दुवै क्षेत्रमा जित हासिल गर्न दलले विशेष महाधिवेशनबाट भाँडिएका नेता–कार्यकर्ता जुटाउँदै घरदैलो अभियान थालेको छ । गत निर्वाचनमा गठबन्धन हुँदा जिल्लाका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ तत्कालीन माओवादी केन्द्र र क्षेत्र नम्बर २ काङ्ग्रेस उम्मेदवारले जितेका थिए । यसपटक तत्कालीन माओवादी केन्द्र, ए. समाजवादीसहित डेढ दर्जन दल र समूह एकीकृत भई बनेको हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक्लै निर्वाचनमा होमिएको छ । दुवै दलले पुरानो विरासत जोगाउन रणनीतिक योजना बनाएर नतिजा हासिल गर्न लागिपरेका छन् । पुराना तीन दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्लाका दुवै क्षेत्रमा आक्रामक ढङ्गले निर्वाचनको तयारी गरिरहेको छ । अधिकांश युवा सम्मिलित उक्त दल पुराना दलको विरासत तोड्ने गरी चुनावी रणनीति बनाउन व्यस्त छ । वि.सं. २०७९ को निर्वाचनमा रास्वपा क्षेत्र नम्बर १ मा तेस्रो र क्षेत्र नम्बर २ मा दोस्रो प्रतिस्पर्धी दल भएकाले यसपटकको निर्वाचनमा उसले पुराना दललाई कडा टक्कर दिने आकलन राजनीतिक विश्लेषकले गरेका छन् । यसपटक निर्वाचनमा नयाँ र पुराना गरी १३ दल चुनावी मैदानमा उत्रेका छन् । चुनावी सरगर्मी विस्तारै बढिरहेकाले नतिजा कसका पोल्टामा पुग्ने भन्ने अहिले भन्न नसकिने अवस्था रहेको नेपाल पत्रकार महासङ्घ नुवाकोटका उपसभापति जगदीश्वर खनालले बताउनुभयो ।

गत २०७९ को निर्वाचनमा गठबन्धन हुँदा नुवाकोटको क्षेत्र नम्बर १ मा माओवादी केन्द्र र क्षेत्र नम्बर २ मा काङ्ग्रेस विजयी भएका थिए । सो निर्वाचनमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हितबहादुर तामाङले २६ हजार पाँच सय ४८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका बद्रीप्रसाद मैनालीले २३ हजार चार सय ६५ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी रास्वपाका प्रद्युम्न महतले ६ हजार एक सय १३ मत प्राप्त गर्नुभएको थियो । अहिले यो क्षेत्रबाट काङ्ग्रेसका डा. प्रकाशशरण महत, एमालेका मैनाली, नेकपाका तामाङ, रास्वपाका डा. विक्रम तिमिल्सिना निर्वाचनको मैदानमा रहनुभएको छ । सो क्षेत्रमा २०४८ पछि भएको निर्वाचनमा काङ्ग्रेसले तीनपटकबाहेक सबै निर्वाचन जित्दै आएको छ । वि.सं. २०७४ मा एमालेसँग र २०७९ मा काङ्ग्रेससँग गठबन्धन गरी निर्वाचन जित्नुभएका तामाङलाई यसपटक परिणाम आफ्नो पक्षमा पार्न कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नयाँ दल भए पनि परिवर्तनको विषय लिएर मतदाताका घरघरमा पुगिरहेको रास्वपा पनि उक्त क्षेत्रमा नयाँ इतिहास रच्ने दाउमा छ । पुराना तीन दलले सङ्गठनका बलमा जित्ने आधार प्रस्तुत गरिरहँदा रास्वपा भने जेन–जीको साथ, सहयोगमा देशको आमूल परिवर्तन गर्ने खाका प्रस्तुत गरिरहेको छ । सो क्षेत्रबाट उज्यालो नेपालका अमित तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका कुमार राना, श्रम संस्कृति पार्टीका दावा फिन्जु लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापा, नेकपा (माओवादी)का महेन्द्र तामाङ, नेपाल मजदुर किसान पार्टीका रवीन्द्र डङ्गोल, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतम, मितेरी पार्टी नेपालका विवेक सिलवाल, जनता समाजवादी पार्टी नेपालका होमबहादुर राई पनि चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ । दलबाहेक स्वतन्त्र उम्मेदवारी दिएका चेपे तामाङ, माधव थापा, राजु थापा, रामेश्वर भण्डारी, सञ्जीव गुरुङ पनि निर्वाचनको परिणाम आफ्ना पक्षमा पार्न सक्रिय रूपमा मैदानमा उत्रनुभएको छ । विगतभन्दा थप रोचक ढङ्गले सो क्षेत्रमा निर्वाचन गतिविधि अगाडि बढेकाले निर्वाचन परिणामको आकलन अहिले गर्न नसकिने गणेश मावि सूर्यगढी गापा, फेदीबेँसीका पूर्वप्रधानाध्यापक पुरेन्द्रप्रसाद ढकालले बताउनुभयो । सो क्षेत्रमा ककनी, तादी, दुप्चेश्वर, पञ्चकन्या, लिखु, शिवपुरी र सूर्यगढी गाउँपालिका छन् । त्यहाँ पुरुष ६५ हजार तीन सय १२ र महिला ५८ हजार ६ सय १४ गरी एक लाख २३ हजार नौ सय २९ मतदाता छन् । ६८ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र रहेको सो क्षेत्रमा सबैभन्दा बढी ककनीमा २२ हजार पाँच सय ४१ र सबैभन्दा कम तादीमा १५ हजार ६ सय नौ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

नुवाकोट क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचनमा काङ्ग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चारै दलका दोस्रो तहका नेताले प्रतिस्पर्धा गरिरहेको सो क्षेत्रमा किस्पाङ, तारकेश्वर र म्यागङ गाउँपालिका तथा बेलकोटगढी र विदुर नगरपालिका छन् । सदरमुकामसमेत रहेको सो क्षेत्रमा पुरुष ६३ हजार पाँच सय ७८ र महिला ६० हजार तीन सय ६१ सहित एक लाख २३ हजार नौ सय ३९ मतदाता छन् । सबैभन्दा बढी विदुरमा २३ हजार सात सय ६१ र सबैभन्दा कम किस्पाङमा ६ हजार चार सय २० मतदाता रहेको सो क्षेत्रमा ६४ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र कायम छन् । गत निर्वाचनमा सो क्षेत्रमा काङ्ग्रेसका अर्जुननरसिंह केसी विजयी हुनुभएको थियो । केसीले २८ हजार एक सय सात मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी रास्वपाका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ र अर्का एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गर्नुभएको थियो । केसी गत निर्वाचनमा माओवादी केन्द्र र ए. समाजवादीबिच गठबन्धन भई साझा उम्मेदवार बन्नुभएको थियो । काङ्ग्रेसले सो क्षेत्रमा यसपटक केसीका भाइ जगदीश्वरनरसिंहलाई उम्मेदवार बनाएको छ । दलका पूर्वजिल्ला सभापति एवम् पहिलो र दोस्रो संविधानसभा सदस्य जगदीश्वरसँग एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवम् अघिल्लो बागमती प्रदेश सभाका सदस्य हिरानाथ खतिवडा र रास्वपाका बागमती प्रदेश समितिका सभापति तथा केन्द्रीय सदस्य र खेलविज्ञानमा दक्षिण कोरियाबाट विद्यावारिधि गर्नुभएका डा. अच्युतम लामिछानेबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा चार दलका उम्मेदवारबिच कडा प्रतिस्पर्धा रहने भएकाले निर्वाचनमा को अगाडि रहेको भन्ने आकलन गर्न नसकिने सञ्चारकर्मी देवचन्द्र भट्टले बताउनुभयो । सो क्षेत्रमा चार दलको मत घटाउने, सके आफैं जित्ने रणनीतिमा अन्य दल लागिरहेका छन् । चुनावी मैदानमा यस क्षेत्रबाट नेकपा (संयुक्त)का किरण तिमसेना, राप्रपाका झनक प्याकुरेल, नेकपा (माओवादी) का नवराज ढुङ्गाना, आम जनता पार्टीका मानसिंह गदाइली, मङ्गोल नेसनल अर्गनाइजेसनका रेन्छेन तामाङ, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ, नेमकिपाका सुवास भट्ट र उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सो क्षेत्रमा १२ उम्मेदवारको उम्मेदवारी कायम रहेको र स्वतन्त्र उम्मेदवार नभएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह