विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा बागमती प्रदेशस्तरीय खेलाडी छनोटका लागि जिल्लास्तरीय अन्तरविद्यालय भलिबल प्रतियोगिता गत बिहीबार नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल सूर्यगढी-५ मा सम्पन्न भएको छ । प्याब्सनको नियमित खेल गतिविधिअन्तर्गत वार्षिक कार्यक्रमअनुसार सो प्रतियोगितामा आयोजना भएको हो । प्रतियोगितामा ६ टिमले भाग लिएकोमा खेल आयोजना भएको नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल पहिलो भएको छ ।
प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा भएको प्रतियोगिताका प्रमुख अतिथि सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ)ले सामुदायिक र संस्थागत विद्यालयबिच कुनै विभेद नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । सामुदायिक वा संस्थागत जहाँ अध्ययन गर्ने भए तापनि सबै हाम्रै विद्यार्थी हुन् भन्ने धारणा व्यक्त गर्दै प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट रु.एक लाख सहयोग गर्ने वचनबद्धतासमेत उहाँले गर्नुभएको छ । प्रतियोगितामा नुवाकोट ग्लोरी पहिलो, सेइ बोर्डिङ स्कुल लिखु-६, छहरे दोस्रो र त्रिशूली सामुदायिक बोर्डिङ स्कुल विदुर-१ त्रिशूली तेस्रो भएका छन् भने उत्कृष्ट खेलाडीतर्फ सेइ बोर्डिङका रामशरण राई, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरतर्फ नुवाकोट ग्लोरीका सन्दीप कँडेल, अजय रिजाल र अर्पण ढकालले ट्रफीसहित सम्मानपत्र प्राप्त गर्नुभएको छ ।
उक्त खेलमा सहभागी विद्यार्थीमध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी यही फागुन ६ देखि ललितपुरमा सञ्चालन हुने बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनोट गरिएको प्याब्सनका वरिष्ठ सल्लाहकार विजय श्रेष्ठले बताउनुभयो । सो टिममा नुवाकोट ग्लोरीका सन्दीप कँडेल, सुमित तामाङ, विकेश बुढाक्षेत्री, अर्पण ढकाल, अजय रिजाल, रूपेश अधिकारी र सेइ बोर्डिङका रूपक कार्की, रामशरण राई, रेशम बस्नेत, निकेश विष्ट, दिव्यान उप्रेती, राजेश कुँवर र वैकल्पिकमा स्पार्कल इन्टरनेसनलका विजय तामाङ र समीर तामाङ रहेका छन् ।






प्रतिक्रिया