+
Search

ताजा अपडेट +

पपुलर +

पर्खाले-वरभञ्ज्याङ सडक कालोपत्रे ६ महिनामै सक्ने

पर्खाले-वरभञ्ज्याङ सडक कालोपत्रे ६ महिनामै सक्ने
त्रिशूली प्रवाह
२ दिन अगाडी

धादिङबेँसी । आदमघाट किराञ्चोक सडकको कालोपत्रे ६ महिनाअघि नै सम्पन्न गर्ने कार्ययोजनासहित धमाधम काम भइरहेको छ । गजुरी-७, पर्खालेदेखि वरभञ्ज्याङसम्मको चार किलोमिटर सडक कालोपत्रे गर्न आधारभूत काम भइरहेको छ ।

पृथ्वी राजर्मागको आदमघाटदेखि चौतारासम्म करिब ३५ किलोमिटर सडक रहेकोमा यसअघि आदमघाटदेखि मिलनटारसम्म र मिलनटारदेखि पर्खालेसम्म कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । अहिले पर्खालेदेखि वरभञ्ज्याङ (८ नम्बर वडा कार्यालय) सम्म कालोपत्रे गर्न आव २०८१/०८२ मा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । चार किलोमिटर सडक कालोपत्रे गर्न गोल्डे, शिव, टाइम्ली (तीन निर्माण कम्पनी) निर्माण कम्पनीले रु.१२ करोड ६४ लाख २४ हजार पाँच सय ७९ पैसा ६२ मा संयुक्त रूपमा सम्झौता गरेका छन् । निर्माण कम्पनी टाइम्लीका त्रिलोक कार्कीका अनुसार प्लमवाल, ड्रेन, ग्याबिन, स्टोन मेसेनरी, आरसिसी र अक्सफाल्ट काम गर्नुपर्नेछ । ती काममध्ये प्लमवाल, ड्रेन, ग्याबिन, स्टोन मेसेनरी काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कार्कीले भन्नुभयो, ‘अब हामी आरसिसी गर्ने कामको द्रुत तयारीमा छौँ, सम्भवतः माघ महिनाभित्र सक्छौँ, सरकारले भुक्तानी नरोके असारसम्ममा कालोपत्रे सक्ने कार्ययोजना रहेको छ ।’ वडा नम्बर ८ को सिमाना घट्टेखोलादेखि वरभञ्ज्याङसम्मको ६ सय मिटर लम्बाइ आरसिसी गर्नुपर्ने बताइएको छ । सिधा सडकमा ५.५ मिटर र घुम्ती सडकमा ६ मिटर चौडाइ र २० सेन्टिमिटर बाक्लो (मोटाइ) आरसिसी गर्ने गरी ठेक्का लागेको छ । वडा नम्बर ७ को पर्खालेदेखि घट्टेखोलासम्म ३.४ किलोमिटर लम्बाइ कालोपत्रे चौडाइ ६ मिटर र ४० एमएम बाक्लो गर्नुपर्नेछ । ग्याबिन एक हजार एक सय घनमिटर, चार हजार ६ सय घनमिटर प्लमवाल, १८ स्थानमा ह्युमपाइप, नौ सय घनमिटर कालोपत्रे, ६ सय ५० घनमिटर आरसिसी काम हुने ठेकेदार कार्कीले बताउनुभयो । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय धादिङ र टाइम्ली कन्स्ट्रक्सनबिच विसं २०८२ जेठ २२ देखि २०८३ पुस २१ मा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।

यसअघि गजुरी-६, मिलनटारदेखि पर्खालेसम्म ६१० मिटर आरसिसी र ३.५९ किलोमिटर आसफाल्ट विधिबाट कालोपत्रे नाना कन्स्ट्रक्सन प्रालिले रु.२० करोड ४९ लाख ८१ हजार १० मा सम्पन्न गरेको छ । आठ वर्षअघि करिब सात वर्ष लगाएर जयबाबा कन्स्ट्रक्सनका श्यामकुमार श्रेष्ठले रु.नौ करोड २८ लाखमा आदमघाटदेखि मिलनटार बराईघरसम्म २.६ किलोमिटर सडक कालोपत्रे गरेका थिए । साबिकको किराञ्चोक गाविस (हाल गजुरी गापा-७ र ८) लाई मुख्य राजमार्गसँग जोड्न विसं २०४९ बाट पृथ्वी राजमार्गकोे आदमघाटदेखि दक्षिणपट्टि महाभारत लेकसँग जोड्न सडक निर्माण सुरु गरिएको थियो । प्रदेश सरकारले आदमबाट कैलाश मनहरी सडकको प्रदेश राजधानी जोड्न प्रदेश गौरवको आयोजनाको रूपमा काम भइरहेको छ । अहिले आदमघाटदेखि ३.८ किलोमिटरलाई पुष्पलाल मार्गमा पर्ने भएकाले मिलनटारलाई शून्य विन्दु मानेर कालोपत्रे गरिएको छ । एउटा आदमघाट, पर्खाले, बरभञ्ज्याङ, मजुवा थुम्कीडाँडा, चौतारासम्म पु¥याइएको छ । अर्को पर्खाले, रिस्ठाबोटे, सागरभञ्ज्याङ पुर्याइएको छ । अर्को सडक मालेभिर-श्यामैडाडाँ-चिउरीभञ्ज्याङ, भालुखोप पटेर पुर्याइएको छ । यी सडकको उपभोक्ता गजुरी-७ र ८ का करिब एक हजार तीन सय परिवार, वडा नम्बर ६ का करिब दुई सय परिवार, वडा नम्बर ४ को करिब दुई सय परिवार रहेका छन् । यसैगरी, गल्छीको करिब दुई सय परिवारसमेत रहेका छन् । यसैगरी, मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र थाहा नगरपालिकाका मानिसले समेत यस सडकबाट सुविधा पाउनेछन् । आदमघाट चौतारा सडक सडकको लम्बाइ करिब ३५ किलोमिटर रहेको छ । यस सडक स्तरोन्नति तथा कालोपत्र पूरा भएमा महाभारत लेकमा बसोबास गर्ने किसानलाई राहत मिल्नेछ ।

विगतमा नाबोबाट नै आलु भित्र्याउने गरेका किसानले पछिल्लो समय उन्नत जातका आलुका बिउ लगाउन थालेका छन् । सडक बर्खायाममा समेत सञ्चालन हुने पक्कापक्की भए तीन हजार टन आलु उत्पादन गर्ने क्षमता किसानसँग छ । यस महाभारत लेकको काखमा तामाङको मात्र बसोबास भएकाले यहाँका मानिसको बाँस, निगालो, अम्रिसो परम्परागत खेती हो । बाँस-निगालोबाट डोका बुनेर, अम्रिसोबाट कुच्चो बनाए आम्दानी गर्दै आएका छन् । किसानले बाख्रा नपाल्ने कुरौ भएन, खसी, बोेका बिक्री गर्न सहज हुने भएपछि सङ्ख्या बढाउन थालेका छन् । सडक कालोपत्रे भएपछि किराञ्चोक बेँसी क्षेत्रका किसानले आफ्ना उत्पादन बर्खायाम पनि सहज ढङ्गबाट बिक्री-वितरण गर्न सक्छन् । सिँचाइ पर्याप्त भएको क्षेत्र भएकाले हिँउदमा समेत तरकारी खेती गरेर किसानले स्वरोजगार बन्दै आम्दानी बढाई जीवनस्तर सुधार हुने अपेक्षा गरिएको छ । किराञ्चोकमा पानी प्रशस्त भएकाले हिउँदमा धान खेतीसमेत गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह