धुन्चे । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सिप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सुरु गरेको छ ।
आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका गाउँका आयोजना प्रभावित ४० जनालाई तालिम सुरु गरिएको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिम वडा नम्बर १ कार्यालयमा भइरहेको छ । आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयरगिभर र २० जनालाई होटेल सञ्चालनसम्बन्धी तालिम सुरु गरिएको हो । आगामी चरणमा आयोजनाबाट प्रभावित पालिकाका अन्य वडामा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिने बताइएको छ । समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब तीन सय ७० जनालाई सिपमूलक तालिम दिने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका-१ का अध्यक्ष दावा तामाङले मागमा आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमबाट स्थानीय सहभागिता सहज बनाएको उल्लेख गर्नुभयो । यस किसिमका कार्यक्रमले स्थानीयस्तरमै दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउँदै उनीहरूले तालिम अवधिभर सक्रिय सहभागिता जनाई सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख सञ्चालन अधिकृत संघी माले सिपमूलक तालिममार्फत आयोजना प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।






प्रतिक्रिया