+
Search

ताजा अपडेट +

पपुलर +

खादिङ राष्ट्रिय सडक सञ्जालमा

खादिङ राष्ट्रिय सडक सञ्जालमा
त्रिशूली प्रवाह
१ दिन अगाडी

धादिङबेँसी । काठमाडौँको नजिकै रहेको धादिङ जिल्लाका केही गाउँ अझै पनि सडक सञ्जालमा जोडिन सकेका छैनन् । बागमती प्रदेशको दुर्गम पालिकामा सूचीकृत धादिङको रुबिभ्याली गाउँपालिकाको दुर्गम बस्ती क्रमशः सडक सञ्जालमा जोडिँदै गएको छ । यसै क्रममा लापा-ठुलोगाउँ हुँदै खादिङसम्म सडक विस्तार भएपछि पहिलोपटक यातायात सेवा गत हप्ता पुगेको छ । धादिङबेँसी-साङकोष-तिप्लिङ-सोमदाङ सडकखण्डअन्तर्गत बतासेडाँडाबाट लापा-ठुलोगाउँ हुँदै खादिङसम्म निर्माण गरिएको सडकको पुस २९ गते औपचारिक उद्घाटन भएको हो । धादिङबेँसीदेखि साङकोष-तिप्लिङ सडक निर्माण कार्य २०४९ सालमै सुरु भए पनि लापा र खादिङ क्षेत्रमा भने हालै मात्र सडक सञ्जाल विस्तार भई सवारी सञ्चालन हुन थालेको हो ।

रुबिभ्याली क्षेत्रमा एकीकृत पर्यटन विकास गर्ने लक्ष्यसहित सडक विस्तारलाई प्राथमिकता दिइएकाले लापा हुँदै खादिङसम्म गाडी पुग्ने अवस्था बनेको हो । दुर्गम र पहाडी भूगोलका कारण वर्षौँदेखि पैदल यात्रामै निर्भर स्थानीयका लागि सडक सञ्चालन हुनु ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । सडक अभावकै कारण दैनिक उपभोग्य खाद्य सामग्री ढुवानी, बिरामीलाई अस्पताल पु¥याउन तथा विद्यार्थीको शिक्षामा समेत ठुलो समस्या हुँदै आएको थियो । अब सडक सञ्चालनमा आएपछि ती समस्या क्रमशः समाधान हुने स्थानीयवासीको विश्वास रहेको छ । सडक खुलेसँगै यातायात सेवा सहज भई स्थानीयको दैनिकी सरल हुने अपेक्षा गरिएको छ । स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवामा पहुँच बढ्नुका साथै कृषि तथा पशुपालनबाट उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज हुने देखिएको छ । यसले किसानको आय-आर्जन वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

विशेषगरी यस क्षेत्रका कृषकले प्राङ्गारिक रूपमा उत्पादन गर्दै आएका आलु, मकै, कोदो, फापर, सिमी, आलु, गेडागुडी तथा पशुपालनबाट प्राप्त दुग्धजन्य पदार्थको सहज बजारीकरण हुने अपेक्षा गरिएको छ । यसअघि यातायात अभावका कारण किसानले उत्पादन गरेको कृषि उपज स्थानीयस्तरमै कम मूल्यमा बिक्री गर्न बाध्य थिए । अब सडक सञ्चालनपछि धादिङबेँसी, नुवाकोट हुँदै काठमाडौँ र देशका विभिन्न सहरसम्म बजार पहुँच विस्तार भएको छ । यसले व्यावसायिक कृषिलाई प्रोत्साहन गर्दै युवालाई गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने धादिङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ध्रुव थापाले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह