+
Search

ताजा अपडेट +

पपुलर +

योग किन र कसका लागि ?

योग किन र कसका लागि ?
त्रिशूली प्रवाह
२ महिना अगाडी

वर्तमान परिस्थिति

बेहोसी मार्गमा चलिरहेको कारणबाट वर्तमान मानिस झन्झन् अशान्त, भयभित, दुःखी र असन्तुलित भइरहेका छन् । जतिसुकै वैभव, पद, पैसा, प्रतिष्ठा भएर पनि दुःखित छन् । शान्ति र आनन्द पाउन सकिरहेका छैनन् । अझ थप सुविधा प्राप्त गर्नका लागि भौँतारिरहेका छन् । शान्ति बाहिर खोज्दा झन् अशान्तिको भुमरीमा परिरहेका छन् । अशान्त मनलाई शान्त बनाउन मदिरा, लागुपदार्थ र कुलत वा गलत आदतमा लागिरहेको देखिन्छ । इन्द्रियबाट मनमा उठेका वृत्तिका राम्रा–नराम्रा अथाह सूचना मानव मस्तिष्कमा आइरहेको हुन्छ । जस्तो सूचना भरिएको छ, उस्तै यात्रा तय हुन्छ ।

अहिले अज्ञानताका कारण सांसारिक वस्तुमा इच्छा र आशक्ति बढेका कारण तनाव र दुःख मानसिक सन्तापले हरेक घरमा सताएको छ । आजको विकट सामाजिक परिस्थितिमा हाम्रो वैदिक संस्कार तथा संस्कृति हराइसकेको छ, साधना र विवेक हराउँदा, वैराग्य घटी राग र द्वेष हाबी भएको छ । अज्ञान अवस्थामा संसारको त्रयतापले सबैलाई थिचिराखेको छ । किन सबै भौतिक सुख–सुविधा भएर पनि पीडामा दुःखी र रोगी ? किन भोक तथा निद्रा छैन ?

आध्यात्मिक संस्कार दिने वैदिक शिक्षा ओझेलमा पारी केवल भोगवादी सोच, शिक्षा र परम्परा हाबी छ । बढ्दो आवश्यकता, भागदौडको जिन्दगी, तनावपूर्ण वातावरणमा समय व्यतीत, स्वार्थ, काम, क्रोध, लोभ, मोह, अहङ्कार, घृणा बढी सामाजिक सद्भाव, आपसी सहयोग र भाइचारामा कमी आएको देखिन्छ ।

आध्यात्मिक ज्ञान, ब्रह्मचर्य पालना, योग, ध्यानको अभावमा रहेको भौतिकवादी शिक्षाले भौतिक विकास त भयो, तर तमोगुण, रजोगुण बढेर मानिसको चेतनालाई पशु वा दानवीय चेतनामा मात्र सीमित गरिदिएको र भौतिक ज्ञानबाट बाहिरी प्रतिस्पर्धामा भौतिक प्रगति जसले गर्यो ऊ सफल भएको मान्ने मनोविज्ञानले अहङ्कारी, स्वार्थी, लोभी र आफ्नो स्वार्थ पूरा गर्न चाँडै धनी बन्न धर्म भ्रष्ट बनेका छन् । भोजन शुद्धि छैन । हाम्रो चेतना र सु-स्वास्थ्यको आधार पञ्चमहाभूत जल, जमिन, आकाश, वायु र अग्नि नै प्रदूषित बनाइरहेका छौँ । गौमाता, गङ्गामाता, तुलसीमाता, धर्तीमाता र जन्म दिने मातालाई अपेक्षा भएको छ । सुसंस्कारको आधार भत्काइरहेका छौँ र यसको अभावमा बाल्यकालदेखि ब्रह्मचर्य नष्ट गरी पुरुषार्थ गर्ने चेतना इन्द्रिय भोगमा (यौन क्रियाकलापमा) लागेका छौँ । सीमित स्वार्थको लागि क्रूर गलत निर्णय लिने बनाइदिएको छ । नकारात्मकपन हाबी छ, तनाव बढेको छ, विवेक गुमेको छ, बाल्यकालदेखि नै शारीरिक अपाङ्गता, मानसिक विकृति, एन्जाइटी, अटिजम, सुस्त मनस्थिति, डिप्रेसनको सिकार, नसर्ने रोगमा बढोत्तरी छ । आत्महत्या र हिंसा बढेको छ । सुधारगृह तथा सडकमा बालबालिका बढेका छन् । आमाबुबालाई घरबाट निकाली वृद्धाश्रम लखेट्ने प्रवृत्ति बढेको छ । भ्रष्टाचार, दूराचार, व्यभिचारमा संलग्न छन् । त्यही कारणले बच्चादेखि नै मानसिक अस्पताल र अन्य अस्पतालमा पाइला राख्ने ठाउँ छैन । त्यसतै भ्रष्ट, स्वार्थी व्यक्ति नीति, निर्माणमा वा विकास गर्ने स्थानमा पुग्दा गलत कार्य भई देश नै रोगी हुन पुगेको छ ।

योगमय जीवनशैली, वैदिक दिनचर्या लुप्त छ, आयुर्वेद तथा नैतिक शिक्षा र सुसंस्कारको अभावसँगै कालोबजारी, लुटपाट, डकैती, मुद्दामामिलाको घटनामा वृद्धि, नैतिकताको सङ्कट नै हिंसा बढ्नुको मूल कारण हो ।

पञ्च महाभूत नै प्रदूषित रहेको अवस्था तथा हावा, पानी र विषाक्त आहार लिन बाध्य परिस्थिति, टिभी, मोबाइल, ल्यापटप, प्लास्टिकजन्य भाडा, वर्तनको अत्यधिक प्रयोग बढेको छ ।

चेतना वा अज्ञानताको कारण आहार–विहार र आचरण ठिक ढङ्गबाट हुनुमा कमी, अबेरसम्म जागा, अनिद्रा, खान नजानेर नै रोगी बन्दै गएको अवस्था छ ।

वर्तमान परिस्थितिको परिणाम

  • अहङ्कार, स्वार्थीपन, अभिमान, नकारात्मकता बढ्दै गई सामाजिक सद्भाव तथा सदाचारमा कमी तथा हिंसा बढ्दै गइरहेको ।
  • नसर्ने रोगहरूमा बढोत्तरी हुनुका साथै मानिस चाँडै रोगी र बुढो भएका छन् । मानसिक रोगीको सङ्ख्या ह्वात्तै बढेको र प्रत्येक चौथो व्यक्ति अनिद्रा, अपच, कब्जियत, रक्तचाप, मधुमेह, उत्तेजना (हाइपर टेन्सन), मुटुरोग, पक्षघातलगायतका समस्याबाट ग्रस्त, क्यान्सरलगायत विभिन्न डरलाग्दो रोगको महामारीको अवस्था ।
  •  महङ्गो उपचार पद्धति, सानातिना समस्यामा पनि थुप्रो धनराशि खर्च हुने गरेको, खर्बौँ रुपैयाँ उपचारमा बिदेसिँदै ।
  •  जीवनभरि दौडधुप गरेर कमाएको सम्पत्ति मध्यउमेरमा नै एकैचोटि सिध्याएर उपचार गर्न बाध्य, तर खर्च गरेर पनि ठिक उपचार पाउन नसकी कष्टकर जीवन बाँचिरहेको अवस्था ।
  • धनी व्यक्ति आफ्नो सम्पूर्ण धन र समय खर्च गरेर पनि कष्टकर जीवन जिउन बाध्य र गरिब व्यक्ति उपचार नपाई अकालमा मर्न बाध्य ।

वर्तमान परिस्थितिको कारण

अज्ञानताका कारण मानिसका दिनचर्या ठिक ढङ्गबाट खान, सुत्न, आचरण र व्यवहार गर्न नजानेर रोगी बन्दै, आफ्नै भान्सा र बगैँचामा पाइने बहुमूल्य जडीबुटीको पहिचान र प्रयोगमा अज्ञानता, हाम्रो स्वास्थ्य र चेतनाको आधार संस्कृत भाषा, वैदिक संस्कार र गौमाताको विस्थापन, पञ्चमहाभूत तथा माटो नै विभाक्त ।

योग, आयुर्वेद तथा नैतिक शिक्षा र संस्कारको अभाव । गुरुकुलीय शिक्षाको विस्थापन । चेतना जगाउने वैदिक संस्कृति तथा आध्यात्मिक ज्ञानको शिक्षाजस्ता विषयको ज्ञान हस्तान्तरण गर्न हरेक तहको कोर्सहरूमा नसमेटिनु ।

योग सिक्ने लहर बढेसँगै अर्धदक्ष योग शिक्षकका कारण योगको सिद्धान्तलाई राम्रोसँग नबुझी अन्धाधुन्ध योग सिकाउँदा योग अभ्यासबाट हुने क्षति वृद्धि भइरहेको छ ।

योग तथा प्राकृतिक चिकित्सा र आयुर्वेद ज्ञानको भूमिका

  • चेतना बढाउन सके स्वस्थ तथा दिव्य व्यक्ति र समाज तयार हुन्छन् । अज्ञानता वा क्लेश हटाई योग तथा प्राकृतिक चिकित्सा र आयुर्वेद शिक्षाको प्रवद्धन गर्दै शरीर, मन र आत्मालाई सदैव स्वस्थ, शान्त, सुदृढ र सक्रिय बनाइराख्न सक्ने एक मात्र प्रेरणाको आधार ।
  •  पञ्चमहाभूत, पञ्च महायज्ञ, गाईको महत्त्व, भान्सा र गमलामा पाइने खाद्यवस्तु र जडीबुटीलाई ठिक ढङ्गबाट प्रयोग गर्ने विविध पक्षको जानकारी ।
  •  वैदिक जीवनशैली, आहार–विहार मानव जीवनका दिनचर्याबारे जानकारी दिने ।
  •  शरीरमा रोग प्रवेश गर्न नदिन र रोग लागिहालेमा पनि योग, प्राकृतिक चिकित्सा र आयुर्वेदको माध्यमबाट सरल उपचार गराउने ज्ञान ।
  •  टोल, समाज र बस्तीबस्तीका व्यक्तिलाई योगमार्फत सकारात्मक चिन्तन बढाउने, ज्ञानमार्फत आध्यात्मिक, शारीरिक तथा सामाजिक जागरणमा प्रेरणा जगाई जीवनको अमूल्य समयलाई पुरुषार्थ गर्न ज्ञान दिलाई एक–आपसमा जोडिने माध्यम बनी आपसी सद्भाव अभिवृद्धि गराई र सकारात्मक पथमा हिँड्न प्रेरणा दिने आधार ।
  •  आत्मनिर्भर बनाउन स्वरोजगार सिर्जना गर्ने । नैतिक, व्यावसायिक तथा आध्यात्मिक ज्ञान र योगको अध्यापन आफैं पनि सुरु गर्ने र विद्यालय पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउने पद्धतिको विकास गर्न सम्बन्धित निकायलाई घचघच्याउने । (लेखक पातञ्जल योग समिति नेपालका प्रशिक्षण विभागमा संलग्न हुनुहुन्छ ।)

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह