नुवाकोट जिल्लामा विभिन्न राजनीतिक दलले निर्वाचनमा गाडी चलाउन पाउने सुविधा लिनका लागि ‘डमी’ उम्मेदवार खडा गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको थियो । ती निर्वाचन क्षेत्रबाट जम्मा ३० जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ मा १८ उम्मेदवारमध्ये राजनीतिक दलबाट १४ र स्वतन्त्र चारजना तथा क्षेत्र नम्बर २ मा १२ जना राजनीतिक दलका उम्मेदवार छन् । स्थानीयवासीका भनाइअनुसार स्वतन्त्रबाट उम्मेदवारी दिने धेरैजसो ‘डमी’ उम्मेदवार हुन् जसलाई प्रमुख दलका उम्मेदवारले निर्वाचनका वेला उम्मेदवारले प्रयोग गर्न पाउने सबै किसिमका सुविधा लिनका लागि खडा गरेका हुन् । निर्वाचन आचारसंहिता, २०८२ मा एक उम्मेदवारले चारपाङ्ग्रे दुईवटा मात्र सवारी प्रयोग गर्न पाउने व्यवस्था छ । चुनावी प्रचारप्रसारमा सबै नेता-कार्यकर्तालाई परिचालन गर्न ‘डमी’ उम्मेदवार खडा गरेर धेरैभन्दा धेरै गाडी सुविधा लिने उद्देश्य अधिकांश राजनीतिक दलका उम्मेदवारमा देखिएको छ । उम्मेदवारी दर्ता गर्दा धेरैजसो उम्मेदवारले आफ्नै दलका कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् । डमी उम्मेदवारका भागमा परेको गाडी राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने सम्भावना बढेको छ । विगतमा भएको स्थानीय, प्रदेश र सङ्घका निर्वाचनमा पनि डमी उम्मेदवार उठाई दलका उम्मेदवारले उक्त सुविधा उपभोग गर्ने गरेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीले बताउनुभयो ।






प्रतिक्रिया