धुन्चे । हिमाली जिल्ला रसुवा आन्तरिक र बाह्य पर्यटकका लागि समय र भ्रमण खर्च न्यून हुने भएकाले हरेक वर्ष जिल्लाको भ्रमणमा आउनेको सङ्ख्या बढ्दो छ । पछिल्लो ६ महिनामा ३२ हजार ६ सय ७२ पर्यटकले रसुवा भ्रमण गरेका लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।

जिल्ला प्रवेश गरेका अधिकांश पर्यटकको रोजाइ ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र हुने गरेको निकुञ्जले गत हप्ता सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । निकुञ्ज कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६ सय ७१ जना आन्तरिक एवम् बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन् । यसमा पाँच हजार आठ सय ८४ विदेशी र २६ हजार सात सय ८७ स्वदेशी पर्यटक रहेका छन् । चालू आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ । गोसाइँकुण्ड र लाङटाङपछि पर्यटकको रोजाइ आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ, पार्वती कुण्ड, जागेश्वर कुण्ड, पाल्दोर हिमाल, चिलिमे, गोल्जुङ क्षेत्र परेको छ । यस क्षेत्रमा पर्ने तातोपानी नुहाउने तथा यहाँबाट ब्रेमदाङ, नागथली जानेको पनि सङ्ख्या बढिरहेको छ ।

निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई रु. तीन हजार र नेपालीलाई रु. एक सयका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव भण्डारीले पछिल्लो ६ महिनामा रू.दुई करोड ३९ लाख ८८ हजार ६ सय ६० राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेष गरी गोसाइँकुण्ड तथा लाङटाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटेल व्यवसायी, किसान, कामदारसहित समग्र पक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँबाट नजिकै रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाइँकुण्ड तथा लाङटाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढिरहेको पर्यटन तथा होटेल व्यवसायी विशाल घलेले बताउनुभयो ।






प्रतिक्रिया