विदुर । सरकारले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट सेना परिचालन गरेको छ । निर्वाचन सुरक्षार्थ सेना परिचालन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएको छ ।

एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार नुवाकोटमा सेना फिल्डमा खटिएको छ । सबै सुरक्षा अङ्गको समन्वय र सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी परिचालन गरेको छ । ‘एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२’ तथा मध्यपृतना हेडक्वार्टर तथा श्री नं. ६ बाहिनी अड्डा, बैरेनी, धादिङबाट प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ फौज परिचालन अपरेसन निर्देशनअनुसार माघ २१ गतेबाट नुवाकोटमा रहेको नेपाली सेनाको शेर गणबाट करिब एक हजार फौज जिल्लाभर परिचालित भएको छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न फौज परिचालन भएको हो । निर्वाचन क्षेत्रअनुसार मतदानस्थलको भौगोलिक विकटता संवेदनशीलता साथै तत्कालीन रूपमा विकसित हुँदै जाने विभिन्न घटनाक्रम तथा गतिविधिको आकलन तथा मूल्याङ्कन गर्दै क्रमिक रूपमा जिल्लाभर एक सय ५० भन्दा बढी स्थानमा सेना परिचालन तथा तैनाथ रहनेछ । अन्य सुरक्षा निकायसँग समेत समन्वय गर्दै आमजनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउन सेना निर्वाचनको नतिजा प्रकाशित नहुँदासम्म अहोरात्र परिचालित रहने शेर गणका गणपति आविष्कार ढुंगानाले जानकारी दिनुभयो ।
निर्वाचनको समय शान्तिसुरक्षालाई सुदृढ तुल्याउन सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित भएको छ । एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ । नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो । सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने जनाएको छ ।






प्रतिक्रिया