विदुर । बागमती प्रदेश सभाका ६ जना सदस्यले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएपछि प्रदेश सभाको ६ स्थान रिक्त भएको छ । प्रदेश सभा सदस्यले राजीनामा दिएका कारण प्रदेश सभाको ६ स्थान रिक्त भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । स्थान रिक्ततासम्बन्धी सूचना जारी गर्दै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसैगरी, बागमती प्रदेशभित्रको तीन स्थानीय तहको पनि प्रमुख पद रिक्त रहेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा सदस्य बन्न गएपछि रिक्त रहेको छ ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएसँगै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी दिनुभयो । उहाँले नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एकजना, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका दुई-दुईजना गरी ६ जना प्रदेश सभा सदस्यले प्रदेश सभाको सदस्य पदबाट राजीनामा दिनुभएको बताउनुभयो । सचिव पौडेलले प्रदेश सभा नियमावली, २०७४ को नियम १८५ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यको स्थान रिक्त भएको भन्दै स्थान रिक्त भएकाबारेमा निर्वाचन आयोग र मुख्यमन्त्रीको कार्यालयमा जानकारीपत्र पठाइएको बताउनुभयो । निर्वाचन आयोगमा पत्र पुगेसँगै उपनिर्वाचनका लागि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाउनेछ । प्रदेश सभा सदस्यमा २०७९ को निर्वाचनमा दोलखा १ (क) बाट निर्वाचित काङ्ग्रेसका कुन्दनराज काफ्ले, काठमाडौँको ६ (ख) बाट निर्वाचित एमालेका अमनकुमार मास्के र काठमाडौँको ७ (ख) बाट निर्वाचित प्रकाश श्रेष्ठले प्रदेश सभा सदस्य पदबाट गत सोमबारबाट लागू हुने गरी राजीनामा दिनुभएको थियो ।
त्यसैगरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) बाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवराज दुलाल, काठमाडौँको ७ (क) बाट निर्वाचित नेकपाका वसन्तप्रसाद मानन्धर र काठमाडौँको २ (क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील केसीले सोमबार उपसभामुख अप्सरा चापागाईंसमक्ष सोमबार राजीनामा बुझाउनुभएको थियो । दुलाल तत्कालीन नेकपा माओवादी केन्द्रबाट र मानन्धर तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेश सभा सदस्यबाट राजीनामा दिने केसीबाहेक पाँचैजना प्रदेशका पूर्वमन्त्री हुन् । त्यसैगरी, बागमती प्रदेशको तीन स्थानीय तहको प्रमुखले राजीनामा दिएपछि रिक्त भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजीनामा गरी झापा ५ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्नुभएको छ । त्यसैगरी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल चितवन ३ बाट नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार भई चुनावी मैदानमा हुनुहुुन्छ भने धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ काभ्रेपलाञ्चोक २ बाट नेकपा (एमाले) उम्मेदवार भई चुनावी मैदानमा होमिनुभएको छ ।






प्रतिक्रिया