फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा मात्र स्वतन्त्र उम्मेदवार छन् ।
दलका उम्मेदवारलाई दलको चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारलाई रोज्न लगाएर चुनाव चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जानकारी दिएको छ । चुनावी मैदानमा रहेका राजनीतिक दलको चिह्न निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्नअनुसार प्रदान गरिएको छ । क्षेत्र नम्बर १ मा पाँच स्वतन्त्र उम्मेदवारले रोजेको चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार स्वतन्त्र उम्मेदवार चेपे तामाङले क्यामरा, माधव थापाले मुढा, राजु थापाले ब्याडमिन्टन कर्क, रामेश्वर भण्डारीले क्याप, सञ्जीव गुरुङले मसी चुनाव चिह्न पाउनुभएको छ । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी नभएकाले दलका उम्मेदवारलाई दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।






प्रतिक्रिया