धुन्चे । कालिका–२, कालिकास्थानकी ४९ वर्षीया योगमाया ढकाल हिन्दु परम्पराअनुसार छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने मान्यता तोड्दै आफ्नो बाबुको किरिया बस्नुभएको छ ।
रसुवा जिल्लाकी योगमाया घरकी जेठी अविवाहित छोरी हुनुहुन्छ । लामो समयदेखि दमको समस्याबाट ग्रसित बुबा रोहिणीप्रसाद ढकालको यही माघ ६ गते ८१ वर्षको उमेरमा मृत्यु भएको थियो । मृतक ढकालका योगमाया, सरस्वती र गायत्री तीन छोरी छन् । छोराजत्तिकै छोरीको भूमिका महत्त्वपूर्ण हुने तथा लैङ्गिक समानता हटाउन पनि बाबुको किरिया थालेको र आफूलाई जन्म दिने बाबुआमाको सेवा गरी अन्त्येष्टि कर्म पनि आफ्नो जिम्मेवारी रहेको योगमाया बताउनुहुन्छ । हाम्रो नेपाली समाजमा विशेष गरी हिन्दु परम्परामा छोराले नै काजकिरिया गर्नुपर्छ भन्ने मान्यतालाई चिर्ने प्रयास प्रशंसायोग्य रहेको कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीता अधिकारी पौडेलले बताउनुभयो । पितृसत्तात्मक हाम्रो समाजमा छोरीले यो काम गर्नुहुँदैन भन्ने थियो र साहस देखाएर योगमायाले यस्तो कार्य गरेर छोरीहरूका लागि आत्मसम्मान बढेको सामाजिक अभियानकर्मी सुष्मा न्यौपाने बताउनुहुन्छ ।






प्रतिक्रिया