काठमाडौँ । नेपाल-चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल-चाइना कोअर्डिनेसन मेकानिज्म अन बोर्डर ट्रेड एन्ड कर्पोरेसन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा रसुवा-स्याफ्रुबेँसी सडक निर्माण, रसुवा (जिलोङ) को टिमुरेस्थित आइसिडी (इनल्यान्ड कन्टेनर डिपो, सुक्खा बन्दरगाह) निर्माणलाई निरन्तरता र टोखा-छहरे सुरुङ निर्माण प्रक्रियालाई तीव्रता दिनेलगायत विषयमा छलफल भएको छ ।
बैठकमा रसुवाको टिमुरेस्थित सुक्खा बन्दरगाह निर्माणलाई निरन्तरता र टोखा-छहरे सुरुङ निर्माण प्रक्रियालाई तीव्रता दिने मुस्ताङको हिल्सा-सिमिकोट सडकका सम्बन्धमा र रसुवा-स्याफ्रुबेँसी सडक निर्माण कार्यमा नेपालको तर्फबाट सहजीकरण गर्ने तथा चीनको तर्फबाट निर्माण कार्यलाई तीव्रता दिने विषयमा समेत छलफल भएको बताइएको छ । यस्तै चीनको जिलोङ र रसुवा जिल्लाको कुनै एक पालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्ने चिनियाँ पक्षको प्रस्तावका सम्बन्धमा छलफल भई सो विषयमा चिनियाँ पक्षबाट कूटनीतिक माध्यमबाट औपचारिक रूपमा प्रस्ताव पठाउने गरी सहमति भएको छ ।
बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास, लगानी तथा अन्य सहकार्यका विषयमा महत्त्वपूर्ण उपलब्धि र सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष महामहिम चाओ पेङले गर्नुभएको थियो । बैठकमा सन् २०२४ नोभेम्बरमा काठमाडौँमा सम्पन्न दोस्रो बैठकका निर्णय र सहमतिको कार्यान्वयन प्रगति समीक्षा गर्दै आगामी सहकार्यका क्षेत्रमा मार्गनिर्देश गरिएको छ । साथै, द्विपक्षीय व्यापार लगानी पारवहन भन्सार सहजीकरण प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकाससम्बन्धी विविध विषयमा समेत बृहत् छलफल भएको छ । यस्तै, दुवै पक्षबिच सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौताको समसामयिक संशोधन व्यापारी, चालक र सहचालकका लागि सीमा प्रवेश पास सरलीकरण, टोखा-छहरे सुरुङ निर्माण प्रक्रियालाई तीव्रता, रासायनिक मल आयातका लागि कोटा निर्धारण नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिपछि पनि चीनको शून्य भन्सार नीतिलाई निरन्तरता दिने विषय तथा विपत्का समयमा चिनियाँ पक्षले सवारीसाधन पुनर्मार्गीकरण सुविधा दिनेलगायतका विषयमा छलफल भएको छ ।
यस्तै भन्सार सहजीकरण र सीमा व्यवस्थापन सुधारका लागि दुवै पक्षले नेपाल-चीन सीमा यातायात सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यापारको समय र लागत घटाउने जोखिममा आधारित निरीक्षणसहित हरित च्यानलमार्फत माल वस्तुको आयात-निर्यात प्रवद्र्धन प्रयोगशाला परीक्षण सुदृढीकरण, द्विपक्षीय व्यापारसम्बन्धी तथ्याङ्क आदान-प्रदान, सवारी आवागमन सहजता तथा नेपालबाट जुट निर्यात गर्न सहजीकरण गर्ने विषयमा सकारात्मक छलफल भएको छ । साथै, सीमा सुरक्षाका लागि आपसी समन्वयमा कानुन कार्यान्वयनलाई थप प्रभावकारिता बनाउने प्रतिबद्धता जनाइएको छ । बैठक मैत्रीपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको र दुवै पक्षबिच यस संयन्त्रको आगामी चौथो बैठक आपसी सहमतिमा मिति तय गरी सन् २०२७ मा नेपालमा आयोजना गर्ने सहमति भएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा यही माघ ६-७ गते सम्पन्न बैठकमा नेपाल राष्ट्र बैंक, ल्हासास्थित नेपाली महावाणिज्य दूतावास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी र चीनको सिजाङ स्वायत्त क्षेत्रका वाणिज्य विभाग, वैदेशिक मामिला कार्यालय, चिनियाँ भन्सार तथा अन्य सरकारी निकायका वरिष्ठ अधिकारी सहभागी थिए ।






प्रतिक्रिया