विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा नौ महोत्सव सम्पन्न भएपछि अब मेला-महोत्सवका लागि स्थायी स्थल खोजिने भएको छ । यस वर्ष विदुरका बासिन्दाका जग्गा भाडामा लिएर महोत्सव आयोजना गरिएको थियो । हालसम्म स्थायी स्थलको अभावको समस्या भोगिरहेको सङ्घले नुवाकोटमा पहिलोपटक विसं २०६३ र दोस्रो २०६६ मा खाद्य संस्थान (हाल इलम प्रशिक्षण केन्द्र) र कृषि सामग्री कम्पनीको परिसर विदुरमा महोत्सव आयोजना गरेको थियो । त्यसपछि विसं २०६६ मा बट्टार बसपार्क, २०७० मा विदुरस्थित बिद्रलामार्ग, २०७३ मा बट्टार बसपार्क, २०७६ मा विदुर, २०७९ मा पीपलटार र २०८० मा बिद्रलामार्गमै स्थानीयवासीको जग्गा भाडामा लिएर महोत्सव सम्पन्न गरिएको थियो ।

सङ्घका आयोजनामा भएको नवौँ महोत्सव समापन समारोहमा विदुर नगरपालिका प्रमुख राजनलाल श्रेष्ठले वडा नं.२, ४, ९, ११ का वडाध्यक्षलाई साक्षी राखेर महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा स्थायी महोत्सव स्थलका लागि सङ्घका पूर्वाध्यक्ष शरण उत्सुकले जग्गा उपलब्ध गराइदिन नगरपालिकालाई प्रस्ताव गर्नुभएको थियो । उहाँले स्थायी स्थलका लागि विदुर-१० शुभघाटस्थित त्रिशूली नदी किनारको खाली जग्गा, विदुर-४ सिमचौरस्थित त्रिशूली नदी किनार र विदुर-५ पीपलटारस्थित चन्द्रज्योति माविसँगैको लामबगैँचा क्षेत्रमा रहेको बेवारिसे खाली जग्गामध्ये एक नगरपरिषद् र कार्यपालिका बोर्डबाट अनुमोदन र निर्णय गराई उपलब्ध गराइदिन नगरपालिकालाई माग गर्नुभयो । उक्त प्रस्तावमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ताराबहादुर कार्की र नगर प्रमुख श्रेष्ठले समर्थन गर्दै प्रतिबद्धता जनाउनुभएको थियो । स्मरणीय छ, चितवन महोत्सव सधैँ भरतपुरस्थित नारायणी नदी किनार र रत्ननगर महोत्सव त्यहीँको ठुलो जग्गामा हुने गरेको छ । यही माघ ७ देखि १८ गतेसम्म विदुरमा आयोजित महोत्सव उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो भने समापन नगर प्रमुख श्रेष्ठले गर्नुभएको थियो । विसं २०६३ देखि सङ्घले महोत्सव सुरु गरेर नवौँ संस्करण आइतबार सम्पन्न गरिएको सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले बताउनुभयो । विदुरका नगर प्रमुख श्रेष्ठ सङ्घको अध्यक्ष हुँदा उहाँको नेतृत्वमा तेस्रो महोत्सव भएको थियो ।
पृथ्वीनारायण शाहका सैनिकले नुवाकोट आक्रमणपूर्व कवाज खेलेको शुभघाटमा झन्डै दुई सय रोपनी जग्गा औद्योगिक ग्राम स्थापना गर्न नगरपालिकाले छुट्याए पनि अहिले बेवारिसे अवस्थामा छ । पासाङल्हामु राजमार्ग त्रिशूली-धुन्चेखण्डसँगै जोडिएको शुभघाटको जग्गा, विदुर-४, सिमचौर, त्रिशूली नदी क्षेत्रस्थित डेढ सय रोपनी जग्गा, चन्द्रज्योति माविसँगै लामबगैँचा क्षेत्रस्थित सय रोपनी जग्गा र त्यससँगै निर्माणाधीन रङ्गशालालाई पनि स्थायी महोत्सव स्थलका लागि उपयोग गर्न सकिने सङ्घका पूर्वाध्यक्ष धननारायण चित्रकारले बताउनुभयो । सङ्घका पूर्वाध्यक्ष उत्सुकले महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाललाई नुवाकोटमा होटेल तथा पर्यटन उद्योगमा लगानी गर्न प्रस्ताव गर्नुभएको थियो । उद्घाटनका अवसरमा महासङ्घका अध्यक्ष ढकालले नुवाकोटमा केबलकार र होटेलमा लगानी गर्न चाहेको बताउँदै सोका लागि सङ्घलाई योजना बनाएर ल्याउन आग्रह गर्नुभएको थियो ।
सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले महोत्सवको आय-व्यय एक महिनाभित्र सार्वजनिक गरिने र आगामी विसं २०८४ मा दशौँ महोत्सव गरिने घोषणा गर्नुभयो । महोत्सवले जिल्लाको आर्थिक गतिविधि बढाउनाका साथै कृषि, घरेलु उद्योग, संस्कृति र पर्यटन प्रबद्धनमा योगदान पुगेको उहाँले बताउनुभयो । १२ दिन सञ्चालित महोत्सव अवधिमा लगभग एक लाख दर्शकले अवलोकन गरेको, रु.पाँच करोडभन्दा बढी कारोबार भएको सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनुभयो ।






प्रतिक्रिया