+
Search

ताजा अपडेट +

पपुलर +

भन्सार दिवस : दुई व्यवसायी र चार कर्मचारी सम्मानित

भन्सार दिवस : दुई व्यवसायी र चार कर्मचारी सम्मानित
त्रिशूली प्रवाह
५ महिना अगाडी

धुन्चे । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा रसुवा भन्सार कार्यालय टिमुरेले दुई व्यवसायी र चार कर्मचारीलाई सोमबार सम्मान गरेको छ । सम्मानित हुनेमा व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा रु.तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा रु.७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँ, कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञवाली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारीचालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशी हुनुहुन्छ ।

Utsuk Books & Stationery

चालू आर्थिक वर्षको ६ महिनामा रु.एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको रसुवा भन्सारले अहिले दुई सयभन्दा बढी मालबाहक कन्टेनरका सामग्रीको परीक्षण गरिरहेको दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएका ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्मको सरसफाइबाट करिब दुई सय ५० ट्रक अट्ने वातावरण बनेको तथा केही भागमा अझै सफाइ बाँकी छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोसाइँकुण्ड-२ का वडाध्यक्ष कामीछिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मीना थापा, भन्सार एजेन्ट सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार सङ्घका सहकोषाध्यक्ष सुमन श्रेष्ठ, सिन्धुपाल्चोक वाणिज्य सङ्घका उपाध्यक्ष इन्द्र राउतलगायतले रसुवागढी नाकालाई नीति-नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

सवारीचालक गोम्वो तामाङले सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको जनाउँदै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोड सिधा बनाउन माग गर्नुभयो । हिउँद वा वर्षायामको हिलो पहिरो पन्छाई रसुवागढी खण्डमा सडक सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको रसुवागढी जलविद्युत् केन्द्रलाई पनि सो कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह